detail-img

‘अंगीकृत नागरिकतामा गठबन्धन सरकारद्वारा आत्मसमर्पण’

ललितपुर । नेकपा (एमाले) का उपाध्यक्ष बिष्णु पौडेलले  एमाले बाहेक एक्लै चुनाव लड्ने शक्ति कुनै पनि पार्टीसँग नरहेको बताउनुभएको छ । 
नेकपा (एमाले) ललितपुरले बिहीबार आयोजना गरेको प्रशिक्षण भेलामा उपाध्यक्ष पौडेलले उक्त कुरा बताउनुभएको हो । 
उपाध्यक्ष पौडेलले गत स्थानीय तहको चुनावमा कांगे्रस पनि एक्ले चुनाव लड्न नसकेको बताउनुभयो । 
पौडेलले भन्नुभयो, “गत स्थानीय तहको चुनावमा कांग्रेसले चुनाव लड्न सकेन, माओवादीले चुनाव लड्न सकेन, माधव नेपालको झुण्डले चुनाव लड्न सकेन, जसपाले चुनाव लड्न सकेन, चुनाव लड्ने एकमात्र पार्टी भनेको एमाले हो । ”
नेकपा (एमाले) आर्थिक, सामाजिक, राजनीतिक रुपान्तरणको संवाहक भएको भन्दै उहाँले उत्पादक शक्तिको हित गर्ने, मजदुर किसान, निम्न पुँजीपति वर्ग र राष्ट्रिय पुँजीपति वर्गको हित एमालेले मात्रै गर्ने वताउनुभयो ।  
नेपालीहरू नेपालमा अल्पमतमा पर्ने गरी काँग्रेस नेतृत्वको सरकारले वैवाहिक अंगीकृत नागरिकताको व्यवस्था गरेर आत्मसमर्पण गरेको उहाँको भनाई थियो ।  
“यो गठबन्धन सरकारले आज विवाह गर्ने, भोलि बिहे दर्ता गर्ने, पर्सि नागरिकता प्राप्त गर्ने, निकपर्सी चुनावमा उठ्ने र एक महिनाको चुनाव प्रचारपछि अर्को महिना मन्त्री हुने अर्थात् विवाह गरेर आएको तीन महिनामा संघीय सरकारको मन्त्री समेत हुनेगरी ढोका खोलिदिएको छ”, पौडेलले भन्नुभयो । 
कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इञ्चार्ज काशिनाथ अधिकारी, पोलिटब्यूरो सदस्य तथा ललितपुर ईञ्चार्ज सुशीला नेपाल, केन्द्रीय सदस्य तथा ललितपुर सह इञ्चार्ज हरिकृष्ण व्यञ्जनकार, केन्द्रीय सदस्य बाबुराम थापा, एमाले बाग्मती प्रदेश अध्यक्ष केशव पाण्डे, संघीय सांसद नवराज सिलवाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।