-जनजागरण र जनसभामा देशभर उर्लिएको जनलहरबाट अहिलेको सरकार र यसका कदमलाई जनताले अस्वीकृत गरिसके
-अध्यक्ष ओलीको प्रश्नः न दलको न जेनजीको, यो सरकार कस्को हो ?
३० कात्तिक (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कस्को र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको टिमसँग आफ्नै निवास गुण्डुमा आज छलफल गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । उहाँले वर्तमान सरकार संविधानबाट पनि नबनेको, संसदबाट नबनेको, दलबाट नबनेको, जेनजीबाट नबनेकाले यो सरकार कस्को भन्ने प्रश्न गर्नुभएको छ ।
‘यो सरकार कसको प्रतिनिधि हो ? जेनजीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिन भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्थै छैन भन्छ’, अध्यक्ष ओलीले प्रश्न गर्नुभयो– आखिर यो सरकार कसको हो ?
बेवारिसे सरकारले तोडफोड र आगलागीमा संलग्नलाई कारबाही नगरेर दण्डहिनतालाई प्रश्रय दिएको उहाँले बताउनुभयो । यस प्रकारका अपराधी पक्राउ नपर्नु र निर्दोषलाई पक्रन, स्थान हद गर्न सरकार विभिन्न समूूहका नाममा माग पत्र, ज्ञापन पत्र बुझाउनुमा पनि सरकारकै हात रहेको अध्यक्ष ओलीको भनाइ छ ।
‘विभिन्न नामका समूह खडा गरेर कहिले २४ गतेका विध्वंसकारीलाई पक्रन हुँदैन भन्ने ज्ञापन पत्र बुझाउन लगाएको छ । कहिले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्यो भन्न लगाएको छ’ अध्यक्ष ओलीले भन्नुभयो– यो कुनै जेनजी समूहले गरेको होइन । सरकारले आफैं यस्ता समूहहरू खडा गरेर, आफैं ज्ञापन पत्रको ड्राफ्ट बनाएर बुझाउन लगाएको नाटक हो ।
यस्ता ड्राफ्ट कहाँ बने र कसले बनायो भन्ने कुराको अभिलेख पनि आफूहरूसँग रहेको उहाँले बताउनुभयो ।
गृहमन्त्रीले यस प्रकारका अपराधीलाई पक्राउ नगर्न निर्देशन दिनुले देशमा दण्डहिनतालाई प्रश्रय दिएको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले मुलुकको अनिश्चयलाई सही बाटोमा ल्याउन संसद पुनर्स्थापना एकमात्र विकल्प भएको बताउनुभयो । ‘असंवैधानिक र अनधिकृत रूपबाट विघटन गरिएको संसदलाई पुनर्स्थापना गरेर मात्र देशलाई सही बाटोमा हिडाउन सकिन्छ’ अध्यक्ष ओलीले भन्नुभयो– यदी यस्तै असंवैधानिक तरिकाले संसदलाई विघटन गर्दै जाने हो भने नजिर बस्छ । जसले देशलाई संवैधानिक बाटोमा फर्कन अवरोध गर्दछ । त्यसकारण यो कोर्स अहिले नै करेक्सन गर्नु पर्दछ ।
संसद विघटनलाई सिङ्गो देशले नै अस्वीकार गरेको उहाँले बताउनुभयो ।
‘अहिलेको संसद विघटनलाई सिङ्गो देशले अस्वीकार गरेको छ । सबै वडाहरूले अस्वीकार गरेका छन् । पालिकाहरूले अस्वीकार गरेका छन् । जिल्लाहरूले अस्वीकार गरेका छन्’ अध्यक्ष ओलीले भन्नुभयो– त्यसको प्रमाणको रुपमा एमाले वडामा उल्लेख्य जनताको सहभागितामा भएका भेला, पालिकाका जनप्रदर्शन र हिजो देशैभर भएका जनसभालाई हेर्न सकिन्छ । एमालेले सञ्चालन गरेका यी कार्यक्रममा ठूलो सङ्ख्यामा जनता उर्लिएर अहिलेको सरकार र यसका कदमलाई अस्वीकृत गरिसके ।
अध्यक्ष ओलीले वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई पञ्चायतकालीन अवस्थामा पुर्याएको बताउनुभयो । ‘पञ्चायतकालमा संविधानमा नै प्रेस स्वतन्त्रता थिएन । अहिले संविधानमा त प्रेस स्वतन्त्रता छ तर अहिले व्यवहारमा छैन’ प्रेस चौतारीको टिमसँग अध्यक्ष ओलीले भन्नुभयो– सेल्फ सेन्सरसीप लागु भएको छ । पत्रकारले आफूले देखेको, अनुसन्धान गरेका विषयहरू सहजै लेखेमा उनीहरूमा सरकारबाट खतरा छ । त्यसैले सेल्फ सेन्सरसीपको मार पत्रकारले खेपिरहेका छन् ।
छलफलमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले वर्तमन अवस्थामा सञ्चार माध्यमको अवस्था, पत्रकारप्रति बढेको सुरक्षा संवेदनशिलता र प्रेस चौतारीका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।