detail-img

कर्मचारीको पेशागत सुरक्षा सुनिश्चित गरियोस् 


च्यासल (ललितपुर) । नेकपा (एमाले) ले सरकारी सेवामा कार्यरत सबै कर्मचारीहरूलाई नियमित रूपमा काम गर्न पाउने गरी पेशागत सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । 
नेकपा (एमाले) को संघीय मामिला तथा सामान्य प्रशासन विभागले आज प्रेस विज्ञप्ति जारी गरी सरकारले संघ, प्रदेश र स्थानीय तहमा अस्थायी, ज्यालादारी र करारमा कार्यरत हजारौं कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गर्न लागेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
पार्टी स्थायी कमिटीका सदस्य तथा विभागका प्रमुख किरण गुरूङद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ– ‘नेकपा (एमाले) निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीहरूलाई विधि र प्रक्रियाविपरीत हटाउने र प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्ने गरी सरकारले गरिरहेको कारबाहीको भर्त्सना गर्दछ ।’ 
‘नेकपा (एमाले) ले देशको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन स्वच्छ, निष्पक्ष, जनउत्तरदायी र मर्यादित हुनुपर्छ भन्ने मान्यता राख्छ । राज्य र जनताका बीचका सम्बन्धहरूलाई सेवा प्रवाहमार्फत सजीव राख्ने र कानूनी राज्यको प्रत्याभूति दिलाउने काम पनि यही संयन्त्रको हो ।’ 
‘वर्तमान गठबन्धन सरकार  कर्मचारीहरूको यो संयन्त्रलाई हतोत्साही बनाउने र दलगत स्वार्थमा प्रयोग गर्ने अनर्थकारी बाटोमा लागेको’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।