detail-img

एमाले देशलाई निकास दिने अभियानमाः महासचिव पोखरेल

३० कात्तिक (२०८२), दैलेख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले देशको राजनीतिक सङ्कटसँग जुध्न सक्षम पार्टी भएको बताउँदै पार्टीलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ । दैलेखको दुल्लूमा आइतबार जिल्ला कमिटीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले मुलुकलाई अस्थिरताबाट जोगाउन एमालेलाई ‘निर्णायक राष्ट्रिय शक्ति’का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । महासचिव पोखरेलले भदौ २३ र २४ गते देशका विभिन्न संवैधानिक निकायमा भएको तोडफोडलाई ‘राज्यलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र’का रूपमा चित्रण गर्नुभयो । उहाँले भन्नुभयो– सिंहदरबार, सर्वोच्च अदालतजस्ता संवैधानिक निकायमा आगो लगाउनु राष्ट्रविरुद्धको गम्भीर अपराध हो । हामी सङ्कटसँग भाग्ने होइन, त्यसको सामना गर्दै देशलाई निकास दिने अभियानमा अघि बढिरहेका छौँ । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई उच्च मनोबलका साथ जनतामाझ सक्रिय रहन अपिल गर्नुभयो । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री तथा पार्टीका पोलिट्ब्युरो सदस्य यामलाल कंडेलले मुलुकलाई दिगो स्थिरता दिन आउँदो निर्वाचनमा एमाले एक्लै बहुमतसहित अगाडि आउनुपर्ने धारणा राख्नुभयो । नेता कंडेलले भन्नुभयो– जनताको रोजाइमा पहिलो पार्टी एमाले नै हो । अब नेता–कार्यकर्ता सबै एकताबद्ध भएर अघि बढ्नु जरूरी छ । एमाले दैलेख जिल्ला कमिटीका अध्यक्ष सूर्यबहादुर शाहीले जेनजी आन्दोलनपछि बनेको सरकारले असंवैधानिक रूपमा विघटित प्रतिनिधि सभालाई पुनःस्थापना गरे मात्र मुलुकले मार्गनिर्देश पाउने धारणा राख्नुभयो । उहाँका अनुसार एमाले र जनता एक भएर अघि बढे मात्र देश सङ्कटमुक्त बन्न सक्छ । शाहीले कार्यकर्तालाई संगठन सुदृढीकरण र जनतासँग निरन्तर सम्पर्कमा रहन आग्रह गर्दै मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन सबैलाई सक्रिय हुन अपिल गर्नुभयो ।