२६ कात्तिक (२०८२), नेपालगन्ज । नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णयलाई प्रतिगमनको संज्ञा दिनुभएको छ ।
प्रेस चौतारी नेपाल, बाँकेले बुधवार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नयाँ निर्वाचनमा जानु अघि उक्त प्रतिगमन सच्चिनुपर्ने उहाँले बताउनुभयो ।
नेता अधिकारीले भन्नुभयो– कोही पनि भ्रममा नपर्नुहोला, जसरी सडक बिद्रोहका नाममा सरकार बनाइएको छ, यो प्रतिगामी कदम हो । यो कदम सच्चिए मात्रै नयाँ राजनीतिक कोर्स तयार हुन्छ ।
प्रतिगामी कदम सच्चाउन संसद पुनर्स्थापना हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो– छोटो समयका लागि संसद पुनर्स्थापन गरेर सांसद नभएको व्यक्ति पनि प्रधानमन्त्री बनाउने सक्ने गरी संविधान संशोधन गर्ने र त्यसैका आधारमा संवैधानिक प्रक्रियाबाट नयाँ राजनीतिक कोर्स तयार गर्नुको विकल्प छैन ।
गत भदौ २३–२४ गतेका आपराधिक कार्यले सम्पूर्ण जेन्जी जेनेरेशनमाथि नै न्याय गर्न नसकेको भन्दै स्थायी कमिटी सदस्य अधिकारीले पछिल्लो समयमा भएका घटनाक्रमको छानविनका लागि उच्चस्तरीय आयोग बनाउन सकिने र नवयुवासहितको सर्वपक्षीय सरकार बनाउन सकिने धारणा राख्नुुभयो ।
उहाँले वर्तमान सरकार गठन गर्दा सर्वोच्च अदालतको न्यायाधीश मानवअधिकार आयोग बाहेक अन्त कहीँ पनि नियुक्त हुनु नहुने कानुनी व्यवस्थाको समेत धज्जी उडाइएको भनाइ राख्नुभयो ।
नेता अधिकारीले सबै पक्षलाई शान्ति र सुरक्षाको प्रत्यभूति गराउन सकेको खण्डमा एमाले निर्वाचनमा जाने स्पष्ट गर्नुभयो । यद्यपी, निर्वाचनका नाममा राजा ज्ञानेन्द्रले कमल थापालाई अघि सारेर निर्वाचन गराएको जस्तो हो भने यस्ता अवैधानिक काम रोकिनुपर्ने उहाँको तर्क थियो ।
क्रान्ति जारी रहेको भन्दै उहाँले सामन्तवाद र साम्राज्यवादका अवशेषहरू विरुद्व लोकतन्त्रको संरक्षणका लागि प्राप्त उपलव्धिको संरक्षण गर्दै नयाँ उपलब्धिका लागि जानुपर्छ भन्ने जननेता मदन भण्डारी र पार्टी अध्यक्ष ओलीको अवधारणमा सबै एकमत रहेको बताउनुभयो ।