२७ कात्तिक (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ होइन सङ्कटतर्फ लैजाने बताउनुभएको छ । लोकप्रिय पार्टीको नेतालाई स्थान हद गरेर चुनाव हुने नभई मुलुकमा सङ्कट निम्तिने उहाँले बताउनुभयो ।
नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको सङ्कट टार्न प्रतिनिधि सभाको पुनर्स्थापना गरेर त्यसका माध्यमबाट युवाका मागलाई सम्बोधन गर्न सकिने बताउनुभएको छ ।
‘संविधानलाई सही बाटोमा ल्याएपछि चुनाव २०८४ मा नै पुर्याउनुपर्छ भन्ने छैन । अर्ली इलेक्सनमा जान सकिन्छ’ महासचिव पोखरेलले भन्नुभयो– यी सबै काम गर्नका लागि पहिलो शर्त प्रतिनिधि सभाको पुनर्स्थापना हो ।
केही मानिसले दलहरू सिद्धिए, खासगरी एमाले सकियो भनेर बनाइएको भाष्य एमालेका वडा भेला र पालिकामा आयोजना गरिएका प्रदर्शनले खण्डित गरेको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– दलहरू सकिए भन्ने भाष्य अब खण्डित भइसक्यो । एमालेले २२ गते गरेको वडा भेला र २५ गते गरेको पालिकास्तरीय जनप्रदर्शनमा लाखौं मानिस सडकमा आए । जनता एमालेको साथमा छन् भन्ने यो भन्दा ठुलो प्रमाण के हुन्छ ?
केही मान्छे सडकमा आउँदैमा सरकार ढल्ने, संविधानमा तलमाथि हुने हो भने एमालेले त दिनहुँ मान्छे सडकमा उतार्ने हैसियत राख्ने उहाँले बताउनुभयो ।
नवयुवाका नाममा भएको आन्दोलनमा ब्यापक घुसपैठ गराएर नेपाललाई राज्यविहीनताको अवस्थामा पुर्याउन खोजिएको महासचिव पोखरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो– यो प्रहार केपी ओलीलाई मात्र हो भनेर कोही पनि खुशी नहोऊँ, यो त नेपाललाई राज्यविहीन बनाउने, नेपाल र सारा नेपाली जनतामाथि भएको प्रहारको रूपमा बुझ्नुपर्दछ ।
भदौ २३ र २४ का घटना सुनियोजित षडयन्त्र भएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– छलकपट र छद्म तरिकाले गरिएको उक्त आक्रमण षडयन्त्रमै आधारित रहेको र जेन–जी आन्दोलनको नाममा प्रयोग भएका फेसबुक एकाउन्टमध्ये ठुलो अंश नै फेग रहेको र एआईको प्रयोग गरी तयार पारिएको सामग्रीबाट नेपाली युवालाई भड्काउने काम गरिएको रहेछ ।
भदौ २४ को आगजनी सामान्य पेट्रोल प्रयोग मात्रबाट हुन नसक्ने र विशिष्ट रसायनको प्रयोग भएको अन्तर्राष्ट्रिय अनुसन्धान स्तरीय रिपोर्टले देखाएको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले विदेशी शक्ति, राजावादी, माओवादी र रास्वपा जस्ता समूहहरूले सहकार्य गरी एमालेविरुद्ध सुनियोजित रूपमा आक्रमण गरेको बताउनुभयो ।
अहिलेको सरकार पनि षडयन्त्रकारीको मतियार भएको बताउँदै उहाँले भन्नुभयो– अहिलेको सरकारले खुलेआम रूपमा आगो लगाएर हिँड्नेहरूलाई खुला छाडिरहेको देखिन्छ, सरकारले देखिने मान्छेको छानबिन गर्नुको साटो गोप्य रूपमा षडयन्त्र गर्ने मानिसको छानबिन गर्नु आवश्यक छ ।