२७ कात्तिक (२०८२), दाङ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले जेनजी आन्दोनका नाममा देशले इतिहासमै नभएको ठुलो क्षति व्यहोर्नु परेको बताउनुभएको छ ।
विगतमा भएका ठुला आन्दोलनमा पनि यति ठुलो क्षति व्यहोर्नु नपरेको भन्दै उहाँले यो आन्दोलनका नाममा अराजकता भएको बताउनुभयो ।
एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजनामा दाङको तुलसीपुरमा आज भएको बृहत युवा जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो ।
अहिले देश अत्यन्तै सङ्कटपूर्ण अवस्थामा पुगेको भन्दै उहाँले देशलाई जोगाउनका लागि जनताकै ठुलो हात हुने बताउनुभयो । जनता नै सबैभन्दा शक्तिशाली रहेको बताउँदै उहाँले फेरि एकपटक जनताको सक्रियता आवश्यक रहेको बताउनुभयो ।
एमाले कम्युनिष्ट राजनीतिको सिंह होः पोलिटव्युरो सदस्य बस्नेत
कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य महेश बस्नेतले नेपाली कम्युनिस्ट राजनीतिमा एमाले सिंहको रूपमा स्थापित भएको बताउनुभयो । उहाँले एमालेको इतिहास, संगठन र जनसमर्थनका आधारमा अन्य कुनै दलले एमालेसंग प्रतिस्पर्धा गर्न नसक्ने भनाइ राख्नुभयो ।
राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष बस्नेतले भन्नुभयो– एउटै घाटमा स्याल, कुकुर, बिरालो सबै पानी खान आइरहेका छन् भने बुझ्नुपर्छ माथिल्लो घाटमा सिंह एक्लै पानी खाइरहेको छ र त्यहाँ कसैले पानी खान हिम्मत गरिरहेको छैन । नेकपा (एमाले) नेपाली कम्युनिस्ट आन्दोलनको त्यस्तै सिंह हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति राज्य संयन्त्र प्रयोग गरी गरिएको व्यवहारप्रति असन्तोष व्यक्त गर्दै युवा नेता बस्नेतले भन्नुभयो– एमालेका कुनै नेतामाथि बयानका नाममा दुःख दिने काम भयो भने पाँच हजार, दश हजार होइन, एक लाख युवाले सिंहदरबार घेराउ गर्ने छन् ।
पोलिटव्युरो सदस्य बस्नेतले एमालेविरुद्ध चलाइएका षड्यन्त्रहरू विफल हुने विश्वास व्यक्त गर्दै पार्टी संगठन झनै बलियो बन्दै गएको बताउनुभयो ।
‘अध्यक्ष ओलीलाई अध्यक्ष बनाउनु हुँदैन भन्नु राजनीतिक अपराध हो’, उहाँले भन्नुभयो । एमालेलाई कमजोर बनाउने विदेशी योजनामा एमालेका केही नेताले ओलीको विकल्प चाहे पनि आफूहरूले ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिने दृढता युवा नेता बस्नेतले व्यक्त गर्नुभयो ।