detail-img

नेकपा एसको विराटनगर महानगर कमिटी एमालेमा समाहित

 १ मङ्सिर (२०८२), विराटनगर । नेकपा एकीकृत समाजवादी (एस) विराटनगर महानगर कमिटी नेकपा (एमाले)मा समाहित भएको छ ।  आज विराटनगरमा एमाले कोशी प्रदेश कमिटीको नवौं पूर्ण बैठकमा ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत नेकपा एसको सिङ्गो महानगर कमिटी एमालेमा समाहित भएको हो ।  नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जीवन घिमिरेले नेकपा एसको विराटनगर महानगर कमिटीसहित कोशी प्रदेश कमिटी र मोरङ जिल्ला कमिटीका नेताहरू एमालेमा समाहित भएको बताउनुभयो ।  एमालेमा समाहित हुनुभएका एसका कोशी प्रदेश कमिटी सचिवालय सदस्य डा. उद्धव पोखरेलले एमाले आफूहरूको समेत रगत र पसिना परेको घर भएकाले केही समय घर बाहिर रहे पनि पुनः घरमै फर्किएको बताउनुभयो । उहाँले नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार एमालेमा समाहित हुन पाउँदा खुसी लागेको बताउनुभयो ।  पार्टीमा समाहित भएका नेकपा एसका नेताकार्यकर्ताहरूलाई स्वागत गर्दै नेकपा (एमाले) कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पार्टीमा लामो समय खट्नुभएका नेताहरूलाई पार्टीमा उचित जिम्मेवारी दिइने बताउनुभयो । खतिवडाले अहिलेको परिदृश्यमा देशमा लोकतन्त्रलाई बलियो पार्न एमालेको विकल्प नरहेको प्रष्ट पार्नु भयो ।  घर फर्क अभियान अन्तर्गत एसका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र सिङ्गो महानगर कमिटी गरेर ८० भन्दा बढी नेताकार्यकर्ता एमालेमा समाहित भएको नेकपा (एमाले) महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो ।