detail-img

अध्यक्षद्वारा विभागका काम सक्रियतापूर्वक सम्पादन गर्न निर्देशन 

च्यासल (ललितपुर) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काम विभाग र भूगोलमा विकेन्द्रीकरण गरिएकाले विभागीय कामहरूलाई सक्रियतापूर्वक अघि बढाउन निर्देशन दिनुभएको छ ।  
आइतबार पार्टी केन्द्रीय कार्यालयमा सबै केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी हरेकले कुनै पनि जिम्मेवारी सक्रियतापूर्वक पूरा गर्नुपर्छ, जिम्मेवारी पूरा गर्न नसके सकिन भन्नुपर्छ । त्यो जिम्मेवार अरूबाट पूरा गरिने छ । जिम्मेवारी पूरा नगरी बस्नु हुँदैन, त्यसले पार्टीलाई मात्र होइन, हाम्रो आन्दोलन, हामीले तय गरेको गन्तव्यमा पुग्ने कुरामा बाधा पुग्छ ।’
विभागका कामलाई अत्यन्तै व्यवस्थित र सक्रियताका साथ सम्पादन गर्न निर्देशन दिँदै अध्यक्ष ओलीले भन्नुभयो– काम सकियो भन्ने हुँदैन । एउटा लक्ष्यसम्मको काम सकिएपछि त्यसले अर्को लक्ष्य निर्धारण गर्छ, अरू अगाडिको काम शुरू हुन्छ । 
‘हामीले विभागका काम नयाँ शिराबाट थालेका छौं, विभागका कामलाई चल्ते, चलाते ढङ्गले होइन, व्यवस्थित कार्ययोजना अन्तर्गत निर्दिष्ट ढङ्गले सम्पादन गर्न चाहन्छौं ।’
यस अघि बसेको बैठकबाट सबै विभागलाई समयसीमा निर्धारण गरी कार्ययोजना बनाउन निर्देशन गरिएको थियो । आजको बैठकमा विभिन्न विभागका तर्फबाट कार्ययोजनाका बारेमा प्रस्तुती भएको थियो ।  
अध्यक्ष ओलीले भन्नुभयो– ‘आजको बैठकमा कामका बारेमा जे जति प्रस्तुत भयो, निकै राम्रो भएको छ । विभागका काममा विज्ञहरूको समेत राय, सुझाव र सल्लाह लिन सकिने भए पनि विभागका सबै सदस्यहरू आफ्नो विषयको पण्डित हुनुपर्छ । विचार निर्माण र संगठन निर्माणको प्रश्नमा हामी अरूहरू भन्दा अग्रणी छौं तर कुनै पनि विषयको तुलनात्मक अध्ययन गर्ने गर्नुपर्छ ।’
बैठकमा महासचिव शंकर पोखरेलले विभागलाई व्यवस्थित गर्दै आ–आफ्नो कार्य सम्पादन चुस्त बनाउन आग्रह गर्नुभयो ।  
बैठकमा अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाही, साहित्य, कला तथा संस्कृति विभागका प्रमुख रघुजी पन्त, उद्योग तथा आपूर्ति विभागका प्रमुख मोतीलाल दुगड, उपभोक्ता हित तथा सुशासन विभागका प्रमुख यज्ञराज सुनुवार, उर्जा तथा सिंचाई विभागका प्रमुख गोकर्ण बिष्ट, कानुन विभागका उपप्रमुख धर्मराज रेग्मीले कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । 
त्यस्तै, पुस्तकालय विभागका प्रमुख ममता गिरी, निर्वाचन विभागका उपप्रमुख निरज आचार्य, पर्यटन तथा नागरिक उड्ययन विभागका उपप्रमुख भीम केसी, परराष्ट्र मामिला विभागका प्रमुख राजन भट्टराई, प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजाल, स्कूल विभागका उपप्रमुख ईश्वरी रिजाल, खेलकुद विभागका प्रमुख लिलबहादुर थापा, राष्ट्रिय हित तथा सुरक्षा विभागका प्रमुख परशु मेघी गुरुङ, सामाजिक सेवा विभागका सचिव नेत्रप्रसाद तिमिल्सेना, बन तथा वातावरण विभागका प्रमुख विषमलाल अधिकारी दनुवारले कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । 
त्यसैगरी वित्त तथा कोष व्यवस्थापन विभागका सचिव भीष्म अधिकारी, विज्ञान तथा प्रविधि विभागका सचिव संजिव रोक्का, शिक्षा तथा मानव स्रोत विभागका प्रमुख गुरु बराल, श्रम तथा रोजगार विभागका उपप्रमुख भगवती चौधरी, संगठन विभागका सचिव सम्झना देवकोटा, संसदीय मामिला विभाग प्रमुख शिवमाया तुम्वाहाम्फे, संघीय मामिला तथा सामान्य प्रशासन विभाग प्रमुख किरण गुरुङ, सामाजिक सुरक्षा तथा समाज कल्याण विभागका प्रमुख जुली महतो, सहरी तथा गरीबी निवारण विभाग प्रमुख कमल चौलागाई, स्थानीय विकास विभाग उपप्रमुख प्रभा बराल र स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।