detail-img

‘फरक–फरक विचार बोकेका पार्टीलाई मिलाएर एमाले विरूद्ध गठबन्धन’

रामेछाप । नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीले मंगलबार जिल्ला स्तरीय संगठन सृदृढीकरण तथा शुद्धीकरण अन्तर्गत प्रशिक्षण कार्यक्रममा सम्पन्न गरेको छ । 
जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, सल्लाहकार परिषदका सदस्यहरू, नगर तथा गाउँ कमिटी पदाधिकारीहरू, वडा कमिटीका अध्यक्ष, निर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, जनवर्गीय संगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला पदाधिकारीहरूलाई प्रशिक्षण दिइएको हो । 
पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती  प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, सहइन्चार्ज शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेल, केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कैलाशप्रसाद ढुङ्गेल र केन्द्रीय सदस्य एवं अनेरास्ववियुका इन्चार्ज माधव ढुङ्गेल लगायतले प्रशिक्षण दिनुभएको थियो । 
प्रशिक्षण कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले फरक–फरक दिशामा फर्किएका पार्टीहरू मिलेर बनेको अपवित्र गठबन्धन निरन्तर एमालेका विरुद्धमा रहेको बताउनुभयो । 
राम्रो काम गरिरहेको एमालेलाई सरकारबाट हटाउन सङ्घीयता नचाहने, प्रदेश बढाइनुपर्छ, संसदीय व्यवस्था स्वीकार छैन भन्ने र संसदीय व्यवस्थाको विकल्पै छैन भन्ने पार्टीको अपवित्र गठबन्धन बनेको र यो गठबन्धन निरन्तर एमालेको विरुद्धमा रहेको उहाँको भनाइ थियो । 
सङ्घीयता खारेजीको माग गर्ने राष्ट्रिय जनामोर्चा, १४ वटा प्रदेश बनाउनुपर्छ भन्ने जनता समाजवादी पार्टी यही गठबन्धनमा छन्, संसदीय व्यवस्थालाई स्वीकार गरिएको छैन भन्ने प्रचण्ड र संसदीय व्यवस्थाको विकल्प छैन भन्ने काँग्रेस एकैठाउँमा छन्, दशतिर फर्किएका पार्टीहरूलाई एक ठाउँमा ल्याउन कुन काँटा किलाले जोडिदियो ? उहाँले भन्नुभयो । 
गठबन्धन मात्रै नभई अदालत, विदेशी शक्तिकेन्द्र र अरू विभिन्न संवैधानिक अङ्गहरू समेत एमालेको विरुद्धमा रहेको उहाँले बताउनुभयो । 
एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले नेकपा (एमाले) प्रवेशको सिलसिला निरन्तर रहेको र जारी रहने बताउनुभयो । 
नेता अधिकारीले नेपालमा एमाले भन्दा राम्रो पार्टी अरू कुनै नभएकाले एमाले प्रतिको आकर्षण यथावत् रहेको बताउनुभयो । 
अधिकारीले भन्नुभयो–कांग्रेस र माओवादी विचार नै नभएका पार्टी हुन् ।  अन्य पार्टी अस्तित्व नै जोगाउन नसक्ने अवस्थामा पुगिसकेको उहाँको भनाई थियो । 
जनताको बहुदलीय जनवाद मौलिक कम्युनिष्ट विचार भएको उहाँले बताउनुभयो । जनताको बहुदलीय जनवादबाट एमाले मात्र होइन देश नै निर्देशित भएको उहाँको भनाइ थियो ।
एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले विगतको निर्वाचनमा समयमा उम्मेदवार छान्न नसक्दा सोचे अनुसारको परिणाम आउन नसकेको बताउनुभयो । नेता तामाङले अबका चुनावमा एमालेले समयमा नै उम्मेदवार घोषणा गरेर जाने बताउनुभयो । 
एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले कम्युनिष्ट आन्दोलनमा लागेर एमालेमा लागेर के पाइयो भन्नेहरूलाई गणतन्त्रदेखि, राजनीतिक र नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान लगायतका उपलब्धि प्राप्त भएकोबारे वताउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

काँग्रेस र माओवादी कार्यकर्तालाई एमालेमा स्वागत 
यसैबीच, नेपाली काँग्रेस रामेछापका क्षेत्रीय प्रतिनिधि रमेश लामिछाने र बालकुमार खत्री तथा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार भगतसिंह लामासहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । 
नेकपा एमाले रामेछापको मंगलबार मन्थलीमा आयोजना गरिएको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा काँग्रेस र माओवादी परित्याग गरेर ती नेता\ कार्यकर्ताहरू एमाले प्रवेश गरेका हुन् । 
उहाँहरूलाई उपमहासचिव ज्ञवाली, पार्टी स्थायी कमिटी सदस्य अधिकारी लगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभएको थियो ।