detail-img

‘वर्तमान गठबन्धन देशका लागि अभिशाप’

विर्तामोड (झापा) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका क्रियाकलापले संघीयता बदनाम भएको वताउनुभएको छ । 
पार्टीको जनसंगठन नेपाली उत्पीडित जातीय मुक्ति समाजको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको बुधबार विर्तामोडमा उद्घाटन गर्दै अध्यक्ष ओलीले संघीयता नेपालमा नयाँ प्रणाली भएको र भर्खर व्यावहारिक कार्यान्वयन गर्दै गर्दा गठबन्धन सरकारमा रहेका दलहरूले १८ वटासम्म मन्त्रालय बनाएर संघीयतालाई बदनाम बनाएको वताउनुभयो । 
उहाँले संविधान बनाउँदै गर्दा जातीय पहिचानका नाममा १५ देखि २५ वटा राज्य बनाई देशलाई विखण्डनतर्फ लैजान चाहनेहरूका क्रियाकलापले नै अहिले संघीयता बदनाम भइरहेको स्पष्ट गर्नुभयो । 
अध्यक्ष ओलीले नयाँ नागरिकता विधेयक गठबन्धन दलले जस लिनकै लागि ल्याएको बताउनुभयो । 
उहाँले आफू नेतृत्वको सरकारले विधेयक अगाडि बढाउन खोज्दा रोकिएको स्मरण गर्नुभयो ।
आफूले अगाडि बढाउन खोज्दा पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक अगाडि बढाउनै नदिएको र उक्त विधेयक गलत थियो पनि भन्न नसकेको चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– पहिले संसदीय समितिमा विधेयक रोकेर राखियो । अहिले नयाँ विधेयक  छलफल गरेर पास गरौं हामीलेभन्दा नगराई हतार हतारमा पास गरियो । 
नयाँ विधेयक ल्याएर सरकारले जनतालाई भ्रममा राखेको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले आफ्नो पार्टी राष्ट्रियताका पक्षमा उभिएकै कारण गठबन्धनले कसरी कमजोर बनाउन सकिन्छ भनेर लागिरहेको चर्चा गर्दै गठबन्धनको उद्देश्य कुनै हालतमा पूरा नहुने बताउनुभयो ।
एमालेको ध्यान मुलुकको विकास र सुशासनमा केन्द्रित रहेको वताउँदै अध्यक्ष ओलीले आफ्ना लागि नभएर देश समृद्ध बनाउने काममा ध्यान दिन नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धनका दललाई पराजित गर्नैपर्ने हुँदा चुनावको तयारी थाल्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो– ‘आफ्नो कुरामा भन्दा अब देश, लोकतन्त्र र समृद्धिको कुरामा हाम्रो ध्यान जानुपर्छ । त्यसका लागि पार्टीलाई मजबुत बनाउँदै निर्वाचनमा विजयी बनाउनुपर्छ । देशका लागि अभिशाप सिद्ध भएको,  गलत क्रियाकलाप गर्ने गठबन्धनलाई पराजित गर्नुपर्छ, हाम्रो तयारी त्यो हुनुपर्छ ।’
नेपाली जनताको उन्नति प्रगति देख्न नसक्नेहरूलाई नेपाली जनताले पराजित गरेर एकमुष्ठ जवाफ दिनुपर्ने अध्यक्ष ओलीको भनाइ छ । 
आजै विहान गृहजिल्ला झापा आईपुग्नुभएका अध्यक्ष ओलीले तीनदिने झापा बसाईमा केही औपचारिक कार्यक्रम र आफ्नो निर्वाचन क्षेत्रका कार्यकर्ताहरूसँग सघन भेटघाट गर्ने कार्यक्रम रहेको छ । 
यसपटकको झापा बसाईका क्रममा दुईवटा भेलालाई सम्बोधन गर्ने र कार्यकर्तासँगको सघन छलफल, भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ । 
नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं अध्यक्ष ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाका अनुसार दुईदिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा– ५ का कार्यकर्ताहरूसँग सघन भेटघाट गर्नुहुनेछ । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा रहेका स्थानीय तहहरू दमक, कमल, गौरादह तथा गौरीगञ्जका अगुवा कार्यकर्ताहरूसँग अलग–अलग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै  अगुवा कार्यकर्ताहरुलाई सामुहिक सम्वोधन गर्ने, पार्टी निकट व्यवसायी, अनेमसंघ, लोकतान्त्रिक धिमाल संघ लगायतसँग भेटघाट गर्ने र विर्तामोडमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन कार्यक्रम रहेको छ ।