बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन विगतमा गरेका राम्रा कामलाई जनस्तरमा पुर्याउने, बिपक्षीले गरेका गलत कामको भण्डाफोर गर्ने र अन्तरपार्टी व्यवस्थापन गर्ने काममा तत्काल लाग्न निर्देशन दिनुभएको छ ।
बुटवलमा जारी नेकपा एमाले लुम्बिनी प्रदेशस्तरीय संगठन व्यवस्थापन तथा परिचालन कार्यशालामा शनिबार प्रशिक्षणमूलक मन्तब्य दिँदै रणनीतिक योजनामा लाग्न निर्देशन दिनुभएको हो । सरकारमा रहँदा एमालेले दुरगामी प्रभाव पार्ने काम गरेको प्रसङ्ग उल्लेख गर्दै ती कामलाई व्यवस्थित ढङ्गले जनतामा लैजान जरूरी रहेको उहाँले बताउनुभयो ।
स्थानीय चुनाबमा एकलरूपमा काँग्रेस वा अरू कुनै पार्टी नेकपा (एमाले) सँग नलडेको, गठबन्धन लडेको स्मरण गराउँदै चौतर्फी घेराबन्दीका वीचमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको तथ्य उहाँले प्रस्तुत गर्नुभयो । आगामी निर्वाचनमा कार्यक्षेत्रको सुझाव, जित्नसक्ने सम्भावना र जितिसकेपछि पनि उचित काम गर्ने व्यक्तिलाई प्राथमिकता दिई टिकट वितरण गर्ने नीति रहेको बताउनुभयो ।
उपाध्यक्ष पौडेलले नेकपा (एमाले) विचार निर्माणका हिसावले, संगठन निर्माण र परिचालनका हिसावले संसारका अन्य सबै पार्टीभन्दा व्यवस्थित र सुदृढ रहेको विश्वास व्यक्त गर्दै केही समययता पार्टी आफ्नै मौलिक अभ्यासबाट स्खलित हुन पुगेकोमा चिन्ता प्रकट गर्नुभयो ।
‘एमालेको सार्वभौमसत्ता एमालेका सदस्यमा निहीत रहेकाले सिद्धान्त, नीति र कार्यक्रम कार्यकर्ताले चाहे अनुसार नै हुने तर, सिद्धान्तको बर्को ओढेर गुटवन्दी गर्ने अधिकार कसैसँग छैन’, उहाँले भन्नुभयो ।
नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव तथा लुम्विनी प्रदेशका इन्चार्ज छविलाल बिश्वकर्माले सुधारको कुरा हरेक कमिटीबाट शुरू गर्नुपर्ने आबश्यकता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हामी सवैजना स्थानीय निर्बाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेकोमा आत्मालोचित हुँदै आगामी निर्बाचनमा पार्टीको वहुमत दिलाउन सम्पूर्ण रूपले लाग्ने प्रतिबद्धता ब्यक्त गर्दछौं ।’
पार्टी स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले नेकपा (एमाले) योग्यतापूर्बक संगठन सञ्चालन गर्ने पार्टी रहेकोमा जोड दिँदै यो पार्टीसँग अरू कसैको तुलना हुनै नसक्ने बताउनुभयो ।
कमिटीहरूले निर्णय क्षमता गुमाएका कारण माथिल्लो कमिटीले निर्णय गर्नुपर्ने अवस्था आएकाले कमिटीहरूको निर्णय क्षमता वढाउन जरूरी रहेको उहाँको भनाइ थियो ।
भ्रष्टाचारीलाई पालन पोषण गर्ने, अर्थतन्त्र तहसनहस बनाउने काम देउबा, प्रचण्ड र जनार्दनहरूले गरेको सन्दर्भ उल्लेख गर्दै अधिकारीले भन्नुभयो– ‘जवसम्म यिनीहरूका हातमा सत्ता रहिरहन्छ तवसम्म मुलुक उघो लाग्न सक्दैन ।’
यसअघि पहिलो दिन वनाइएका पाँचवटा समूहले समूहगत छलफलका निष्कर्र्ष प्रस्तुत गरेको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिनुभयो ।
पार्टीलाई अनुशासित, विधिसम्मत र कमिटी प्रणालीलाई चलायमान बनाउन जोड दिँदै सबै समूहले विभिन्न सुझाव दिएका थिए । ‘प्रदेश कमिटीको अविलम्व अधिवेशन गर्नुपर्ने, आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने, कमिटीहरू छरिता बनाउनुपर्ने, अनुशासनलाई उपल्लो कमिटीबाट लागू गर्नुपर्ने, सदस्यता नवीकरण गर्दा प्रशिक्षण कार्यक्रम नियमित गर्नुपर्ने’ सुझावमा उल्लेख छ ।
त्यसैगरी पार्टीलाई समृद्धिको बाटोमा लैजाने भनेपछि तदनुसारका कार्यक्रमहरू बनाउने र हरेक कमिटीमा यस बिषयमा छलफल चलाउनुपर्ने, कार्यकर्तालाई स्वरोजगार सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने समूहगत सुझाव आएको घिमिरेले बताउनुभयो ।
दुई दिने यो कार्यशालामा प्रदेश अन्तर्गत सबै जिल्लाका नेतृत्वहरूको सहभागिता रहेको थियो ।