detail-img

नीति, नेतृत्व र विचारमा एमाले सबल र सक्षम 

लमजुङ । नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आगामी निर्वाचनबाट एमाले पहिलो शक्ति बन्ने  बताउनुभएको छ । 
नेकपा एमाले जिल्ला कमिटी लमजुङले शनिबार आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण भेलामा उपाध्यक्ष शाक्यले पार्टीले रचनात्मक काम गरी लोकप्रिय बनेकाले   आगामी निर्वाचनमा पहिलो शक्तिका रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।
‘एमालेको सरकार हुँदा गरेका लोकप्रिय कामबाट प्रभावित  आम नागरिकले एमालेकै नेतृत्वमा संघीय र प्रदेश सरकार चाहेका छन् ।’ 
उहाँले माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादका आधारमा अघि बढेमात्र मुलुक समृद्ध हुने वताउनुभयो । 
कार्यक्रममा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले  आगामी चुनावमा प्रतिस्पर्धाका लागि नीति, नेतृत्व र विचार सबै हिसावले एमाले बलवान रहेको बताउनुभयो । 
प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले स्थानीय निर्वाचनमा एमालेले केही सिट गुमाए पनि जनमतमा पहिलो रहेको भन्दै   स्थानीय चुनावमा पार्टीभित्रबाटै घात गर्नेेहरूलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।
नेता गुरुङले भन्नुभयो, ‘आफ्नै पार्टीमाथि, सिद्धान्तमाथि विश्वासघात गरेर पार्टीमा बस्ने कुरा सम्भव छैन ।’
पार्टीका नेता कार्यकर्ता सबै मिलेर आगामी निर्वाचनमा सर्वप्रथम ५१ प्रतिशत सिट ल्याउन सके एमालेले देखेको ‘समृद्ध नेपाल,सुखी नेपाली’ को सपना पूरा हुने नेता गुरुङले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश सह–इञ्चार्ज एवं लमजुङ इन्चार्ज मायानाथ अधिकारीले प्रशिक्षणात्मक मन्तव्य दिँदै जनताको गरिबी हटाउने पार्टी एमाले मात्रै रहेको बताउनुभयो ।
नेकपा (एमाले) जिल्ला कमिटी लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं लमजुङ सह–इञ्चार्ज टुकाभद्र हमाल, केन्द्रीय कार्यालय सचिव भीष्मनाथ अधिकारी, गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडी लगायतले प्रशिक्षण मन्तव्य व्यक्त गर्नुभएको थियो ।