detail-img

केन्द्रीय सदस्य स्व. गौतमको सम्मानमा श्रद्धाञ्जली सभा  

मजदुर नेता गौतमको निधनले पार्टी र मजदुरको क्षेत्रमा ठूलो क्षति 

१ मङ्सिर (२०८२), बुटवल । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)का उपाध्यक्ष स्व.कमल गौतमको सम्मान र स्मरणमा आज बुटवलमा श्रद्धाञ्जली सभाको आयोजना गरियो । 
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)द्वारा आयोजित श्रद्धाञ्जली सभामा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, उपमहासचिव तथा जिफन्टका संरक्षक विष्णु रिमाल, नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ लगायत नेताहरूले स्व. गौतमको तस्वीरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभयो । 
श्रद्धाञ्जली सभामा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले चौतर्फी घेराबन्दीमा परेको बेला हजारौं मजदुरका पक्षमा बोल्दै गर्दा मजदुर नेता गौतमको अकल्पनीय निधन भएको स्मरण गर्दै गौतम सरकारको गलत निर्णय सच्चाउने आन्दोलनको योद्धा भएको बताउनुभयो । 
स्व. गौतमले पार्टीपङ्क्ति र मजदुरको क्षेत्रमा निरन्तर प्रशंसनीय कार्य गरेको स्मरण गर्दै महासचिव पोखरेलले गौतमको सकारात्मक अभियानबाट प्रेरणा लिएर सङ्कल्प गर्नुपर्ने बेला आएको धारणा राख्नुभयो ।  
पार्टीको अहिलेको अभियानमा कमल गौतमजस्ता योद्धा अझै आवश्यक पर्ने अवस्थामा देश रहेको उल्लेख गर्दै महासचिव पोखरेलले मजदुर नेता गौतमको निधनले पार्टी र मजदुरको क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुभयो । 

स्व. गौतम आन्दोलनको पर्याय

कार्यक्रममा उपमहासचिव तथा जिफण्टका संरक्षक विष्णु रिमालले मजदुर नेता स्व. गौतमलाई आन्दोलनको पर्यायवाची नेताका रूपमा स्मरण गर्नुभयो । 
जहाँ पार्टी, संगठन र मजदुरलाई समस्या पर्छ, त्यहाँ पुगेर समस्या समाधान गर्ने नेताका रूपमा कमल गौतमलाई स्मरण गर्दै उपमहासचिव रिमालले जीवनभर मजदुर संगठन र पार्टीमा काम गरेका गौतमको जनप्रतिनिधि बन्ने चाहना पूरा हुन नपाएकोमा निकै पछुतो लागेको बताउनुभयो । 
उपमहासचिव रिमालले भन्नुभयो– मेरो लामो समयको सहकर्मी, सहयात्री नहुँदाको पीडा त भनिसाध्य छैन नै तर उहाँले एकपटक जनप्रतिनिधि बन्ने धोको सुनाए पनि अझै उमेर बाँकी छ भनेर रोकेको पीडा निकै बढी भएको छ, उहाँ कहिल्यै स्वार्थका लागि काम गर्नुभएन तर एकपटक यो धोको छ भनेको पूरा गर्न सकिएन, यो निकै चिन्ताको विषय हो ।  
मजदुर संगठनलाई महत्व दिन र आकर्षण गर्नको लागि गौतमको योगदान निकै रहेको उहाँले बताउनुभयो । रिक्सा चालक मजदुरलाई संगठित गर्ने कार्यमा गौतमले निक्कै मेहनत गर्नुभएको र असंगठित मजदुरको क्षेत्रमा बलियो आधार बनाउने काम गरेको उपमहासचिव रिमालले बताउनुभयो । 
मजदुर नेता गौतमले स्वदेशमा मात्रै नभई विदेशका कार्यक्रममा जाँदा त्यहाँका राजदूत तथा अन्य सरोकारवालालाई भेला पारेर मजदुरका विषयमा छलफल गराउने, समस्या भएका विषयमा समाधान खोज्ने कामहरू गरेर फर्केको उहाँले स्मरण गर्नुभयो ।
उपमहासचिव रिमालले संगठन र पार्टीलाई सङ्कट पर्दा सबैभन्दा बढी मजदुरलाई सङ्कट पर्ने बताउनुभएको छ । 

 जिफन्टले एउटा सफल योद्धा गुमायो
सभामा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले स्व.गौतमको जीवनीबारे जानकारी गराउनुभएको थियो । अध्यक्ष श्रेष्ठले गौतमसँगको सहकार्यका अनुभव मात्रै नभएर कठिन समयमा उहाँले पूरा गरेका विशेष जिम्मेवारी सुनाउँदा धेरैलाई भावुक बनाएको थियो । उपाध्यक्ष गौतमको निधनबाट जिफन्टले एउटा सफल योद्धा गुमाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 
एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरले पार्टी बलियो बनाउने काममा गौतमको भूमिका अतुलनीय रहेको बताउनुभयो । 
जीवनभर मजदुरको अधिकारका लागि सङ्घर्ष गरिरहेका गौतमको कात्तिक १३ गते मजदुरका विषयमा सम्बोधनकै क्रममा हृदयाघात भई ढलेर मृत्यु भएको थियो ।