detail-img

प्रतिष्ठानहरू निर्दिष्ट उद्देश्य बमोजिम चलाउने योजना 

काठमाडौं । नेकपा (एमाले) ले विभिन्न नेताहरूका नाममा रहेका स्मृति प्रतिष्ठानहरू आफ्नो  स्थापनाको निर्दिष्ट उद्देश्य अनुरूप चलून् भन्ने चाहना र सोचका साथ पार्टी केन्द्रबाट समन्वय गर्ने योजना बनाएको छ । 
पार्टीले विभिन्न प्रतिष्ठानको समन्वय गर्ने गरी पार्टीका पोलिटव्यूरो सदस्य सीता गिरीलाई प्रमुख र केन्द्रीय सदस्य शान्ति अधिकारीलाई उपप्रमुखको जिम्मेवारी दिएको छ ।  
उक्त समन्वय समितिको बैठक २०७९ साउन १७ गते पार्टी कार्यालय च्यासलमा बस्यो । बैठकले आफ्नो कार्यविधि तय गर्ने गरी छलफल शुरू गरेको छ । 
बैठकमा पार्टीका उपमहासचिव बिष्णु रिमालले स्मृति प्रतिष्ठानहरू स्थापनाको पृष्ठभूमिबारे वताउनुभएको थियो । 
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, तुल्सीलाल अमात्य, मनमोहन अधिकारी, मदन भण्डारी– जीवराज आश्रित र मोतीदेवी श्रेष्ठको स्मृतिमा स्थापना गरिएका प्रतिष्ठानहरू व्यवस्थित रूपमा, एउटै लयमा सञ्चालन हुनुपर्छ भन्ने मान्यतामा पार्टीले समन्वय समिति बनाएको हो । 
उपमहासचिव रिमालका अनुसार, ति प्रतिष्ठान स्थापना गर्दा निश्चित कामको समेत सोच बनाएर स्थापना गरिएको हो । जस अनुसार पुष्पलाल स्मृति प्रतिष्ठानले बाम–लोकतान्त्रिक इतिहासका बारेमा काम गर्ने, मनमोहन स्मृति प्रतिष्ठानले श्रम र रोजगारका विषयमा काम गर्ने, मदन–आश्रित स्मृति प्रतिष्ठानबाट विचार, सिद्धान्त र मार्क्सवादको सिर्जनात्मक प्रयोगका सन्दर्भमा, तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा किसान आन्दोलन प्रबर्द्धन र मोतीदेवी अध्ययन केन्द्रबाट लैंगीक समानताका विषयमा काम गर्ने योजना बनाइएको थियो । 
आजको बैठकमा टंकप्रसाद आचार्यको नाममा रहेको प्रतिष्ठानबाट पनि प्रतिनिधित्व रहेको थियो । 
बैठकमा प्रतिष्ठानहरूको अवलोकन गर्ने, तथ्याङ्क सङ्कलन गर्ने जस्ता प्रारम्भिक काम शुरू गर्ने र कार्यविधि बनाउनेबारे छलफल भएको प्रमुख गिरीले जानकारी दिनुभयो ।