detail-img

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली

 बिम्स्टेक शिखर सम्मेलनमा सम्बोधन

२२ चैत (२०८१), बैङ्कक  । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताउनुभएको छ ।
थाइल्याण्डको बैङ्ककस्थित होटल साङ्ग्रिलामा सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि, लचिलो र खुलापनजस्ता बिम्स्टेक सम्मेलनका तीन आधार स्तम्भ, दिगो विकास लक्ष्य र नेपालको राष्ट्रिय आकाङ्क्षासँग गहिरो रूपमा प्रतिध्वनित हुने बताउनुभएको हो ।
उहाँले बिम्स्टेकले परिवर्तनशील समयलाई मात्र नभई हाम्रो क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– मलाई विश्वास छ, शिखर सम्मेलनको विषयवस्तुले हामीलाई त्यो मापन प्रदान गर्दछ, जुन जनता, समृद्धि र कल्याणको पक्षमा छ ।
प्रधानमन्त्री ओलीले हाम्रो सम्भावनालाई उजागर गर्न र हामीसँग भएका स्रोत साधनलाई पुँजीकृत गर्न एकीकृत प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले यस क्षेत्रका अर्थतन्त्रहरू समान छैनन् भन्ने कुरा स्वीकार गर्दै विशेष आवश्यकता भएका सदस्य राष्ट्रलाई सक्षम बनाउन प्राथमिकताका साथ सहयोग गर्न आग्रह गर्नुभयो ।
जलवायु परिवर्तनले सम्पूर्ण मानवजातिको अस्तित्वमा सङ्कट सिर्जना गरेको उल्लेख गर्दै उहाँले यहाँका हिमालयहरू एसियाका लागि पानीका स्रोत भएको बताउनुभयो । 
प्रधानमन्त्री ओलीले भन्नुभयो– यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पु‍र्याइरहेका छन् तर हाम्रो तर्फबाट भएको न्यून कार्बन उत्सर्जनका बाबजुद पनि तिनीहरूले असमान आक्रमणको सामना गर्नुपरिरहेको छ । यसको प्रभाव पहाडहरूमा मात्र नभई तल्लो तराई र तटीय क्षेत्रहरूमा पनि फैलिएको छ । 
पहाडहरूको दुर्दशा र पहाड–महासागरबीचको सम्बन्धलाई उजागर गर्न, नेपालले आगामी मे महिनामा ‘सगरमाथा सम्वाद’को पहिलो संस्करण आयोजना गर्न लागेको समेत उहाँले जानकारी दिनुभयो । 
बिम्स्टेकले दुई गतिशील क्षेत्रहरू (दक्षिण एसिया र दक्षिणपूर्व एसिया)बीचको अद्वितीय सहकार्यको उदाहरण दिने भएकाले साझा र एकीकृत प्रयासमा हातोमालो गर्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । 
शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर भएको छ । शिखर सम्मेलनमा प्रधानमन्त्री ओली, थाइल्यान्ड, बङ्गलादेश, भुटान, भारत, म्यान्मार र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता) हरूले सम्बोधन गर्नुभएको थियो ।
आज बैङ्ककस्थित होटल साङ्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरूको सामुहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो । 
सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरूलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान शिनावात्राले स्वागत गर्नुभएको थियो ।