detail-img

साउन १६ गते बसन्तपुर जाऔं 


१.  यतिबेला हाम्रो मुलुक चौतर्फी सङ्कटबाट गुज्रिरहेको छ । दैनिक उपभोग्य वस्तुमा चरम मूल्यबृद्धि भएको छ । दाल, चिनी, दूध, घ्यू–तेल, सवारी भाडा, सामान ढुवानी, शिक्षा तथा अन्य कतिपय आधारभूूत आवश्यकताका वस्तु र सेवाको मूूल्य आकाशिएको छ । पेट्रोलियम पदार्थको मूल्य एक वर्षभन्दा कम अवधिमा नै दोब्बरभन्दा धेरैले बढाइएको छ । यसका कारण ढुवानी सेवा, सडक तथा हवाई यातायात सेवा, औद्योगिक उत्पादन र उपभोग्य वस्तुको समेत मूल्य अचाक्ली बढेको छ ।
२.  भ्रष्टाचार र कमिशनतन्त्र मौलाएको छ । विचौलिया, कालाबजारिया र नाफाखोरहरूले बजार कब्जा गरेका छन् । मुद्रास्फिति दोहोरो अङ्कतिर लम्किँदै छ । किसानहरूले मुख्य बाली लगाउने समयमा देशैभरि रासायनिक मलको हाहाकार छ । जसका कारण कृषि उत्पादन घट्ने र खाद्य सङ्कटको अवस्था सिर्जना हुँदैछ ।
३.  अर्थतन्त्र सङ्कटग्रस्त बन्दै गएको छ । अर्थतन्त्रका प्रायः सबैजसो सूचकहरू नकारात्मक देखिएका छन् । विदेशी मुद्राको सञ्चिती घट्दो छ । शोधानान्तर स्थिति ऋणात्मक छ । खाद्यान्न, औषधि, निर्माण सामग्री समेतको आयातमा गम्भीर समस्या देखिएका छन् । सीमित व्यापारिक घरानाहरूलाई पोस्न, राष्ट्रको बजेट निर्माणजस्तो संवेदनशील कार्यमा उनीहरूकै एजेन्टहरूको संलग्नतामा करका दरहरू हेरफेर गर्नेजस्तो अपराध यस राष्ट्रघाती गठबन्धन सरकारले गरेको छ । संसदमा यस्तो अपराधको छानवीनको विषय उठेपछि सबै प्रमाणहरू जानीजानी नष्ट गर्ने, संसदीय छानवीन समितिलाई समेत निस्प्रभावी बनाउने, दोषीलाई चोख्याउने र पुरस्कृत गर्ने दुस्प्रयास शुरू भएको छ ।
४.  मुलुकको परराष्ट्र नीतिलाई असन्तुलित बनाउँदै नेपाललाई शक्ति केन्द्रको क्रिडास्थल बनाईंदैछ । असन्तुलित र राष्ट्रहित विपरीतको नागरिकता विधेयक संसदीय प्रक्रिया मिचेर संसदबाट हठात पारित गरिएको छ । भूूराजनीतिक संवेदनशीलतालाई त ख्याल गरिएन–गरिएन, आफ्ना नागरिकमाथि हुने असमान व्यवहारलाई यसमार्फत सहीछाप गरिएको छ । परमादेशी गठबन्धन सत्ताका लागि जस्तोसुकै सौदाबाजीसमेत गर्छ भन्ने यस राष्ट्रहित विपरीतको कामबाट पुष्टि भएको छ ।   
५.  यसरी यो सरकार राष्ट्रका लागि बोझ बनिसकेको छ । यो सरकार सत्तामा आएदेखि हालसम्म एउटा पनि नयाँ काम थालेको छैन । बरु उल्टो सार्वभौमसत्ता र स्वाधीनताका विरुद्धमा निरन्तर गतिविधि गरिरहेको छ । विकास–निर्माण ठप्प छ । शिक्षा, स्वास्थ्यजस्ता जनहितको पक्षमा अघिल्लो सरकारद्वारा शुरू गरिएका कामहरू रोक्ने वा बिगार्नेमात्र काम जारी राखेको छ । महंगी नियन्त्रण गर्न र उपभोक्तालाई राहत दिन, राष्ट्र, जनता र जनजीविकासँग प्रत्यक्षरूपमा जोडिएका विषयहरूमा काम गर्न पूर्णरूपमा असक्षम भएको छ । त्यसैले जनसरोकारका विषयमा राज्यलाई जवाफदेही बनाउन यही साउन १६ गते काठमाडौंको बसन्तपुरबाट महंगी, भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध बृहत् प्रदर्शन शुरू हुँदैछ ।
बृहत जनप्रदर्शनमा संलग्न होऔं । जनएकता प्रदर्शन गरौं ।

नेकपा (एमाले)
महंगी तथा भ्रष्टाचार विरुद्धको बृहत जनप्रदर्शन आयोजक कमिटी