detail-img

केन्द्रीय सचिवालयको ६०औं बैठकः महाधिवेशन भव्यरूपमा सम्पन्न गर्न विभिन्न १४ समिति गठन

–देशलाई निकास दिन प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भन्ने पार्टीको निष्कर्षलाई बारा घटनाले पुष्टि गरेको ठहर

–विभिन्न वामपन्थी समूहबाट पार्टीमा आबद्ध हुनुभएका व्यक्तिहरूमध्ये ती समूहका केन्द्रीय समितिमा रहेकाहरूलाई विशेष व्यवस्थाअन्तर्गत एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि कायम गर्ने ।

 

४ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको आज बसेको बैठकबाट पार्टीको ११औं राष्ट्रिय महाधिवेशन भव्यरूपमा सम्पन्न गर्नका लागि विभिन्न १४ वटा समिति गठन गरिएको छ । 
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी कार्यालय, च्यासलमा बसेको केन्द्रीय सचिवालयको ६०औं बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा पनि छलफल भएको छ । 
देशलाई निकास दिन प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भन्ने पार्टीको निष्कर्षलाई बारा घटनाले पुष्टि गरेको ठहर बैठकले गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । 

बैठकले महाधिवेशनको सचिवालय व्यवस्थापनका लागि महासचिव शंकर पोखरेल संयोजक रहेको समिति गठन गरेको छ । जसको सचिवमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव योगेश भट्टराई सदस्य रहनुभएको छ । यस समितिमा अन्य समितिका संयोजकहरू र सूचना प्रविधि टिमका संयोजक पनि सदस्यका रूपमा रहनुभएको छ । 
त्यसैगरी, प्रतिनिधि व्यवस्थापन समितिमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी संयोजक र सचिव माधव ढुंगेल सचिव रहनुभएको छ । सो उपसमितिका सदस्यहरूमा केन्द्रीय संगठन विभागका सबै सदस्यहरू रहनुभएको छ भने कार्ड व्यवस्थापनका लागि आवश्यक प्राविधिकहरू महेन्द्र श्रेष्ठ र किरण माली सदस्य रहनुभएको छ । 
महाधिवेशनमा जनपरिचालनका लागि उपमहासचिव प्रदीप ज्ञवाली संयोजक र बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराई सचिव रहनुभएको समिति बनाइएको छ । यस समितिका सदस्यहरूमा गण्डकी र मधेस प्रदेशका इन्चार्ज, उपत्यका विशेष र सम्पर्क समन्वय कमिटी, बाग्मती, गण्डकी, मधेस प्रदेश कमिटी अध्यक्षहरू, उपत्यका विशेष प्रदेश अध्यक्ष र सम्पर्क समन्वय कमिटी संयोजक, बाग्मती प्रदेश अन्तर्गतका जिल्लाका इन्चार्जहरू र जिल्ला अध्यक्षहरू, उपत्यका विशेष अन्तर्गतका जिल्लाका अध्यक्षहरू, पार्टी सम्बद्ध जनसंगठनहरू रहेका छन् । 
आवास व्यवस्थापनका लागि सचिव छविलाल विश्वकर्मा संयोजक र स्थायी कमिटी सदस्य लालबाबु पण्डित सचिव रहनुभएको समिति बनाइएको छ । यस समितिका सदस्यहरूमा सम्पर्क समन्वय कमिटी इन्चार्ज र पदाधिकारीहरू हुनुहुन्छ । 
यस्तै खाद्य व्यवस्थापन समितिको संयोजकमा सचिव लेखराज भट्ट संयोजक र कार्यालय सचिव डा. भीष्म अधिकारी सचिव रहनुभएको छ ।  सदस्यहरूमा उपत्यका विशेष प्रदेश कमिटीका इन्चार्ज, अध्यक्ष र पदाधिकारीहरू रहनुभएको छ । 
यातायात व्यवस्थापन समितिको संयोजकमा सचिव गोकर्ण विष्ट  र सचिवमा केन्द्रीय सदस्य रचना खड्का रहनुभएको छ । यस समितिका सदस्यहरूमा उद्योग व्यवसायी महासंघका अध्यक्ष, यातायात सम्बद्ध व्यवसायी संगठन र ट्रेड युनियनका पदाधिकारीहरूलाई राखिएको छ । 
सचिव रघुवीर महासेठ संयोजक र विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला सचिव रहनुभएको अतिथि सत्कार समिति गठन भएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । यस समितिमा मुख्यमन्त्रीहरू यामलाल कंडेल, हिक्मत कार्की, चेतनारायण आचार्य, राष्ट्रिय सभाका सदस्यहरू देवेन्द्र दाहाल, सोनाम ग्याल्जेन शेर्पा, गोपाल भट्टराई र डा. अन्जान शाक्य, महानगरका उपमेयरहरू सुनिता डङ्गोल र मञ्जली शाक्य अन्य पूर्व सांसदहरू शान्ता चौधरी, कोमल वली,  सुनिता वरालसहित विदेश विभागका आवश्यक सदस्यहरू रहनुभएको छ ।
यस्तै स्थायी कमिटी सदस्य भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव रहेको स्वयंसेवक परिचालन समिति गठन गरिएको छ । समितिमा तोकिएको भूतपूर्व सैनिक–प्रहरी, युवा, विद्यार्थी, खेलकुद, महिला, ट्रेडयुनियन आदिबाट प्रतिनिधित्व गर्ने सदस्यहरू रहनुहुने छ ।  
सचिव पद्मा अर्याल संयोजक र केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम सचिव रहेको प्रचार समिति गठन गरिएको छ । सदस्यहरूमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेसहित पदाधिकारीहरू, गणेश बस्नेत, श्रीधर आचार्य, राजेन्द्र  अर्याल, विश्वमणि सुवेदी रहनुभएको छ । 
पार्टीका पोलिटव्यूरो सदस्य विनोद श्रेष्ठ संयोजक र लोकबहादुर भण्डारी सचिव रहेको मञ्च व्यवस्थापन समिति गठन भएको छ । यस समितिमा आवश्यक प्राविधिक जनशक्ति सदस्य रहने व्यवस्था गरिएको छ । 
यस्तै, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ संयोजक र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष सचिव रहनुभएको स्वास्थ्य समिति, उपमहासचिव विष्णु रिमाल संयोजक र केन्द्रीय सदस्य विना श्रेष्ठ सचिव रहनुभएको आर्थिक समिति बनाइएको छ । 
यसैगरी, जनसाँस्कृतिक महासंघका अध्यक्ष भूमिका सुब्बा सचिव र महासंघका इन्चार्ज, पदाधिकारी र केन्द्रीय संस्कृति विभागका सचिव सदस्य रहेको सांस्कृतिक समिति गठन गरिएको छ । 
बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा संयोजक रहनुभएको निर्वाचन संयोजन समिति गठन गरेको छ । निर्वाचन समितिमा केन्द्रीय निर्वाचन आयोगले तोकेका निर्वाचन अधिकृतहरू र आईटी टिमले तोकेका प्राविधिक प्रतिनिधिहरूलाई सदस्य राखिएको छ ।
बैठकले महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी संशोधन प्रस्ताव पारित गरेको छ । 
प्रस्ताव यस प्रकार छः
क)     आम पार्टी सदस्यबाट निर्वाचित हुने भूगोल, दलित, उपत्यका विशेष र सम्पर्क समन्वय अन्तर्गतका निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा शेष सङ्ख्या पचास प्रतिशतभन्दा बढी भएमा थप एक जना प्रतिनिधि चयन गर्ने ।
ख) प्रवासी नेपाली संघ भारत र प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीबाट प्रदेश कमिटीसरह कम्तीमा दुई महिलासहित पाँचजना चयन गर्ने ।
ग) उपत्यका विशेष र सम्पर्क समन्वय अन्तर्गतका जिल्ला कमिटीहरूमा पनि भौगोलिक जिल्ला कमिटीसरह १२०० भित्र ४० वर्ष मुनिका युवाहरू चयन गर्ने । 
यसरी चयन गरिएका प्रतिनिधिहरूको नामावली तोकिएको ढाँचामा मङ्सिर १५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउनुपर्ने छ । प्रतिनिधि विवरण दर्ता गर्दा तोकिएको शुल्क पदेन प्रतिनिधिको लागि ३००० रुपैयाँ र निर्वाचित प्रतिनिधिको लागि २००० रुपैयाँ समेत बुझाउनुपर्ने छ ।
घ) प्रतिगमनकारी षड्यन्त्रका विरुद्धको जनशक्ति प्रदर्शनको योजनासहित आम जनताको सहभागितामा भव्य उद्घाटन समारोह आयोजना गरिएको हुँदा पार्टी सदस्यहरू र आम जनताको सहभागिताका लागि सम्बन्धित जिल्ला र पालिका कमिटीहरूले विशेष कार्ययोजना बनाउने र त्यसको जानकारी केन्द्रीय कार्यालयमा गराउने ।
ङ) घरफिर्ती अभियानअन्तर्गत विभिन्न वामपन्थी समूहबाट पार्टीमा आबद्ध हुनुभएका व्यक्तिहरूमध्ये ती समूहका केन्द्रीय समितिमा रहेकाहरूलाई विशेष व्यवस्थाअन्तर्गत एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि कायम गर्ने ।