detail-img

‘देशको अवस्था बदल्न एमाले ठूलो पार्टी हुनु आवश्यक’ 

तुल्सीपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश र जनताको अवस्था बदल्न एमाले पहिलो शक्ति हुनुपर्ने बताउनुभएको छ । 
नेकपा एमाले तुलसीपुर नगर कमिटीले बुधबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पहिलो पार्टी बनाउन कार्यकर्ता खट्नुपर्ने  बताउनुभयो ।  
वर्तमान गठबन्धनका कारण देशको अबस्था जर्जर भएको, आर्थिक अबस्था कमजोर भएको हुँदा अब यसको बिकल्प खोज्ने बेला आएको महासचिवले बताउनुभयो । 
नेकपा एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको अभियानमा रहेको चर्चा गर्दै उहाँले पार्टीलाई थप क्रियाशील बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । 
पार्टीका बिरुद्ध घेराबन्दी भइरहेको बताउँदै महासचिव पोखरेलले त्यसलाई चिर्नका लागि संगठनलाई सक्रिय बनाउन आग्रह गर्नुभयो । 
महासचिव पोखरेलले वर्तमान सरकार निर्वाचनको मिति घोषणा गर्न आनाकानी गरिरहेको वताउँदै निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्नुभयो ।
उहाँले संगठन निर्माणको कामलाई टोलस्तरमा लैजान निर्देशन दिदै बैठक र प्रशिक्षणलाई पनि टोलसम्मै पुर्याउन आग्रह गर्नुभयो । 
स्थानीय तहको निर्वाचनमा पार्टी एक्लै चुनावी अभियानमा हुँदा पनि मतदाताले उल्लेख्य माया गरेको स्मरण गर्दै संघीय र प्रदेशको निर्वाचन मार्फत् एमाले पहिलो शक्ति हुने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीभित्र अहिले पनि अवसरवादको खोजी गर्ने नेता, कार्यकर्ता भएको उल्लेख गर्दै महासचिव पोखरेलले निर्वाचनमा देखाई दिन्छु भन्ने भावनाले पनि स्थानीय निर्वाचनमा हराउन भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य नरुलाल चौधरीले वर्तमान परिस्थिति र आगामी कार्यभार, केन्द्रीय सदस्य घनश्याम पाण्डेले समृद्धि र समाजवादको आधार निर्माणमा हाम्रो भूमिका र प्राध्यापक सुन्दर गौतमले स्थानीय जनप्रतिनिधि र कार्यकर्ताको सम्बन्ध र कार्यशैलीका बिषयमा प्रशिक्षण दिनुभएको थियो । 
यसैगरी,  प्रेस चौतारी नेपाल दाङ शाखाले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले देशको उन्नति र प्रगतिका लागि एमालेको नेतृत्वमा चुनावी गठबन्धन हुनसक्ने बताउनुभयो । 
नेकपा एमालेले नीति र सिद्धान्तका आधारमा चुनावी गठबन्धन गर्न तयार रहेको बताउनुभयो ।