detail-img

दोलखामा जिल्लास्तरीय प्रशिक्षण सम्पन्न 

चरिकोट (दोलखा) । नेकपा (एमाले) को दोलखा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । 
पार्टीका उपमहासचिव बिष्णु रिमाल प्रमुख प्रशिक्षक रहनुभएको प्रशिक्षण कार्यक्रममा पार्टीको जिल्ला कमिटीका सदस्यहरू, स्थानीय तहमा पार्टीबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायत करिब ३५० जना अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । 
सो अवसरमा उपमहासचिव रिमालले वर्तमान राष्ट्रिय राजनीति, स्थानीय निर्वाचनको परिणाम र यसबाट लिनुपर्ने शिक्षा, आगामी निर्वाचनको रणनीति र तयारीबारे प्रशिक्षण दिनुभएको थियो । 
उपमहासचिव रिमालले देश र जनताका पक्षमा पार्टीले अगाडि सारेका विकास र समृद्धिका योजना कार्यान्वयनका लागि एमाले सरकारमा जानुपर्ने वताउँदै त्यसका लागि आगामी निर्वाचनमा पार्टीले जित्नैपर्ने धारणा राख्नुभएको थियो । 
स्थानीय निर्वाचनमा पार्टीले ३४ प्रतिशत मत ल्याएर लोकप्रिय मतमा पहिलो पार्टी भएको चर्चा गर्दै आगामी निर्वाचनमा यो प्रतिशतलाई ५० पुर्याउनुपर्ने वताउनुभएको पार्टीका जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी गराउनुभयो । 
कार्यक्रममा पार्टी पोलिटव्यूरो सदस्य आनन्दप्रसाद पोखरेल र बाग्मती प्रदेश संगठन कमिटीका अध्यक्ष केशव पाण्डेले पनि प्रशिक्षण दिनुभएको थियो । 
जिल्लास्तरीय प्रशिक्षण सम्पन्नसँगै दोलखा जिल्ला कमिटीले पार्टी सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको  छ । त्यसका लागि दोलखाका नौ पालिकाका लागि नौ वटा टोली गठन गरिएको र भदौ १५ गतेसम्म पार्टीको वडा कमिटीसम्म प्रशिक्षण सञ्चालन गर्ने कार्ययोजना रहेको जिल्ला अध्यक्ष श्रेष्ठले वताउनुभयो ।