२७ कात्तिक (२०८२), धनगढी । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य खगराज अधिकारीले पार्टीको आगामी ११औं महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई पुनः पार्टी अध्यक्ष निर्वाचित गर्ने कुरामा शङ्का नभएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता अधिकारीले अध्यक्ष ओली नै सर्वसम्मत अध्यक्ष बन्ने विश्वास व्यक्त गर्नुभयो ।
महाधिवेशनमा सर्वसम्मत अध्यक्ष नहुने अवस्थामा स्वस्थ प्रतिस्पर्धा हुने र त्यसले पार्टीलाई कुनै नोक्सानी नहुने भनाइ उहाँले राख्नुभयो ।
नेता अधिकारीले भन्नुभयो– २०३६ सालदेखि अहिलेसम्म म एमालेको पूर्णकालीन कार्यकर्ता हो । कुनै पेशा व्यवसायमा छैन । मेरो अनुभवले के बताउँछ भने नेकपा (एमाले)ले वर्तमान नेतृत्वलाई सर्वसम्मतरूपमा अध्यक्ष बनाउँछ । त्यसो भएन भने पनि हामी स्वस्थ प्रतिस्पर्धामै हुन्छौँ । त्यसले पार्टीलाई कुनै नोक्सान गर्दैन । सबैलाई आकलन गरेर वर्तमान नेतृत्वलाई निरन्तरता दिन्छ ।
नेकपा (एमाले) चुनावसँग नडराएको र नडराउने स्पष्ट गर्दै असंवैधानिक बाटोबाट बनेको अहिलेको सरकारले जनादेश लिन नचाहेको उहाँको भनाइ छ ।
स्थायी कमिटी सदस्य अधिकारीले भन्नुभयो– ठूलो मात्रामा नेपाल प्रहरीका हातहतियार र पोशाक लुटिएको अवस्थामा भयरहित वातावरण बनाउने प्रमुख दायित्व सरकारको भएपनि त्यसतर्फ सरकारले ध्यान दिएको छैन ।
सामाजिक सञ्जालको नियमन, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणको विषयलाई लिएर जेनजी पुस्ताले २३ भदौमा गरेको शान्तिपूर्ण आन्दोलन हाइज्याक गरिएको उहाँले बताउनुभयो ।
असंवैधानिक बाटोबाट संविधानले कल्पना नै नगरेको सर्वोच्च अदालतको पूर्व प्रधानन्यायाधीश प्रधानमन्त्री बनेर युवाका माग हाईज्याक र मुलुकलाई कमजोर बनाउने खेल भएको नेता अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो– संविधानले सर्वोच्चका न्यायाधीश मानव अधिकार बाहेक कतै पनि नियुक्त हुन नमिल्ने व्यवस्था गरेको छ तर अहिले प्रश्न गर्ने व्यक्ति सञ्चारमन्त्री, व्याख्याको पुनर्पुष्टि गर्ने व्यक्ति प्रधानमन्त्री भएर संविधानको खिल्ली उडाइएको छ, यो सरकारले चुनाव पनि गराउँदैन । गराउन आएको पनि होइन । नवयुवाको मागलाई हाइज्याक गर्ने, नेपाललाई कमजोर बनाएर भुटानीकरण, सिक्किमीकरण जस्तो गर्ने मनसायका साथ यी गतिविधि भएका हुन् ।
सोही कारण संसद पुनर्स्थापना गरेर भए पनि एकपटक प्रतिनिधि सभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन सक्ने संवैधानिक व्यवस्था गरेर अघि बढ्नुपर्ने र देशलाई निकास दिने पक्षमा एमाले रहेको उहाँको भनाइ थियो ।