–अबको युग युवाको युग हो, युवाका साथमा नेकपा (एमाले) छ
–लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नु नै प्राकृतिक हो
–नेपाललाई असफल राष्ट्र बनाउन चाहनेहरू एमाले र यसका अध्यक्ष ओलीमाथि हमला गरिरहेका छन्
– नियोजित हमलाविरूद्ध राष्ट्रिय युवा संघ नेपाल अग्र मोर्चामा उभिनुपर्छ
१२ माघ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल हामी आफैँ बनाउँछौं भन्ने भावनाका साथ युवा जाग्नुपर्ने र लाग्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा (एमाले) युवामा भरोसा गर्ने र युवालाई अवसर दिने पार्टी भएको स्पष्ट पार्नुभयो ।
नयाँ पुस्तालाई राजनीतिसँग जोड्न नसक्ने राजनीतिक दलले देशका लागि काम गर्न नसक्ने बताउँदै महासचिव पोखरेलले भन्नुभयो– अबको युग युवाको युग हो, युवाको साथमा नेकपा (एमाले) छ ।
आज राष्ट्र निर्माण गर्ने व्यक्ति प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि चौतर्फी हमला भइरहेको बताउँदै महासचिव पोखरेलले एमाले र अध्यक्ष ओलीमाथिको हमला नराम्रो काम गरेको कारण नभई नेपाललाई असफल गराउन चाहनेहरूको हमला भएको स्पष्ट गर्नुभयो ।
उहाँले देश असफल पार्न गरिएको यस प्रकारको नियोजित हमलाविरूद्ध राष्ट्रिय युवा संघ नेपाललाई अग्र मोर्चामा उभिन आग्रह गर्नुभयो । जहाँ सङ्कट हुन्छ, त्यहाँ समाधान हुने बताउँदै देशको सार्वभौम स्वाधीनता रक्षाका लागि नेपाली युवा जाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
महासचिव पोखरेलले केही गर्छु भन्ने युवालाई देशमा नै सम्भावना रहेको बताउनुभयो ।
लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने र ती दलले शासन गर्ने कुरा प्राकृतिक भएको प्रष्ट पार्दै जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक भएको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले ठुला र बलिया दलले मात्र मुलुकमा विकास र समृद्धिको काम गर्न सक्ने स्पष्ट पार्नुभयो ।
समाजलाई अघि बढाउन समाजमा आशा जगाउनुपर्ने र त्यो आशाको संवाहक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली भएको बताउँदै उहाँले भन्नुभयो– हामी अध्यक्ष ओलीको नेतृत्वमा नेपाललाई समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पुरा गर्ने अभियान चलाउन चाहन्छौं ।
देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको र त्यो क्षमता नेकपा (एमाले) र अध्यक्ष ओलीसँग मात्र रहेको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले देखेका सपना आज व्यवहारमा बदलिँदै गएको उहाँले स्पष्ट पार्नुभयो ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल लगायत पार्टीका केन्द्रीय नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा सफल युवा प्रतिभाहरूलाई सम्मान गरिएको थियो ।