detail-img

‘गठबन्धनले अमेरिका र चीनको लडाईंमा नेपाललाई मैदान बनाउँदैछ’


काभ्रे । नेकपा (एमाले)  काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ । 
नेकपा (एमाले) काभ्रे जिल्ला कमिटीद्वारा शनिबार जिल्लास्तरीय अगुवा कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा एमालेका सचिव योगेश भट्टराईले गठबन्धनका कारण मुलुकमा अस्थिरता र सङ्कट उत्पन्न भएको बताउँदै आगामी निर्वाचनबाट गठबन्धनलाई परास्त गरी मुलुकको समृद्धिको यात्रालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । 
‘गठबन्धन नेतृत्वको सरकार र दलहरू मुलुकमा अस्थिरता निम्त्याउँदै सद्भाव भड्काउन खोजिरहेका छन्,’ सचिव  भट्टराईले भन्नुभयो–‘एमाले जातीय, क्षेत्रीय र सामाजिक सद्भाव कायम राख्न निरन्तर सक्रिय छ ।’ 
नेपालमा सद्भाव भड्काउन गठबन्धनको बलमा विदेशी शक्तिहरू समेत सक्रिय भएको नेता भट्टराईले बताउनुभयो । ‘शेरबहादुर देउवा नेतृत्वको सरकार अमेरिका र चीनको  लडाईंमा नेपालको भूमि मैदान बनाउन दिँदैछ,’सचिव भट्टराईले भन्नुभयो–‘असंलग्न राष्ट्रको सिद्धान्त विर्सेर नेपाललाई लडाईंको केन्द्र बनाउने गठबन्धन सरकारको योजना नेपाली जनताले आगामी मंसिरको निर्वाचनबाट परास्त गर्नुपर्छ ।’ 
नेता भट्टराईले ३३ सिटमा झरेको, बुढानिलकण्ठमा ¥याल चुहाएर बसेको, प्रतिस्पर्धाबाट भागिसकेको काँग्रेसलाई सत्ता सुम्पन्न प्रचण्ड र माधव नेपालले गरेको गलत क्रियाकलापको आफू साक्षी बस्न नसकेको बताउनुभयो । 
‘समाजवादमा जाने मुखले भन्दैमा सम्भव छैन, त्यसका लागि असल चालक आवश्यक छ, प्यासेन्जर बस्ने सिटमा बसेर समाजवादको यात्रा तय हुन सक्दैन’सचिव भट्टराईले भन्नुभयो–‘समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् । काँग्रेस र कम्युनिष्टको जाने बाटो फरक छ । फरक बाटो हिड्नेहरूसँग काँध मिलाएर प्रचण्ड र माधव नेपाल समाजवादको बाटोमा पुग्न सक्दैनन् ।’ 
कार्यक्रममा जनताको बहुदलीय जनवादको मान्यता अनुरुप पार्टी संगठन निर्माणका सन्दर्भमा स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश कमिटीका इन्चार्ज काशिनाथ अधिकारीले प्रशिक्षण दिनुभएको थियो । पोलिटब्यूरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाले निर्वाचनमा पार्टीको भूमिकाका सन्दर्भमा प्रशिक्षण दिनुभएको थियो । बाग्मती प्रदेश कमिटी सचिव विजय सुवेदीले प्रदेशका समग्र जिल्लामा पार्टीका प्रशिक्षण र भेला तथा तयारीका बारेमा जानकारी गराउनुभएको थियो । एमाले अध्यक्ष अशोक ब्याञ्जुले काभ्रे जिल्लाको समग्र परिस्थिति र अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । 
कार्यक्रममा जिल्लाका छसय भन्दा धेरै अगुवा कार्यकर्ता सहभागी थिए । एमालेले भदौ १५ अगावै सबै संगठित सदस्यको सदस्यता नवीकरणको अभियान जारी राखेको छ भने सबै जनवर्गीय संगठन, गाउँ तथा नगर कमिटी र वडा कमिटीको बैठक तथा चुनावी तयारी गर्न परिपत्र गरिसकेको छ ।