detail-img

अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैंमा हास्यास्पदः अध्यक्ष ओली

२७  कात्तिक (२०८२), भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन नसक्ने बताउनुभएको छ । 
भदौ २३ र २४ गतेको विध्वंशबाट गठन भएको गैह्र लोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिवद्धता खोज्नु नहुने उहाँले बताउनुभयो ।
नेकपा (एमाले) झापाका अगुवा कार्यकर्ताहरूलाई आज साँझ भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैंमा हास्यास्पद भएको बताउनुभयो ।
अध्यक्ष ओलीले सरकारले चुनाव गराउने भनेर घोषणा गरेको मिति अब चार महिना मात्र बाँकी रहेको तर नेताहरूलाई स्थान हद तोकेर चुनावको मञ्चन गर्नु जनता झुक्याउने खेल मात्र भएको बताउनुभयो । 
‘यो सरकार चुनाव गराउने भन्छ । नेताहरूलाई स्थान हद तोकेको छ । जिल्ला जान नपाउने, निर्वाचन क्षेत्र जान नपाउने, प्रचार गर्न नपाउने !?’ अध्यक्ष ओलीले सरकारप्रति आक्रोश पोख्दै प्रश्न गर्नुभयो– राजनीतिक दल र नेताहरूलाई यस प्रकारको अवरोध गरेर कस्तो प्रकारको चुनाव गर्न खोजिएको हो ?
जेनजीका नाममा एमालेमाथि भएको आक्रमण पार्टीले राष्ट्रियता, राष्ट्रहित, विकास र समृद्धिका काम गरेकोमा तिनलाई निस्तेज पार्ने प्रयास भएको उहाँले बताउनुभयो । यस प्रकारको आक्रमण रोक्न एमाले सक्षम रहेको भनाइ अध्यक्ष ओलीले राख्नुभयो । 
अध्यक्ष ओलीले समाजमा बढ्दै गएको अराजकतालाई रोक्न एमालेले टोलटोलमा टोल सुरक्षा समिति गठन गरिरहेको बताउनुभयो । यस्ता सुरक्षा समितिले आपराधिक गतिविधिको नियन्त्रण, त्यसमा संलग्नहरूलाई प्रहरीकहाँ बुझाउने र समुदायमा सुरक्षाको प्रत्याभूति दिने काम गर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले गैह्र संवैधानिक तरिकाबाट विघटन गरिएको प्रतिनिधि सभाको पुनस्र्थापनाका लागि व्यापक दबाब सिर्जना गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 
उहाँले प्रतिनिधि सभाको पुनस्र्थापनामार्फत लोकतान्त्रिक पद्धतिलाई सही बाटोमा ल्याइने बताउनुभयो । बैठकमा अध्यक्ष ओलीले कात्तिक २९ गतेको जागरण सभालाई झापामा भब्य रूपमा आयोजना गर्न निर्देशन दिनुभएको छ । उहाँले केन्द्रीय स्तरको जनपरिचालन कार्यक्रम सकिएपछि पनि जिल्लालाई अलग्गै आन्दोलनका कार्यक्रम बनाएर निरन्तरता दिन निर्देशन दिनुभएको छ ।
बैठकमा नेकपा (एमाले) झापाका अध्यक्ष प्रेमबहादुर गिरीले भदौ २३÷२४ को विध्वंश, आगजनी र तोडफोडपछिको अवस्थाका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो ।