२७ कात्तिक (२०८२), दाङ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले संसद पुनर्स्थापना , संविधान संशोधन, सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप भएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
उपमहासचिव ज्ञवालीले यथास्थितिमा चुनाव भए त्यसको कुनै औचित्य नहुने बताउनुभयो ।
यथास्थितिमा हुने चुनावले शाही कालमा भएको स्थानीय सरकार जस्तै हुने बताउँदै सरकारले चुनाव गराउने बताए पनि चुनावको वातावरण बनाउन तयार नभएको उहाँले बताउनुभयो । दलका नेताको अनुहार हेर्नु छैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले चुनाव गराउन नचाहेको देखिन्छ’, उहाँले भन्नुभयो ।
संविधान घाइते अवस्थामा रहेको र संविधानले नचिन्ने सरकारले अहिले शासन गरेको धारणा राख्दै उपमहासचिव ज्ञवालीले भन्नुभयो– अहिले संविधान घाइते अवस्थामा छ । लोकतन्त्र खतरामा छ । संविधानले नचिन्ने सरकार छ । संविधानले अस्वीकार गरेका मन्त्री छन् ।