राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)को २६औँ स्थापना दिवस
२९ असार (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्राप्त उपलब्धिको रक्षा गर्नु आजको नेपाली समाजको प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ ।
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)को २६औँ स्थापना दिवसका अवसरमा आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आजको अधिकार प्राप्तिका लागि धेरै त्याग र बलिदान भएको बताउनुभयो । यसमा नेपालका राजनीतिक दलले निक्कै ठुलो सङ्घर्ष गर्नुपरेको उहाँले स्मरण गराउनुभयो ।
२००७ को परिवर्तनपछि नेपाली जनताले केही अधिकार पाएका भए पनि पुनः राजाहरूले त्यो खोसेका र नेपालका राजनीतिक दलहरूले राजनीतिक अधिकार प्राप्तिका लागि नै लामो समय लड्नु परेको हुँदा राजनीतिक दलले शासन नै गर्न नपाएको बताउँदै महासचिव पोखरेलले राजाहरू नेपाली जनतालाई अधिकार दिन कहिल्यै तयार नभएको स्पष्ट पार्नुभयो ।
राज्य कमजोर हुँदा नागरिक बलियो हुन नसक्ने बताउँदै राज्य खोक्रो भएका कारण नागरिकलाई संविधानले दिएका आधारभूत अधिकार पनि दिन नसक्ने अवस्था नआएको उहाँले बताउनुभयो । अधिकारको मात्र कुरा गर्ने, कर्तव्य निर्वाह नगर्ने कुराले देश कमजोर भएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– अधिकारसँग नागरिक कर्तव्यलाई जोड्ने कुरामा हामी चुक्यौँ, त्यसकारण मानव अधिकारको आन्दोलन अधिकारसँग कर्तव्यलाई जोडेर अघि बढ्नुपर्छ ।
लोकतान्त्रिक राज्य जति बलियो हुन्छ त्यति नै मानव अधिकार सुनिश्चित हुने बताउँदै राज्यलाई मानवअधिकार विरोधी भनि गरिने परिभाषा नै गलत भएको धारणा उहाँले राख्नुभयो । यसले सामाजिक अराजकता बढाउने उहाँको भनाइ छ । सामाजिक अराजकताले अन्ततः राज्यलाई कमजोर बनाउने र मुलुकको विकासलाई रोक्ने धारणा महासचिव पोखरेलले राख्नु भयो । सामाजिक अराजकताले साम्राज्यवादको सेवा गर्ने भन्दै उहाँले लोकतान्त्रिक राज्य मानवअधिकार विरोधी नभई मानवअधिकारको रक्षक भएको बताउनुभयो ।
वर्तमानको निराशामा टेकेर लोकप्रिय कुरा गरी समाजमा भ्रम फिँजाएर राजनीति गर्नेहरूले देश र जनताको हितमा काम नगर्ने महासचिव पोखरेलको धारणा छ । उनीहरूले सामाजिक अराजकता बढाउने र प्रतिगमनलाई नै सहयोग पुर्याउने उहाँले बताउनुभयो ।
नेपालको आर्थिक विकासमा अहिले नयाँ चुनौतीका रूपमा पढेलेखेको युवा पुस्ता देशभित्र केही गर्ने होइन बाहिर जाने सपना बोकेर बस्नु रहेको बताउँदै महासचिव पोखरेलले यो देश विकासका लागि सबैभन्दा ठुलो चुनौती भएको स्पष्ट पार्नुभयो । ‘काम गर्ने उमेरका सबै मान्छे विदेश गएपछि देश बन्छ कसरी ? काम गर्ने मान्छे सबै विदेश जाने, अनि देश बनेन भनेर गाली गर्ने, देश बनेन भनेर चिन्ता मात्र गरेर हुँदैन, यसको लागि देशमा नै बसेर काम गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
देश समृद्ध बनाउने हो भने नागरिकहरू समृद्धिको यात्रामा जुट्नैपर्ने बताउँदै महासचिव पोखरेलले सबै देश त्यही देशका नागरिकले नै बनाएका र हामीले पनि आफ्नो देश बनाउने हो भने नागरिक नै जुट्नुपर्ने धारणा राख्नु भयो ।
राम्रो आम्दानी हुने साना साना काममा नेपाली युवाको ध्यान नपुगेको बताउँदै उहाँले देशमा काम छाडेर विदेश जाने लहर बढ्नु दुःखको कुरा भएको बताउनुभयो । नेपालबाट रोजगारीको लागि विदेश जाने भन्दा रोजगारीको लागि भारतबाट नेपाल आउनेको सङ्ख्या बढी रहेको महासचिव पोखरेलले सुनाउनुभयो । ‘नयाँ पुस्तालाई हामीले सिपसँग जोड्न सकेनौँ, उद्यमसँग जोड्न सकेनौं’, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं मानव अधिकार एलायन्सका इन्चार्ज विष्णु रिजालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबाट एमाले थप एकतावद्ध हुने बताउनुभएको छ ।
उहाँले अध्यक्ष ओलीको नेतृत्वबाट एमालेले अझ बढी लाभ हासिल गर्न सक्ने बताउनुभयो ।
‘प्राविधिक रूपमा हामीभन्दा केही ठुलो पार्टी कांग्रेसले समेत केपी ओलीको नेतृत्वलाई स्वीकारेको छ’ नेता रिजालले भन्नुभयो– यस्तो अवस्थामा उहाँको नेतृत्वमा एमाले थप एकतावद्ध भएर अघि बढ्नु पर्दछ ।
उहाँले आगामी भदौमा हुने विधान महाधिवेशन, त्यसपछि हुने राष्ट्रिय महाधिवेशनको लय स्वरूप मिसन– २०८४ मा एमालेले एकल बहुमत हासिल गर्ने निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित हुन्छ ।
विश्वमा नै मानव अधिकारको रक्षाका लागि कम्युनिष्टहरूले काम सुरु गरेको स्मरण गर्दै रिजालले १८१८ मा कार्लमाक्र्स र फ्रेडरिक एङ्गेल्सले लेखेको कम्युनिष्ट घोषणा पत्र नै मानव अधिकारको क्षेत्रमा विश्वमा नै पहिलो दस्तावेज भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– मानव अधिकार र सामाजिक न्यायको रूपमा मानिएको कम्युनिष्ट घोषणा पत्र जारी भएको करिब सवासय वर्षपछि मात्र संयुक्त राष्ट्र संघले मानव अधिकार घोषणा पत्र जारी गरेको हो । विश्वलाई शोषणरहित, विभेदरहित बनाउन कार्लमाक्र्सले अघि सारेको विचार नै मानव अधिकारको आधारभूत प्रस्थान विन्दु हो ।