३ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारले ‘लोकतान्त्रिक व्यवस्थामाथि नियोजित आक्रमण’ गरेको भन्दै कडा आपत्ति जनाउनुभएको छ ।
प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा युवा नेता बस्नेतले देशको वर्तमान अवस्था ‘अत्यन्त जटिल’ रहेको र अन्तर्राष्ट्रिय शक्तिहरूले नेपालमा हस्तक्षेप बढाएको भनाइ राख्नुुभयो ।
आफूलाई राष्ट्रवाद र विकासको पक्षमा उभिएको भनि हिँड्ने केही शक्ति पनि छद्मरूपमा लोकतन्त्र समाप्त पार्ने खेलमा सक्रिय रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेशको कार्यक्रममा सहभागी हुन बारा जान लाग्नुभएका पार्र्टी महासचिव शंकर पोखरेल तथा युवा नेता बस्नेतसहितका नेताहरू विमानस्थलतर्फ प्रस्थान गर्ने क्रममा जेनजी समूहका नाममा केही युवाले सिमरा विमानस्थलमा प्रदर्शन गरी काठमाडौँ–बारा उडान अवरुद्ध पारेपछि काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले अहिले अन्तर्राष्ट्रिय साम्राज्यवादीहरूले देशमा नङ्ग्रा गाड्न खोज्दै गरेको बताउनुभयो ।
जेनजी समूहका नाममा देशलाई अस्थिर बनाउने गतिविधि भइरहेको कुरा दैनिक घटनाक्रमले पुष्टि गर्दै गएको उहाँले बताउनुभयो ।
हिजो एमालेले यो कुरा गर्दा गाली गर्नेहरूले पनि दुई महिनाको बीचमा यो कुरा बुझेको उहाँको भनाइ छ ।
दुर्गा प्रसाईंलाई पक्राउ गरिएबाट सरकार अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध उभिएको पुष्टी हुने उहाँको भनाइ छ ।
सरकारको समग्र भूमिकामाथि प्रश्न उठाउँदै उहाँले हालको सरकारले आन्दोलनमा भएको आगजनी तथा तोडफोडका प्रमाण नष्ट गर्न खोजिरहेको बताउनुभयो । सरकारका प्रधानमन्त्री र मन्त्रीका व्यवहारबाट पीडित तथा घाइते परिवारहरू समेत असन्तुष्ट रहेका र दलीय व्यवस्थाको विकल्पका नाममा गैरदलीय निरङ्कुशता थोपर्ने खतरा बढेको युवा नेता बस्नेतको भनाइ छ ।
सरकारले जेनजी युवाका नाममा सिङ्गो देशलाई आतङ्कित बनाउने प्रयास गरिरहेको बताउँदै उहाँले प्रहरी प्रशासनको मनोबल अत्यन्त कमजोर रहेको टिप्पणी गर्नुभयो ।
सिमरा विमानस्थल बन्द हुनु २०–३० जनाको हल्लाले पनि महत्त्वपूर्ण संरचना ठप्प पार्ने स्थितिमा पुगेको उदाहरण रहेको बताउँदै बस्नेतले देशमा अन्यौलता र अस्थिरता बढाउने उद्देश्यले सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गरिएको दाबी गर्नुभयो ।
‘स्टण्टबाजी गरेर देश चलाउन खोज्ने प्रवृत्तिले राज्यलाई ध्वस्त पार्दैछ, त्यसैले अब संसद् पुनर्स्थापना हुनु आवश्यक छ’, पोलिटव्यूरो सदस्य बस्नेतले भन्नुभयो ।
देश जोगाउन ‘राष्ट्रिय सुरक्षा फोर्स’ गठन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले सबै मिलेर पार्टी बलियो बनाउनुपर्ने र यस पटक अध्यक्षमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने धारणा प्रस्तुत गर्नुभयो ।