detail-img

एमाले चुनाव वा सरकारमा मात्र सीमित छैनः अध्यक्ष ओली

१६ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको राजनीति केवल सत्ता र चुनावमा केन्द्रित नभई मानव जाति, वातावरण र समग्र इको–सिस्टमको संरक्षणमा उन्मुख रहेको बताउनुभएको छ । 
नेकपा (एमाले)को वन तथा वातावरण विभागले आयोजना गरेको वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा अध्यक्ष ओलीले वातावरण, वन, वन्यजन्तु र प्रकृतिमा निर्भर जीव–जन्तुप्रति एमाले दृढ रहेको बताउनुभयो । 
‘हाम्रो पहिलो निष्ठा देशवासी र मानव जातिप्रति हो, हामी केवल चुनाव वा सरकारमा मात्र सीमित छैनौँ, मानव जातिलाई आवश्यक सबै पक्षप्रति हाम्रो गम्भीर ध्यान छ’, उहाँले भन्नुभयो । 
नेपालको भूभागको ठुलो हिस्सा वन क्षेत्रले ढाकिएको जनाउँदै अध्यक्ष ओलीले वन्यजन्तुको दिगो व्यवस्थापनका लागि क्षमता अनुसार संरक्षण नीति अघि सारिनुपर्ने विचार व्यक्त गर्नुभयो । ‘हाम्रा वनले धान्ने सङ्ख्यामा मात्रै बाघ पाल्नुपर्छ, हौसिने काम गर्नुहुँदैन, हौसियो भने बाघले मान्छे गन्दैन’, उहाँले भन्नुभयो । 
वातावरणीय असन्तुलन तथा जलवायु अन्यायको प्रसङ्ग उठाउँदै अध्यक्ष ओलीले वातावरण जोगाउने मुलुकले भोगिरहेको आर्थिक बोझ र प्रदूषण फैलाउने मुलुकहरूले पाएको फाइदा अन्यायपूर्ण रहेको टिप्पणी गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– हामी वातावरण जोगाइरहेका छौँ, तर गरिबी बोकेका छौँ, हामीले तेल किनेर चलाउनुपर्छ, वातावरण बिगार्नेले अक्सिजन सित्तैमा पाउने यो मुलुकका लागि न्याय होइन ।
फरक प्रसङ्गमा नेपाली जनतालाई झुक्याउनेहरूको रजगज चलेको उहाँले बताउनुभयो । वातावरण सच्याउनको लागि सबैभन्दा पहिला राजनीतिको मुहान सच्याउनुपर्ने उहाँको धारणा छ । अहिले राजनीति नै फोहोर भएकाले सबैभन्दा पहिला त्यसलाई सच्याउनेपर्ने अध्यक्ष ओलीले बताउनुभयो । ‘हिप्पोक्रेसीको कस्तो जमाना छ ओ हो उज्यालो नेपाल, सिम्बोल पनि चिम राख्ने, फ्युज गएको चिम, कति साह्रो नेपाली जनतालाई झुक्क्याएको ?’, उहाँले भन्नुभयो । आगजनी, वितण्डा, राष्ट्रिय क्षतिलाई आन्दोलन भन्दै केही मानिसहरूले राज गरिरहेको अध्यक्ष ओलीले बताउनुभयो । आफ्नो स्वार्थको लागि आगजनी, तोडफोड वितण्डाको महिमा गाउने काम भएको उहाँले प्रष्ट पार्नुभयो । अहिलेका क्रियाकलाप लोकतन्त्रलाई मास्ने क्रियाकलाप भएको उहाँको धारणा छ । 
अवैध र अनधिकृत रूपमा सिफारिस गरिएको संसद् विघटनविरुद्ध बोल्न नसक्ने हो भने नेपाली डिक्सनेरीबाट सत्य भन्ने शब्द डिलिट गर्दिए हुने अध्यक्ष ओलीको तर्क छ । 
अदालतबाट पनि मान्छे र पार्टी हेरेर फैसला गर्ने परिपाटी बसेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । मधेस प्रदेश सरकारबारे सर्वोच्च अदालतले दिएको परमादेशप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले अदालतले आफ्नो र संविधानको मर्यादा राखेर फैसला गर्नुपर्ने बताउनुभयो ।  
‘कानुन हेरेर होइन, मान्छे र पार्टी हेरेर फैसला गर्ने अदालतको समेत परिपाटी बसेको छ, संविधानले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भनेको छ, एक महिना पुग्न चार दिन बाँकी होला, सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिनू भन्छ, म सुन्दा आश्चर्य चकित भएँ, चार दिनपछि त एक महिना पुग्छ, तीन दिन अगाडि तान्नको लागि संविधान विपरीत आदेश दिन्छ’, उहाँले भन्नुभयो ।

महाधिवेशन उद्घाटन सभा उत्सव र  प्रतिगमन विरुद्ध सङ्घर्षको  उत्कर्ष  
कार्यक्रममा महासचिव शंकर पोखरेलले पार्टीको ११औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई प्रतिगमन विरुद्ध सङ्घर्षको उत्कर्ष र उत्सवको रूपमा मनाउन चाहेको बताउनुभयो । 
महासचिव पोखरेलले सो उद्घाटन सभामार्फत एमालेले ठूला दलहरूको पक्षमै जनमत छ भन्ने सन्देश दिन चाहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सभामा जनता, लोकतन्त्र र देशभक्तिको पक्षमा रहेकाहरू सबै उपस्थित हुने विश्वास समेत व्यक्त गर्नुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– हाम्रो पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुर सल्लाघारीको तीनकुने चौरमा नेपालको इतिहासकै सर्वाधिक जमघट भएको समारोहको रूपमा आयोजना गर्न चाहन्छौँ । वास्तवमा नेपालका प्रमुख दलहरूसँग जनता छ कि छैनन् भन्ने कुराको सन्देश हामी त्यो सभाको माध्यामबाट दिन चाहन्छौँ । त्यो प्रतिगमन विरुद्धको सङ्घर्षको पनि उत्कर्ष हुनेछ । र, त्यो हाम्रो पार्टी जीवनको एउटा उत्सव हुनेछ । सङ्घर्ष र उत्सवको एउटा क्लाईमेक्सको रूपमा त्यो सभालाई हामीले बनाउन खोजिराखेका छौँ ।
एमालेले मुलुकलाई लोकतान्त्रिक लयमा फर्काउन नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य किरण गुरुङ लगायत नेताहरूले समसामयिक राजनीति र पुस्तकको समीक्षा लगायत विषयमा बोल्नुभएको थियो ।