detail-img

बर्दियाका माओवादी नेता, कार्यकर्तालाई पार्टीमा स्वागत 

बर्दिया । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्र र राष्ट्रियताप्रति दृढरूपमा उभिने एमाले बाहेक अर्को राजनीतिक शक्ति नभएको बताउनुभएको छ । 
उहाँले राष्ट्रिय स्वाधीनताको पक्षमा एमालेले लिएको अडान र निर्णय आम नेपालीले सदा स्मरण गरिरहने बताउनुभयो ।
उहाँले एमालेप्रति देखिएको देशव्यापी आकर्षणले सत्ता गठबन्धन दिन प्रतिदिन कमजोर भइरहेको बताउनुभयो । 
बर्दियाको राजापुरमा मङ्गलबार आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता प्रशिक्षणमा महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धन केवल सत्ताका लागि मात्रै भएकाले आगामी निर्वाचनमा जनताले यो गठबन्धनलाई स्वीकार नगर्ने विश्वास व्यक्त गर्नुभयो । 
महासचिव पोखरेलले विगतमा एमाले नेतृत्वको संघ र प्रदेश सरकारले जनतामा परिवर्तन देखिने गरी काम गरेका कारण जनतामा एमालेप्रति आकर्षण देखिएको बताउनुभयो ।
उहाँले गठबन्धन देश र जनताका लागि नभई नेताहरूको व्यवस्थापनमा केन्द्रित भएको चर्चा गर्नुभयो । 
सो कार्यक्रममा बर्दियाको राजापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख शिवप्रसाद थारू र मधुवन नगरपालिकाका निवर्तमान उपप्रमुख शुभरानी थारूलाई महासचिव पोखरेलले एमालेमा स्वागत गर्नुुभयो ।
उहाँहरू दुवै माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्छ । 
त्यसैगरी माओवादी केन्द्रकै लुम्बिनी प्रदेश कमिटी सदस्य शान्ती चौधरी, सुरेश भुल, रामबहादुर थारू एमालेमा प्रवेश गर्नुभएको छ । 
यसैगरी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाबाट जिल्ला कमिटी र नगर कमिटीमा रहेका राजापुर, मधुवन र ठाकुरबाबा नगरपालिकाबाट नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन् ।