detail-img

 ‘देश पछाडि धकेलिएको छ, फेरि अगाडि बढाउनु ११औं महाधिवेशनको अभिभारा हो’


केपी शर्मा ओली, अध्यक्ष, नेकपा (एमाले)

 -विशेष अन्तर्वार्ता-
-ओलीबिनाको एमाले नारा जो विरोधीहरूले लगाइराख्या थिए । त्यही नाराको झन्डा एमालेको रिङभित्र छिराउनु र त्यो उठाएर कुद्नु भनेको अलि अस्वाभाविक हो ।
- केपी ओली सर्वसम्मत, सर्वस्वीकार्य छैन भन्नका लागि उम्मेदवारी दिने हो, जित्ने सम्भावना छैन भन्ने सबैलाई थाहा छ । ईश्वर पोखरेल लगायतले ‘पार्टी फुटाइन्न पार्टीभित्रै जुन ठाउँमा भए पनि बसिन्छ’ भन्नुभएको छ, म त्यो कुरालाई विश्वास गर्छु । 
- ११औं महाधिवेशन एकताको महाधिवेशन हुनेछ, नेतृत्वमा हस्तान्तरण, पुस्तान्तरण सबै हुन्छ ।
-वर्तमान सरकार प्रतिगमनलाई कायम राखेर लोकतन्त्र र बहुदलीय व्यवस्था, दलीय व्यवस्थातर्फ जान नदिने कुरातिर बढी सङ्कल्पित देखिन्छ ।
- यस्ता सरकारले दुनियाँमा कहीँ पनि चुनाव गराएका छैनन्, यो सरकार  पनि चुनाव गराउन वातावरण बनाउनेतिर होइन, कसरी निर्दोष मान्छेलाई दोषी करार गर्ने, कसरी नेता फसाउने भन्नेमा लागेको छ । 

 

  • देशमा लोकतन्त्र छ तर नेताहरूलाई स्थान–हद गरिएको छ । बहुदलीय व्यवस्था छ तर दलविहीनको सरकार छ । यही  विशेष परिस्थितिका बीच नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन हुँदैछ । यो महाधिवेशनले दिने सन्देश के हुन्छ ?
    अहिले लोकतान्त्रिक प्रणाली घाइते छ । एक ढङ्गले भन्ने हो भने त्यो मासिएको पनि छैन तर क्रियाशील पनि रहेको अवस्था छैन । बहुदलीय व्यवस्था छ, दलविरोधी सरकार छ । बहुदल विरोधी सरकार छ । लोकतन्त्र विरोधी सरकार छ । संविधान विरोधी सरकार छ । संविधानभन्दा बाहिरबाट बनेको सरकार छ । र एउटा अत्यन्तै अप्रिय, अलोकतान्त्रिक, असंवैधानिक, अमानवीय, असामाजिक क्रियाकलाप, तोडफोड, आगजनी र लुटपाटका घटनाहरूको श्रृङ्खलाबाट त्यसलाई दुरुपयोग गरेर, त्यस परिस्थितिको अनुचित दोहन गरेर, आम नागरिकमा एउटा भयको वातावरण सिर्जना गरेर र त्यो भयलाई दोहन गरेर अत्यन्तै कृत्रिम सरकार आश्चर्यजनक ढङ्गले जडान गरिएको छ ।
    अहिलेको अवस्था यो हो, संविधान मिचिएको छ । संविधान जीवित छ भनिन्छ तर संविधान मिचिएको छ । अदालत मानिँदैन । अदालत आफैंले नोटिसमा लिएर अदालतलाई अस्वीकार गरेको कुरामा कदम चाल्नुपर्ने परिस्थिति छ तर अदालत आफैं शर्माएको हो कि जस्तो लाग्छ । यति साह्रो हदमा के कारबाहीको कुरा गर्ने होला भनेर आफंै असहज मानेको हो कि जस्तो लाग्छ ।
    यस्तो अवस्थामा सरकार प्रतिशोध, पूर्वाग्रह र आवेश, उत्तेजनामा काम गरिरहेको छ । र, ऊ प्रतिगमनलाई कायम राख्ने कुरामा, लोकतन्त्रतर्फ, बहुदलीय व्यवस्थातर्फ, दलीय व्यवस्थातर्फ जान नदिने कुरातर्फ बढी सङ्कल्पित देखिन्छ ।
    यतिबेला यस परिस्थिति र अवस्थाबाट देशलाई लोकतान्त्रिक प्रणालीतर्फ, खुलस्त रूपमा संविधानको कार्यान्वयनतर्फ, खुलस्त रूपमा दलीय प्रणालीतर्फ, दलहरूको भूमिका र गतिविधिलाई महत्त्व दिनेतर्फ फर्काउनुपर्नेछ । जनता भित्रभित्रै आतङ्कित छन् । त्यो आतङ्क, भय, त्रासबाट जनतालाई मुक्त गर्नुपर्नेछ ।
    उद्यमी व्यवसायीहरू, उद्यम किन खोल्ने ? खोल्यो सरकारले नै सुरक्षा दिन सक्दोरहेनछ या दिँदोरहेनछ । त्यसो भएर एउटा निराश मनस्थितिमा छन् । लगानी कसरी गर्ने त अब ? किन गर्ने त अब ?
    उद्योगहरूमा भएको आगजनीबाट बेरोजगारीको स्थिति । लुटपाट, तोडफोड, आगजनीबाट बेरोजगारीको स्थिति बढेको छ । रोजगार भएका मान्छेहरू बेरोजगार भएका छन् । यस्तो अवस्थामा यस अवस्थालाई फेर्नुपर्नेछ र यस अवस्थामा फेर्नका लागि हामी नेपाली जनता अग्रसर हुनुपर्नेछ, राजनीतिक दलहरू अग्रसर हुनुपर्नेछ, जो राजनीतिक दलहरू साँच्चैका राजनीतिक दल हुन् । जो राजनीतिका नाउँमा अरूद्वारा खेल्नका लागि जडान गरिएका दल होइनन् । त्यस्ता दलहरू लोकतन्त्रको पक्षमा उभिनुपर्ने अवस्था छ ।
    देशको सार्वभौमसत्ता खतरामा छ । देशको भविष्य के हुने हो ? एउटा अन्यौल सिर्जना भएको छ । त्यसलाई सुदृढ प्रत्याभूति, नेपालको अस्तित्व कुनै प्रकारको चुनौतीको घेरामा छैन । नेपालको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डतामा कुनै प्रकारको प्रश्न उठ्नसक्ने अवस्था छैन भन्ने राष्ट्रिय आत्मविश्वासको अवस्थामा फर्काउनु छ ।
    यो काम कसले गर्न सक्छ त ? भन्दा नेपाली जनताले नै गर्नुपर्छ । जनतालाई संगठित गर्ने, सचेत गर्ने, यी कुरा बुझाउने कामको अगुवाइ राजनीतिक दलहरूले गर्नुपर्दछ । राजनीतिक दलहरूमा जो यो गर्न, यो काम गर्न, यो राजनीति बुझ्न सक्षम छन् र यसलाई यस काममा जनतालाई नेतृत्व गर्न सक्षम छन्, ती दलहरू अगाडि आउनुपर्छ । यसमा अरूको बारेमा म केही भन्दिनँ । नेकपा (एमाले) यो कुरा बुझ्न सक्षम छ र सचेत छ । त्यसकारण यसलाई कार्यान्वयन गर्न दृढ सङ्कल्पित पनि छ । यसर्थ नेकपा (एमाले) अग्रसर हुनुपर्दछ । यो ११औँ महाधिवेशन यी सबै कुराहरूलाई ध्यानमा राखेर अगाडि बढ्छ ।
    यो परिस्थितिबाट देशलाई बाहिर निकाल्नैपर्ने छ । र यस कुराका लागि नेपाली जनता, नेपाली जनतालाई नेतृत्व गर्ने राजनीतिक दल, राजनीतिक दलहरूमा पनि स्पष्ट दृष्टिकोण भएको, दृढता भएको राजनीतिक दल नेकपा (एमाले) को महाधिवेशनले राष्ट्रियताको रक्षा, शान्तिको पुनस्र्थापना, भयपूर्ण वातावरणलाई निर्भय वातावरणमा बदल्ने कुरा र देशमा भ्रष्टाचारको नियन्त्रण, उन्मूलन र सुशासन कायम गर्ने कुरा, विकासको बाटोमा देशलाई तीब्रतर ढङ्गले अगाडि बढाउने कुरा जसबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्नेछ । यस दिशामा लान सक्ने राष्ट्रिय शक्ति भनेको नेकपा (एमाले) हो । नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने उद्देश्यका साथ यो महाधिवेशन आयोजना भइरहेको छ । र, त्यस दिशामा अगाडि बढाउन आगामी दिनको सन्दर्भमा पनि नेकपा (एमाले)लाई राष्ट्रिय निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने जसले त्यस अनुसारको नेतृत्वदायी भूमिका देशमा खेल्न सक्दछ । यी प्रयोजनहरूलाई स्पष्ट पार्न र यिनको तयारी र यिनको नेतृत्वको तयारीका लागि यो ११औँ महाधिवेशन बनेको छ, आयोजना हुँदैछ ।
    यसले दिने मुख्य सन्देश यतिबेला अहिलेको यो जुन तथाकथित परिवर्तन भनिएको छ, यो पश्चगमन हो । यो प्रतिगमन हो । देश अगाडि बढेको छैन । देश पछाडि धकेलिएको छ, धकेलाइएको छ । यसलाई फेरि अगाडि बढाउनु छ भनेर मैले अघि नै भनिसकेँ । यो कुरामा नेकपा (एमाले) सक्षम छ । त्यसैगरी हाम्रो २७ गतेको उद्घाटन समारोह पनि त्यही हिसाबमा आयोजना हुनेछ । बन्द सत्र पनि त्यसैगरी हुनेछ । यसले मुख्यगरी नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा अगाडि बढाउन, विकास गर्नका लागि नेतृत्व गर्नुपर्छ । देशव्यापी रूपमा अनेक क्षेत्रमा । त्यसका लागि नेतृत्वको एउटा टिम तयार गर्दछ । र, त्यो सक्षम टिमले यी अभिभाराहरू पूरा गर्ने छ ।
  • भक्तपुर तीनकुने सल्लाघारीमा उद्घाटन हुने ११औं महाधिवेशनलाई निक्कै महत्व दिएको देखिन्छ । के यो नारायणी किनारामा भएको १०औं महाधिवेशनमा भन्दा बढी जनसागर आउने हो ?
    तयारीका हिसाबले उस्तै हो । तर हामीले विश्वास लिएका छौँ यसमा जनसहभागिताको हिसाबले अझ बढी होला । र, अहिले भय र त्रासको जुन वातावरण छ, त्यतिबेला त्यस्तो थिएन । त्यतिबेला संविधान थिचिएको, मिचिएको अवस्था थिएन । लोकतन्त्र मिचिएको थिएन र असंवैधानिक ढङ्गले अनधिकृत सिफारिसमा संसद्, प्रतिनिधिसभा विघटन भएको पनि थिएन । त्यो परिस्थिति अलि फरक परिस्थिति थियो र त्यसका अभिभारा अलिक सजिला थिए । अहिलेको अभिभारा मुलुकलाई पछाडि फर्काइएको छ, पछाडि फर्काइएको ठाउँबाट फेरि अगाडि बढाउनुपर्ने छ ।
    त्यसकारण त्यतिबेला त्यस प्रकारका सङ्घर्ष र प्रतिक्रियावादी शक्तिहरूबाट व्यवधान हुने चुनौतीहरू थिएनन् । अहिले व्यवधानका चुनौतीहरू छन् । त्यतिबेला अहिले जस्तो व्यापक रूपमा घेराबन्दी थिएन । यद्यपि घेराबन्दी त थियो नै । आफ्नै पार्टीभित्रबाट नै दुईतिहाइको कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने पुच्छरहरूको जन्म त भएकै थियो । ती त खेलाइएकै थिए, ती तत्वहरू त ।
  • ११औं महाधिवेशनको उद्घाटन समारोहबाटै नयाँ सन्देश दिन खोज्नुभएको हो ? 
    उद्घाटन समारोह अत्यन्त भव्य हुने छ । उद्घाटनस्थल विशाल मैदान छ । त्यो विशाल मैदानमा नअटेर पोखिने छ । र, दशौँ महाधिवेशनमा जस्तै कतिपय व्यक्तिहरू आई नपुग्ने खतरा छ र कतिपय बीचमा रोक्किने खतरा पनि उत्तिकै छ । यो जब जनसहभागिता ज्यादै व्यापक हुन्छ, त्यसमा अलिकति अस्तव्यस्तता जस्तो कुरा स्वाभाविक हो । सबैभन्दा ठूलो सहभागिता उपस्थिति सायद काठमाडौं उपत्यकाले देखेको यही हुने छ । अलिकति यो दुर्गम ठाउँमा परेको जस्तो छ । अलिकति उल्टो, कोल्टो परेको ठाउँ परेको छ । काठमाडौंमा एमालेको महाधिवेशन गर्नलाई हामीले कुनै ठाउँ पाएनौँ । हामीलाई ठूलो ठाउँ नै चाहियो र छान्न पर्ने अवस्था भयो । काठमाडौंमा अलिकति राम्रो सभा गर्नुपर्यो भने, जनसभा गर्नुपर्यो भने त्यस्तो ठाउँ मासिएको छ । त्यस्तो ठाउँ कहिँ पनि छैन । अब एउटा टुँडिखेल छ । त्यसमा अलिकति आर्मीले लिएको छ । अरू ठाउँहरू पोलिटिकल पार्टीहरूले प्रयोग नगर्ने भनिएको छ । त्यसकारण पोलिटिकल पार्टीहरूले त्यसलाई प्रयोग गर्दाखेरि त्यो अब अरू विभिन्न समुदायका सम्प्रदायका संघसंस्थाहरूलाई, अरू प्रयोजनका लागि दिने गरिएको छ । पोलिटिकल पार्टीलाई त्यो अहिलेसम्म दिने गरिएको छैन । त्यो त्यसै गरेर कायम रहनु पनि जायज छ ।  अब खुल्ला मैदान भएपछि सामान्यतया सभाहरू गर्न सकिन्छ । तर हामीले गर्न खोजेको सभा  त्योभन्दा चार गुणा ठूलो ठाउँ पनि सानै हुन्छ । त्यसकारण अहिलेको ठाउँ अलिकति उपयुक्त ठाउँ हो । यो ठाउँ पनि साँगुरो हुने छ, सानो हुने छ । त्यस प्रकारको जनसहभागिता हुन्छ । र, यसमा जनता अत्यन्त उल्लासका साथ, झाँकीहरूका साथ, बाजागाजा नृत्यहरूका साथ त्यस ढङ्गले स्वतःस्फूर्त रूपमा जनपरिचालन यसमा हुने छ ।
  • अघिल्लो महाधिवेशन र यो महाधिवेशनसम्म आइपुग्दा यो बीचमा भएका परिवर्तनहरूलाई एमालेले कसरी विश्लेषण गरेको छ ?
    भदौ २३ र २४ को प्रतिगामी परिवर्तन, आगजनी, तोडफोड, लुटपाट शुरू भयो नै । तोडफोडकारीहरू योजनाबद्ध  थिए । किन त्यहाँ गैंती, बेल्चा, जम्पल आदि इत्यादि बोकेरै आएका थिए ? मान्छेहरू त्यो फलाम काट्ने चीजहरू, सिसा काट्ने चीजहरू, ती सबै फोर्ने चीजहरू सबै लिएरै आएका थिए ? त्यो जेन्जीको शान्तिपूर्ण प्रदर्शन भनिएको थियो । त्यसलाई अपहरण अरू अपराधी तत्वहरूले गरिसक्या थिए । त्यसैकारण जेन्जीको प्रदर्शनमा पूर्वनियोजित थियो नै ।
    जेन्जीको प्रदर्शनमा संसद् भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तोडफोड गर्ने माग त थिएन । रुचि पनि थिएन । विषय पनि थिएन । सोच पनि थिएन । त्यो त अरू नै तत्वहरू थिए त ! अनि जेन्जी भनेका त्यो युनिफर्म लगाएर आएका, ब्याग बोकेर आएका विद्यार्थीहरू त्यो तोडफोड गर्ने दिमागमै सोचेर आएका होइनन् । तर त्यस आन्दोलनलाई अपहरण गरियो अरूबाट । अहिले पनि उनीहरू यो आन्दोलन अर्कातिर गयो, तोडमोड भयो, अर्काथरी तत्वहरू मिसिए, आगजनी गरे, लुटपाट गरे भन्ने के विद्यार्थीहरूले लुटपाट गरेका हुन् त देशभरि ? देशभरि आगो लागेको विद्यार्थीहरूले हो ? के हाम्रा विद्यार्थीहरू त्यस्तो आपराधिक भइसके त ? यो हुँदै होइन । त्यस्तो आपराधिक मानसिकता हाम्रो युवा पुस्ताको छँदै छैन । त्यो होइन । जेन्जीले गरेकै होइनन् । त्यसो भएर यो बेग्लै आपराधिक, नेपालको हित नचाहने तत्वहरूले योजनाबद्ध ढङ्गले कुनै बहानामा घुसपैठ गर्ने र त्यसलाई बढाएर, त्यसलाई उत्तेजित बनाएर, उत्तेजनामा परिणत गरेर त्यस उत्तेजनामा विभिन्न खालका तत्व र शक्तिहरू उनीहरूलाई सामेल गरेर र आफू त्यसभित्र पसेर त्यसलाई दुरुपयोग गरे । लुट्न दिएपछि त लुटेराहरू त आउने भए नि त । लुटेरा खालका तत्वहरू अनि तोडफोड गर्ने लुट्ने । तोड्फोड किन गरेको भन्दा लुट्नलाई । त्यो खालका तत्वहरू त सामेल हुने भइगए लुट्न पाइन्छ भनेपछि । 
  •  यो योजना कति लामो थियो होला अध्यक्षज्यू ?
    यो योजना त लामै थियो । चैत १५ मा पनि देखिया हो । कोसिस ग¥या हुन् तर त्यो सम्भव भएन । त्योभन्दा अगाडि पनि देखिया हो । सम्भव भएन । मङ्सिर ७ गते पनि देखिया हो । र मङ्सिर ७ गतेको योजना उनीहरूको खास योजना थियो । त्यसलाई हामीले असफल बनाइदिएका थियौँ ।
  • सरकार यसमा पूर्व जानकार थियो भने किन रोकेन त ?
    कुनै पनि समय यस्तो गर्न सक्छन् भन्ने त सधैँ थियो । यस्तो गर्न सक्छन् तर यसै समयमा गर्छन् भन्ने होइन । गर्दै आएका थिए नि त । चैत १५ गते पनि त गर्न खोजेको हो । त्यसपछि उनीहरूले वैशाख ११ मा गर्छौं भने सकेनन् । जेठ १५ मा गर्छौं भने सकेनन् । कहिले पोलिटिकल पार्टी नामका कुराहरूलाई अगाडि सारे । वैशाख १५ मा पोलिटिकल पार्टीलाई अगाडि सारे होला । चैत १५ मा पोलिटिकल पार्टीलाई अगाडि सारे होला । तर त्यहाँ पनि हाइज्याक त भएको थियो । त्यो पोलिटिकल पार्टी मात्रै जो पोलिटिकल पार्टी भन्या ती मात्रै सामेल थिएनन् नि ! त्यो हाइज्याक भएको थियो । उनीहरूले थाहा छैन् हामीलाई भन्ने स्थिति आयो । तर उनीहरूले आँट गरेनन् । हामीबाट त्यो खोसियो भन्ने पनि आँट गरेनन् । उनीहरूको मकसद सरकारलाई, उद्देश्य नै सरकारलाई दोष लाउने मात्रै रह्यो । उनीहरूले त्यो गहिराइमा जान पनि चाहेनन् । उनीहरूले के पनि ठानेको हुनसक्छ भने यो स्वतःस्फूर्त रूपमा मान्छेहरूको असन्तुष्टि पोखिएको भन्ने पनि ठानेको हुनसक्छ अथवा उनीहरूले जानीबुझिकन त्यो योजनालाई ढाकछोप गर्न खोजेको पनि हुनसक्छ ।
  • अध्यक्षज्यूले अघि एउटा शब्द भन्दै हुनुहुन्थ्यो, नेपालको हित नचाहनेहरूले भनेर । ती हित नचाहनेहरू घरेलु मात्रै हुन् अथवा नेपालीहरू नै । त्यसमा अन्य विदेशी शक्तिहरूको पनि यसमा हात छ ?
    नागरिकता कसको थियो, कुन देशको नागरिकता लिएका थिए त्यो चाहिँ म भनिराखिनँ । नेपाली मन थिएन । नेपालको हित नचाहनेहरू नै हुन् नागरिकता जहाँको भए पनि ।
  •  भदौ २३ गतेको आन्दोलनलाई फर्केर हेर्ने हो भने प्रधानमन्त्रीको राजीनामाको माग थिएन । हाल बहालवाला प्रधानमन्त्रीले पनि दलका प्रमुख नेताहरूसँग मुख देखाउन मन छैन भनिसक्नुभएको थियो । अहिले पार्टीभित्र पनि एक खालको परिस्थिति त्यो सिर्जना भइराख्या छ । एमाले र यसको नेतृत्व विशेष गरेर अध्यक्षको रूपमा तपाईंमाथि यो खालको आक्रमण, घेराबन्दी किन भइराख्या छ ?
    यो देशको स्वाधीनता मन नपराउनेहरूले हाम्रो अडान, हाम्रो दृष्टिकोण, हाम्रो लडाइँ मन पराउने कुरै भएन । यो देशले गरिखाएको देख्न नचाहनेहरूले, देशले गरिखाएको, उन्नति प्रगति गरेको देख्न चाहने कुरा भएन । हामी भूपरिवेष्ठित थियौँ, भूजडित भयौँ । त्यो कुरा सह्य हुने कुरा भएन । हाम्रो भूमि मिच्न, मिचेर खान पल्केका अरूलाई नमिच भन्दा सह्य हुने कुरा भएन ।
    हाम्रो देश विश्व बैंकको सूचिमा तीब्रतम ढङ्गले विकास गरिरहेका १० वटा देशभित्र पर्यो, संयुक्त राष्ट्र संघको सर्वेक्षणमा तीब्र विकास गरिरहेका देशमा पर्यो । त्यो सह्य हुने कुरा भएन । विश्व बैंकले नेपाल दक्षिण एसियाको राइजिङ्ग स्टार भनेर आर्थिक हिसाबले राइजिङ्ग स्टार भनेर प्रशंसा गर्यो । त्यो कुरा मान्छेलाई मन पर्ने कुरा भएन । र, हामीले हाम्रो स्वाधीनता, हाम्रो स्वतन्त्रता भरपुर उपयोग गर्न खोज्यौँ । त्यो कुरा कसैलाई मन पर्ने कुरा भएन, होला ।
    अरू हाम्रो उन्नति प्रगति देखेर हामीलाई पटक–पटक अनेक प्रकारका धोका षड्यन्त्र गर्दा पनि हामी अगाडि बढ्छौँ, पार्टी फुटाइन्छ । अगाडि बढ्छौँ, अन्तर्विग्रह गराइन्छ । यहीँका मान्छेहरू, नेताहरू कठपुतलीको रूपमा नाच्न थाल्दछन् । त्यो स्थिति त हामीले भोग्यौँ । २०५६ को निर्वाचनमा हामी कम्तीमा पनि बहुमत ल्याउँथ्यौँ । २०५४ मै पार्टी फुटाइयो । कारण के भनियो भन्दा एमाले पार्टी राष्ट्रघाती हो । कस्तो छ नेपालको परिभाषा एमालेका विरुद्ध देशभक्त भएन, राष्ट्रघाती पार्टी भयो, महाकाली बेच्यो भन्ने आरोप नेकपा (एमाले)का विरुद्ध । यतिकै भारतले सीमा नदीलाई एकलौटी प्रयोग गथ्र्यो । नेपालले कुरा उठायो, यो एकलौटी प्रयोग ठीक भएन भनेपछि अनेक प्रकारका गलत सम्झौता भए । ती सम्झौतालाई सच्याइयो । नेकपा (एमाले)को पहल प्रयासमा नै यी कामहरू भए । एमालेले सच्याएपछि एमालेलाई राष्ट्रघाती भनेर धप्पा लगाउन थाल्यो । त्यही एमालेले राष्ट्रघाती काम गर्यो भन्ने आरोपमा एमाले फुटाइयो । पछि त्यो मुद्दा नै छोडेर फेरि तिनै मान्छेहरू एमालेमा मिल्न आए । एमाले त कमजोर पारिसक्या थियो नि ! मिल्न किन आए भने फेरि फुटाउनु थियो । पछि हामीले देख्यौँ । जब एमाले बहुमतको पार्टी बन्यो, झन्डै दुईतिहाइको पार्टी बन्यो, तिनै शक्तिहरू फेरि अर्कैतिर लागे । तिनै शक्तिहरू संगठित भए । तिनले नै पहल प्रयास गरे फेरि र फेरि एमालेको दुईतिहाइको सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने । एकल सरकार थियो नि ! नेपालको हिस्ट्रीमा कम्युनिष्टहरूको बहुमतको आरामदायी बहुमतको एकल सरकार थियो । त्यो त बनेको थियो । त्यसलाई सहिनसक्नु भएर ढाल्ने को थिए भन्दा तथाकथित कम्युनिष्टहरू थिए । कम्युनिष्ट बनाएर कम्युनिष्ट पार्टीभित्र घुसाइएका तत्वहरू नै थिए । तिनै कठपुतलीहरू काम परेका बेला तिनलाई प्रकट हुन लगाइयो र तिनीहरूले आफ्नो परिचय नखोलीकन क्रियाकलापबाट परिचय दिए । खास परिचय त खोलेनन् । को थिए तिनीहरू ? परिचय बताएनन् । तर उनीहरूको क्रियाकलापले परिचय बताइराख्या थियो । उनीहरू कम्युनिष्ट विरोधी थिए, कम्युनिष्टको झन्डै दुईतिहाइको सुदृढ बहुमतको सरकारका विरोधी थिए । उनीहरू त्यस्तो सरकार देख्न चाहँदैन थिए र शुरूदेखि नै उनीहरूले ढाल्न चाहे ।
    त्यो कुरा देखियो । अब पछिल्लो समयतिर पनि त्यस्ता कुराहरू देखिए, पछिल्लो समयतिर एमालेलाई कमजोर बनाउन खोजे । पार्टी विभाजनै गराएर छोडे उनीहरूले । गलत तत्वहरू गए । फेरि पार्टी मजबुतै भएको छ । फेरि पार्टी कमजोर भएको छैन । 
    पार्टीमा पिलो पलाएथ्यो, निचोरियो । ओजन त घटेन एमालेको । के कारणले घटेन भन्दा यसको नेतृत्व ठीक भयो, यसका नीति ठीक भए, यसका क्रियाकलाप ठीक भए, यो दृढतापूर्वक राष्ट्र हितको पक्षमा उभिएर अगाडि बढ्यो । त्यसकारण यसलाई संयोजन कसले गर्यो त ? यसको नेतृत्वले गर्यो भनेपछि त्यसमाथि प्रहार त गर्नै पर्यो । त्यसकारण फलानो बिनाको एमाले, एमाले बिनाको नेपाल भन्ने नारा यत्तिकै बनेको त होइन नि ? अहिले त अब ती सबै चाहिँ अत्यन्तै गजबसँग ध्रुवीकृत भएर गए नि । त्यसो भएर यो बुझ्नेलाई काफी छ । उनीहरूको क्रियाकलाप उनीहरूको तमाशाले काफी बुझ्न पुग्या छ । नबुझ्न चाहनेलाई त केही गरे पनि बुझाउने कुरा हुँदैन ।
  •  यो ध्रुवीकरण हुनका पछाडि चाहिँ एमाले आफैं जिम्मेवार छ भनेर टिप्पणी गर्ने गरिन्छ । तपाईं आफैं के भन्नुहुन्छ ?
    मूल जिम्मेवार त ध्रुवीकरणका लागि एमाले हुने भइगयो । एमाले देशको पक्षमा उभिन्छ, अरूहरूले हमला गर्नै पर्यो, ध्रुवीकरण त भइहाल्छ । अनि एमाले दृढताका साथ उभिएर एमालेभित्र बसेर गड्बड गर्न नसकेपछि बाहिर त जानै पर्यो । ती तत्वहरू बाहिर निस्किन्छन् । जसका मान्छे हुन् उनीहरू उतैतिर लाग्छन् । अनि त ध्रुवीकरण भइगयो किन एमालेले त आफ्नो अडान छोड्दैन, आफ्नो दृष्टिकोण छोड्दैन र एमाले स्पष्ट छ । एमाले बिगार्न सकिँदैन । यहाँभित्र बसेपछि अब बरु एक्सपोज भइसक्यो भनेपछि त्यहाँभित्र बसेरै त काम गर्न त गाह्रो हुन्छ, भनेर ती बाहिर उछिट्टिएर जान्छन् ।
    अब यो कस्तो हुन्छ भने चामल केलाउने भनेको भुस उडाउने हो, कनिका छुट्टाउने हो । तर हामीले चामल केलाउने कोसिसै गर्नुपरेको छैन । नाङ्लामा हाल्ने बित्तिकै भुस आफै उड्छ । यो अचम्मको कुरा छ । महाधिवेशन आयो भनेपछि भुसहरू आफैँ उड्न थाल्छ ।
  •  भनेपछि पार्टीभित्र अझै पनि केही मानिसहरू ‘काज’मा छन् भन्ने लाग्छ यहाँलाई ?
    त्यो त देखिएकै छ । पहिलेदेखि नै देख्या छ । हुने गर्छ । र, यो धेरै अस्वाभाविक पनि होइन । जब शक्तिहरू छन् भने ती खेल्छन् ।
  • अहिले मूलतः सामाजिक सञ्जाल हेर्ने हो भने गालीवाद र लोकप्रियतावाद चरम देखिन्छ । नेता बन्न खोजेकाहरू पनि तिनीहरूको निशानामा पनि तपाईं पर्नुभएको छ । कोही यसो चर्चामा आउनु पर्यो भने गाली गर्ने चाहिँ एमालेको अध्यक्षलाई हो, केपी शर्मा ओलीलाई हो भन्या जस्तो चाहिँ बाहिर देखिन्छ । यो विषयलाई के भन्न चाहनुहुन्छ ?
    त्यो स्वाभाविक हो । उनीहरू आफ्नो महत्व बढाउनु पर्यो भने, आफ्नो महत्व बढाउनु पर्यो भने कसको विरोध गर्ने भन्दा जो बलवान् छ, जो बलियो छ त्यसकै विरोध गर्ने हो । त्यसो भएर चर्चामा आउने हो । लोकप्रियतावाद भन्दा पनि नाङ्गो अवसरवाद भन्छु म । लोकप्रियतावाद भनेर पनि कहाँ लोकप्रिय भएका छन् र ? खुइल्येकै छन् त अहिलेका लोकप्रिय भनिएका मान्छेहरू नि !
  • भाइरल हुने ट्रेन्ड छ नि !
    भाइरल भए पनि त कस्तो भाइरल भएका छन् भन्दा कुनै सकारात्मक हिसाबले ती मान्छेहरू लोकप्रिय भइराख्या होइन । विरोधीले उचालेर चर्चामा आउने, त्यसलाई लोकप्रिय भएको त्यति शायद भन्न मिल्दैन । एमालेभित्र समस्या खडा गर्ने भएको हुनाले विरोधीले उचाल्ने, प्रशंसा गर्ने भनौँ न त्यसलाई ।
  • यो खालको ट्रेन्ड त पार्टीभित्रै पनि कतिपय मानिसहरूमा देखिन्छ । पार्टीबाहिर पनि कतिपय मानिसहरूको बिहानदेखि बेलुकासम्म १५–२० वटा पोस्ट चाहिँ तिनीहरूको हरेक पोस्टमा एउटा नाम हुन्छ, केपी शर्मा ओली ।
    तिनका तलब पचाउनु परेन ? हिसाब हिसाब खोज्दैन त लगानीकर्ताले ?
  • जेन्जी आन्दोलनको हिस्सेदार बन्दै अब सरकार चलाउने हामीले हो भनेर मिडियामा बोलेको कुरा सुनियो । के भन्न चाहनुहुन्छ तपाईं ?
    सही कुरा हो । कि हामीले हो, कि उनी (जेन्जी)हरूले हो । कि पोलिटिकल पार्टीले हो कि आन्दोलनकारीले हो । अलिकति आन्दोलन त उनीहरूले त यसो एउटा जुलुस त शुरू ग¥या हुन् नि । केही माग त राख्या थिए नि उनीहरूले । अनि यी मागहरू तोडफोड, लुटपाट, आगजनीका प्रतिनिधिहरूले सरकार चलाउने ! यो कुन लजिक ? कहाँबाट आउँछ यो ? कि त आन्दोलनकारीले चलाउनु पर्यो । जेन्जी को हुन्, तिनीहरूले चलाउनु पर्यो नि त सरकार ! कि त राजनीतिक पार्टीले चलाउनु पर्यो । हाम्रो मान्यता त स्पष्ट छ । एउटा जुलुसमा एकछिन सहभागी भएर आफ्नै जुलुस नथामेका जेन्जी युवाहरू । उनीहरूले आफ्नै जुलुस त एकछिन थामेनन् अनि देश के चलाउँछन् उनीहरूले ? उनीहरूले देश चलाउने होइन । उनीहरूले केही मुद्दा उठाएका थिए । देश चलाउने कुरा पनि गरेका थिएनन् उनीहरूले । अहिले उनीहरूको यो हामी चलाउँछौँ, हामीले चलाउने हो भन्ने यो त प्रतिक्रियास्वरूप आएको हो । उनीहरूको ओरिजिनल मागै होइन नि देश चलाउँछौँ भन्ने । हामी सरकार बनाउँछौँ भन्ने, सरकार हटाउँछौँ भन्ने उनीहरूको माग नै थिएन ।
    अहिले यो सरकार जो आगजनी तोडफोडको भरमा बन्यो, क्रान्तिको उपज हौँ भनेर जुन बन्यो, कुन क्रान्ति भयो ? जेन्जीले गरेको होइन यो तोडफोड आगजनी । यो तोडफोड, आगजनी, लुटपाट क्रान्ति होइन, आतङ्क हो, अपराध हो यो । यसका बहानामा यसलाई बहाना बनाएर जस्ता प्रकारका तत्वहरू सरकारमा पुगे यो कुनै लास्टिङ हुने टिक्ने कुरा हो र यो ? न विश्व राजनीतिमा न राष्ट्रिय राजनीतिमा कतै यो टिक्छ ?
  • यो सरकारलाई न राजनीतिक दलको समर्थन, न जेन्जी अगुवा भन्नेहरूको । यो सरकार कोप्रति जवाफदेही छ ? के लाग्छ यहाँलाई ?
    गुप्त षडयन्त्रकारीहरूको पृष्ठपोषण बाहेक जनतामा रहेको अलिकति भय त्रासको कारण बाहेक यिनीहरू टिक्ने कुनै आधारै छैन । न संविधान, न कानुन, न लोकतन्त्र, न प्रणाली, न जनता, न जेन्जी, न राजनीतिक दल । केही पनि छैन ।
  • चुनाव त फेरि यही सरकारले गराउन लागिरहेको छ नि ?
    त्यो त भनाइ हो । यस्ता सरकारहरूले चुनाव सजिलोसँग गराउँदैनन् । दुनियाँमा कहाँ चाहिँ गराएको छ र यहाँ गराउँछ फागुन २१ मा ? म्यानमारमा कतिपल्ट सरिसक्यो चुनाव ? गर्छु गर्छु गर्छु गर्छु गर्छु भन्छ अनि अर्काको टाउकोमा दोष हाल्छ । यसो गर्दिए, उसो गर्दिए भन्छ र गर्दैन । यो गर्ने छाँटै छैन । कहाँ जेलबाट फरार अभियुक्तहरू अथवा कैद फैसला गरेर अपराधी भनेर फैसला गरेर थुनेका मान्छेहरू जो छुटाइयो, छोडियो, भगाइयो, ती मान्छेहरू पकड्नेतिर उसको कहाँ ध्यान छ ? अहिले पनि उनीहरू त नेता फसाउने कसरी भन्नेमा लाग्या छन् त । निर्दोष मान्छेलाई दोषी करार गर्ने कसरी भन्नेमा लाग्या छन् । दोषी त उनीहरूले भगाएका छन् । अनि जेल फोडाउने यिनीहरू होइन ? कसले फोडाए त जेल ? क्रान्ति, यो जेल फोडेका कुरालाई क्रान्ति भन्ने यिनीहरू होइन ? तोडफोड आगजनीलाई क्रान्ति भन्ने यिनीहरू होइन ? अनि ती मान्छे पकडनेतिर त ध्यान गइराख्या छैन त ! त्यत्रो हतियार लुटाउने, खोसाउने यिनीहरू होइन ? अनि त्यो हतियार सङ्कलन गर्नतिर लाग्नुपर्दैन ? पोलिटिकल पार्टीका नेताहरूलाई अपमान गर्ने होइन । एउटा घरको नक्सा कसैले बनायो अरे इन्जिनियरले नक्सा बनायो । नक्सा बनाएकोलाई बेइज्जत, अपमान गर्नुपर्छ, कारबाही गर्नुपर्छ भन्ने मन्त्री ! यी पात्रहरू मन्त्री हुन लायक छन् र ? 
  • पछिल्लो पटक नेकपा (एमाले)ले लिएको नीतिले जनतालाई एक खालको अन्यौल सिर्जना गरेको जस्तो देखिन्छ । संसद् पुनस्र्थापना भनिराख्या छ । संसद् पुनर्स्थापना भएर फेरि राजनीतिक कोर्स एउटा गतिमा अगाडि बढ्छ कि बढ्दैन भन्ने एउटा चिन्ता छ । यदि त्यसो भएन भने फेरि चुनावमै जुन घोषित फागुन २१ भन्या छ, त्यो पनि हुन नसक्ने, संसद् पुनस्र्थापना पनि हुन नसक्ने भयो भने त्यसपछि मुलुक अन्धकार सुरुङमा जान्छ कि भन्ने डर जनतामा देखिन्छ । यसमा अध्यक्षज्यूको के भनाइ छ ?
    पहिलो कुरा असंवैधानिक ढङ्गले जे कामहरू भए ती सच्याइनुपर्छ । संविधान जुन ढङ्गले मिचिएको छ, त्यसलाई लयमा फर्काउनुपर्छ । त्यो भनेको अनधिकृत ढङ्गले संसद् विघटनको सिफारिस भयो । अनधिकृत, हकदैया नभएका व्यक्तिहरूबाट असंवैधानिक सिफारिस भयो र असंवैधानिक तबरबाट संसद विघटन गरियो । त्यसलाई फर्काउनुपर्छ । हामी समस्या समाधानका बाधक होइनौं । समस्या समाधानका लागि अत्यन्तै उदारपनाका साथ, लचकताका साथ अगाडि बढ्न तयार छौँ भनेर भनिराख्या छौँ । संविधान संशोधन गरौँ । एकछिनलाई कुनै संविधानको धारा निलम्बन गरेर पोलिटिकल पार्टीहरूभन्दा बाहिरकै मान्छे ल्याएर नै प्रधानमन्त्री बनाउनुपर्छ चुनावसम्मका लागि भने पनि त्यो व्यवस्था संविधानमै गरौँ भन्ने हो । संविधान बाहिर गएर होइन । संविधानबाटै गरौँ । त्यो व्यवस्था खास अवधिसम्मका लागि गरौँ । सधैँका लागि हुँदैन । र, एउटा कुरा के भने हामीले भनेको कुरामा संविधान संशोधन भइसकेपछि संसद् पुनर्स्थापना भइसकेपछि फेरि राजनीतिक पार्टीहरूले संसद्को प्रयोग गरेर आफ्नै कुरा गर्छन् भन्ने जुन परेको छ, म त्यसको जवाफमा भनिराख्या छु, त्यस्तो हुँदैन । म एउटा प्रमुख पार्टीमध्येकै पार्टी अध्यक्षको हिसाबले बोलिराख्या छु । संसदीय दलको नेताको हिसाबले बोलिराख्या छु, हामी एकछिनको धोका दिने राजनीति गर्दैनौँ । तसर्थ हामी एउटा सर्वपक्षीय, सर्वदलीय मात्रै भन्दिनँ म । सर्वपक्षीय सहमतिका साथ अगाडि बढ्न तयार छौँ । हाम्रो भनाइ लोकतान्त्रिक प्रणाली र संवैधानिक प्रक्रियाअन्तर्गत नै जुनसुकै कदम चालिनुपर्छ भन्ने हो । त्यसका निम्ति संसद् पुनर्स्थापना, संविधान संशोधन, के संशोधन गर्ने भन्ने तय गरौँ । अहिले संविधान संशोधन गरौँ भनेको नेपाली कांग्रेस र नेकपा (एमाले)ले संयुक्त सरकार बनाउँदा सहमति गरेका थियौं, त्यही पुरानो सहमति अन्तर्गतको संविधान संशोधन गरौँ भनेको होइन । अहिलेको परिस्थितिलाई सम्बोधन गर्नका लागि संविधान संशोधन अहिले गरौँ अनि बाँकी संविधान संशोधन पछि गरौँला ।
  • हजुरले माथि उल्लेख गरेका प्रस्तावबारे अन्य राजनीतिक दलहरूसँग छलफल भएको छ कि छैन ?
    अवश्य नै भइराख्या छ ।
  • नेपाली कांग्रेसका सभापतिसँग हालै भेटघाट गर्नुभयो । भेटघाटमा हजुरले भनेका प्रस्तावहरूमा कुराकानी भयो कि भएन ? 
    उहाँ घाइते हुनुहुन्थ्यो, स्वास्थ्योपचारका लागि सिङ्गापुर जानुभएको थियो । मैले स्वास्थ्यको बारेमा रुचि राखेर स्वास्थ्यको बारेमा सोधखोज गरेँ । उहाँलाई आतङ्ककारीहरूले, अपराधी तत्वहरूले हमला गरेका थिए, कुटपिट गरेका थिए । उहाँलाई र उहाँको म्याडमलाई पनि । यस सम्बन्धमा सोधपुछ गरेर शीघ्र स्वास्थ्य लाभको कामना गरेँ । दुईवटा राजनीतिक नेताहरूका बीचमा, व्यक्तिहरूको बीचमा भेटघाट हुँदा राजनीतिका बारेमा कुराकानी हुनु स्वाभाविक हो । विभिन्न विषयमा छलफल भए । यो सारा सन्दर्भको बारेमा छलफल भयो । जहिलेदेखि हाम्रो भेटघाट भएको थिएन । चीनबाट म फर्किएपछि हाम्रो भेट भएको थियो भदौ १८–१९ तिर । त्यसपछि बल्ल भेट भएको हो । त्यसभन्दा यताका सम्पूर्ण घटनाक्रमहरू भएका परिवर्तनहरू आदिको बारेमा कुरा हुने नै भयो ।
  • अब थोरै पार्टीको नेतृत्व निर्माणतर्फ जाऔं । जुन विषयमा आम कार्यकर्ता पङ्क्तिमा असाध्यै  चासो छ । आसन्न ११औं महाधिवेशन मूलतः नेतृत्व निर्माणका सन्दर्भमा हुँदैछ । नीति र विधि बनाउने विधान महाधिवेशन गत भदौ २० देखि २२ गते सम्पन्न भइसकेको छ । अब पार्टीको भावी मूल नेतृत्वसहित टिम कसरी निर्माण गर्दै हुनुहुन्छ ?
    पहिलो कुरा त तपाईंले ठीक भन्नुभयो, हामीले भदौ २०–२२ गते विधान महाधिवेशनमा गरेका कामहरू, हामीले लिने नीतिहरू आदिको बारेमा राम्रो छलफल गर्यौं । हाम्रो विगत, हाम्रो वर्तमान र हाम्रो भविष्यको बारेमा हामीले छलफल गर्यौं । राजनीतिक प्रतिवेदनमार्फत हामीले  कार्यक्रममा अगाडि सार्यौं । र सांगठनिक प्रतिवेदन त्यसमा संगठनसम्बन्धी संरचनागत, विकासगत आदि इत्यादि कुराहरूको टुङ्गो लगायौैं । हाम्रा अनुभवका आधारमा अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा कुराहरू गर्यौं, विधान कसरी जानुपर्छ भन्ने कुराहरू गर्यौं ।
    केही हेरफेर गर्नुपर्यो भने यस महाधिवेशनले गर्न नसक्ने होइन । तर यसबीचमा अनुभवले विधानमा केही एकाध कुराहरू संशोधन गर्नुपर्छ कि भनेको हो । नत्र भने संशोधन गर्नुपर्ने कुनै कुरा भएको छैन । यस बीचका गतिविधिहरूको कुरा भन्ने हो भने हामीले असोज २८, २९, ३० मा केन्द्रीय कमिटीको बैठकमा भदौ २३, २४ को गतिविधि, त्यसबाट सिर्जित परिस्थिति, त्यसले ल्याएको परिवर्तन आदिको बारेमा समीक्षा गर्यौं । तसर्थ पछिल्लो परिस्थितिको पनि हामीले केन्द्रीय कमिटीको बैठकमा तीनदिन लगाएर राम्ररी छलफल गर्यौं । ३२८ जनाले विचारहरू व्यक्त गर्नुभयो । मन्थन गरियो र १५ बुँदे प्रस्ताव पारित गरियो परिवर्तित सन्दर्भ बारेमा । त्यो यथावत् छ । त्यो महाधिवेशनको विषय बनाइरहनुपर्ने खालको अब अवस्था रहेन, छैन ।
    त्यसो भएर अब हामी सोझै ती नीति कार्यक्रमहरू र परिवर्तित सन्दर्भको केन्द्रीय कमिटीको पोस्टलाई कार्यान्वयन गर्ने सन्दर्भमा महाधिवेशनमा नेतृत्व निर्माण गर्ने त्यस काममा केन्द्रित हुन्छौँ । मूल नीतिहरू, हाम्रा नीति, हाम्रा विश्लेषण भन्दा परिवर्तित सन्दर्भमा पनि केही फरक छैन । प्रतिगमन भयो त्यसलाई फेरि अग्रगमनतिर लानु छ । संविधान मिचियो, प्रतिनिधिसभा विघटन गरियो, लोकतन्त्रलाई अपाङ्ग बनाइयो, घाइते बनाइयो । त्यस स्थितिबाट मुलुकलाई फर्काउनु छ । शान्ति सुव्यवस्था खलबलाइयो, कानूनी राज होइन, अराजकता सिर्जना भयो, त्यसलाई ठीक लयतिर फर्काउनु छ । यो एउटा पार्टी विशेषले होइन, लोकले देखेको बुझेको कुरा हो । कसैले भन्न सक्यो होला, कसैले सकेन होला । कसैले बोल्यो भने कारबाही हुन्छ भन्ने डरले बोलेन होला । ती आ–आफ्ना ठाउँमा होलान् । कुनै पार्टीहरू स्वरमा स्वर मिलाउन गए होला । अब नेकपा (एमाले)ले त्यसो गरिरहनुपर्ने आवश्यकता नभएको हुनाले स्पष्टतः एमाले अगाडि बढिसक्या छ ।
  • यो महाधिवेशन एकताको महाधिवेशन बन्छ कि बन्दैन भन्ने एक खालको आशङ्का गर्ने जमात पनि ठूलै छ नि ?
    त्यसका दुईवटा परिभाषा छन् । एकताको महाधिवेशन भनेको के हो भनेर बुझ्नु पर्दछ । पार्टीमा र अन्यत्र पनि गठन÷पुनर्गठन, हस्तान्तरण÷पुस्तान्तरण आदिका कुरा उठ्या छन् । यो सधैँ भइराख्या कुरा हो । यो अहिले नयाँ कुरा होइन । पुष्पलालले स्थापना गर्नुभएको पार्टी थियो । त्यसपछि कति त्यसका प्रमुख नेताहरू भए, हस्तान्तरण भएको छैन ? अनि २००६ सालदेखि एउटै नेतृत्व अहिलेसम्म आएको छ र ? नेपाली कांग्रेसमा पनि कति नेताहरू भए, कति परिवर्तन भए, हुँदै आएको छ । अहिलेको अवस्थामा आइपुग्या छ, परिवर्तन भएको छैन र ? अनि यो कोकोहोलोमा गएर परिवर्तन हुने होइन । अर्को कुरा अघि एउटा पपुलिस्ट पोलिटिक्सको कुरा गर्नुभएको थियो । नेतृत्व जेन्जीलाई सुम्पनुपर्छ जस्ता हावा कुराहरूका पछाडि नेकपा (एमाले) लाग्दैन । कुनै चीजका लागि त्यसको आ–आफ्नो प्रक्रिया हुन्छ, आफ्ना मापदण्ड हुन्छन्, आफ्ना स्तर हुन्छन् । ती प्राप्त गरेको हुनुपर्छ । नागरिकता प्राप्त गर्न कति वर्ष उमेर पुग्या हुनुपर्छ त्यहीँ जस्तै हो । मतदान अधिकार प्राप्त गर्न कति वर्ष पुग्या हुनुपर्छ त्यहीँ जस्तै हो । सांसद् हुन कति वर्ष पुगेको हुनुपर्छ त्यहीँ जस्तै हो । राष्ट्रिय सभाको सदस्य हुन कति वर्ष उमेर पुग्या हुनुपर्छ त्यहीँ जस्तै हो । हुनुप¥यो नि । राष्ट्रिय सभा सदस्यमा जेन्जी हुने चलन छैन । संविधानले मान्दैन । राष्ट्रिय सभालाई ३५ वर्ष पुगेको मान्छे हुनुपर्छ भन्ने व्यवस्था छ । प्रतिनिधि सभा सदस्य, मन्त्री हुनलाई कति वर्ष पूरा भएको भन्ला । राष्ट्रपति हुन यति वर्ष पूरा भएको हुनुपर्छ भन्ला । यस्ता कुराहरू हुन्छन् । प्रोफेसर हुन यति वर्ष लेक्चरर भएर, यति वर्ष रिडर भएर अनि प्रोफेसर हुने भन्ने बनाएको हुन्छ । त्यसमा यो–यो विषयमा यस्तो डिग्री हासिल गरेकाले त्यस विषयको प्रोफेसर प्राप्त गर्ने भन्ने हुन्छ । त्यसकारण कुनै पनि चीजका मापदण्ड हुन्छन्, प्रक्रिया हुन्छन् । यति वर्ष पुगेपछि छोड्ने भन्ने हुन्छ । त्यसका आवश्यकता हेरेर त्यसको काम के हो ?  खेलाडीले कहिले छोड्छ, धावकले कहिले छोड्छ, कुस्तीबाजले कहिले छोड्छ, मुक्केबाजले कहिले छोड्छ ? एउटा कथाबाचकले कहिले छोड्छ, प्रोफेसरले कहिले छोड्छ भन्ने उमेर फरक–फरक हुन्छ । किन भने कुस्तीबाज हुने, मुक्केबाज हुने र प्रोफेसर हुने एउटै कुरा होइन । त्यसकारण प्रोफेसरले अलि पछि नै छोड्छ । डाक्टरले अलि पछि छोड्छ । मुक्केबाजले, कुस्तीबाजले पहिले नै छोड्छ । त्यो कामको प्रकृति हेरेर रिटायर कहिले हुने, प्रवेश कहिले गर्ने भन्ने कुरा हुन्छ ।
    तसर्थ, हामी कुनै बहकाउमा छैनौँ । लिडर भनेको लिडर हो– अनुभवी, दक्ष  । लिडर छान्ने भनेको हावामा गर्ने कुरा त होइन नि !
  • पार्टीका वरिष्ठ नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिसकेको देखिन्छ । यो सन्दर्भलाई कसरी नियाल्नु भएको छ ?
    त्यो त डेमोक्रेटिक एक्सरसाइज हो नि ! पाइयो नि त्यो त । जो प्रतिनिधि छ, प्रतिनिधि भएपछि विधानले व्यवस्था गरे अनुसार जुनसुकै तहको पनि उम्मेदवारी दिन पाइन्छ ।
  • मूल नेतृत्वमै उम्मेदवारी घोषणा भएको छ । यसमा तपाईंको पनि उम्मेदवारी स्वतः हो ?
    पाइन्छ, पाइने कुरा हो । तर यतिबेला देशको अवस्था यस्तो छ । र, वास्तवमा देशमा अनेक असहजता अप्ठ्याराहरू पार लगाएर आएको सक्रिय नेतृत्व भइराखेको, जटिल अवस्थामा अस्वाभाविक ढङ्गले नेतृत्वको विवाद उठाउनु, यो उम्मेदवारी दिने मात्र कुरा होइन नि ! पहिलेदेखि ओलीबिनाको एमाले नारा जो विरोधीहरूले लगाइराख्या थिए, त्यो नारा बोकेर, त्यो नाराको झन्डा बाहिरबाट फुत्त एमालेको रिङभित्र छिराउनु र त्यो उठाएर कुद्नु भनेको चाहिँ अलि अस्वाभाविक हो । त्यति मात्र हो । अधिकार छ, त्यो उठाउन पाइन्छ । तर, यो स्वाभाविक होइन । यस्तो बेलामा त्यसरी होइन, एकताबद्ध भएर जानुपथ्र्यो । तर मैले अघि नै भनेँ, एकता भनेको के ? एकताबद्ध बनाएर लानु भनेको के ?
    तपाईंहरूलाई भन्छु म, नेकपा (एमाले)को यो महाधिवेशन एकताको महाधिवेशन हुनेछ । यो महाधिवेशन आफैँमा एउटा सानोतिनो पुनर्गठनको महाधिवेशन हुनेछ । यो पुस्तान्तरणको, हस्तान्तरणको महाधिवेशन हुनेछ । र यो महाधिवेशन केही मानिसहरू बाहिरिने, केही मानिसहरू प्रवेश गर्ने हुनेछ । नत्र भने त संगठन त एउटा जेनेरेसनसम्म अडिएर बस्छ, तिनै मान्छे बस्छन्, बस्छन्, बस्छन् । ती सकिँदाखेरि त्यो संगठन सिद्धिन्छ । त्यस्तो त हुने होइन नि त ! यो संगठन भनेको त गतिशील हुन्छ नि । त्यसकारण एकताको महाधिवेशन भनेको उही मान्छे रहने, त्यहीँ–त्यहीँ ठाउँमा रहने, अरू आउन नपाउने, भइरहेकाले छोड्न नपर्ने, त्यस्तो हुँदैन । भइरहेकाले छोड्नुपर्छ, नयाँलाई आउन दिनुपर्छ । केही हट्छन्, केही आउँछन् । अब त्यसो भए हट्दा सबै हट्नुपर्ने नहट्दा सबै नहट्नुपर्ने, अनि आउँदा सबै आउनुपर्ने नआउँदा कोही पनि आउन नहुने भन्ने त हुँदैन नि । हुन्छ र ? त्यसो भएर केही हट्छन्, केही आउँछन् । त्यसलाई एकताको महाधिवेशन भन्ने सन्दर्भमा कुनै गलत प्रभाव पारेको हुँदैन । खाली हामी नीतिहरूमा एकताबद्ध भएर चलाउने, पार्टीलाई एकताल एक सुरमा अगाडि बढाउने, त्यो खालको पार्टी नेतृत्व निर्माण हुन्छ कि हुँदैन र पार्टीलाई त्यसै अनुसार गतिशील गराउन सक्षम नेतृत्व निर्माण हुन्छ कि हुँदैन भन्ने कुरा हो । यो महाधिवेशन एकताको महाधिवेशन हुनेछ । हस्तान्तरण, पुस्तान्तरण सबै हुन्छ ।
  •  नेतृत्व चयन सर्वसम्मत हुन्छ कि चुनाव हुन्छ ? भन्ने पनि एक खालको चासो छ नि ?
    सबै पदमा सर्वसम्मत, सबै सर्वसम्मत त हुनै हुँदैन, हुनै सक्दैन नि । सर्वसम्मत त तपाईंको भावनालाई दबाएर मैले आफूले मात्रै गर्न पाएँ भने सर्वसम्मत हुन्छ । या मेरो भावना दबाएर तपाईंले आफ्नो मात्रै गर्न पाउनु भयो भने सर्वसम्मत हुन्छ । तपाईं पनि अगाडि बढ्न पाउने फेयरली म पनि अगाडि बढ्न पाउने हो भने प्रतिस्पर्धा त भइहाल्छ नि ! खाली प्रतिस्पर्धाको मनसाय के हो ? कस्तो परिस्थितिमा कस्तो प्रतिस्पर्धा, प्रतिस्पर्धाका नाउँमा कस्ता व्यक्तिले के गर्दैछन् भन्ने कुरा महत्वपूर्ण कुरा हो । 
  • नेतृत्वको निरन्तरता हुने कुरा एकदम ठीक छ तर उहाँ (केपी शर्मा ओली)ले कार्यशैली बदल्नुपर्छ भन्ने टिप्पणीहरू सुनिने गरिन्छ । आफ्नो कार्यशैली याद गर्नु भएकोछ ?
    होइन मलाई बताइदिए भयो, के चेन्ज गर्नुपर्यो ? जस्तो म कसैलाई रफ बोलेर, गाली गरेर, हप्कीदप्की गरेर, अपमान गरेर, होच्याएर चलेको छु र ? मैले जिन्दगीमा कसैलाई अपमान गरेर बोलेको छैन । हप्कीदप्की कसैलाई गर्या छैन । राजनीतिक विश्लेषण गर्दा जे यथार्थ हो त्यो विश्लेषण भन्दा कसैको अपमान हुनु बेग्लै कुरा होला, अपमान भयो भन्ने ठान्नु । प्रतिगमनकारीहरूलाई प्रतिगमनकारी भन्दा यो पोलिटिकल भाषा हो, अपमान होइन । आगजनीलाई आगजनी, लुटपाटलाई लुटपाट, तोडफोडलाई तोडफोड भन्दा कुनै अपमान होइन । अब जेन्जी आन्दोलनलाई अपमान गर्यो भन्छन् । त्यो जेन्जी आन्दोलन हो ? जेन्जीले के यो आगजनी, तोडफोड, लुटपाटको जिम्मा लिन्छन् ? के जेन्जी लुटपाट गर्न गएका थिए ? भाटभटेनी लुट्ने जेन्जी हुन् ? यो झुटो कुरामा ठग व्यापार किन गर्ने ? ठग व्यापार चल्दैन । यस्ता कुराहरूमा सही बोल्नुपर्छ । बाँकी आचरणको कुरामा, व्यवहारका कुरामा, कुनै कुरामा कुनै खानपिन आदि इत्यादि केही कुरामा अथवा कार्यशैलीमा कस्तो परिवर्तन भनेको ? कस्तो परिवर्तन ? त्यो कुरा कसैले बताइदिनुपर्यो, यस्तो परिवर्तन हुनुपर्यो भनेर ।
  • बैठकहरूमा यस्ता विषयमा छलफल हुँदैन ? किन सामाजिक सञ्जालमा मात्र यस्ता कुरा पोखिन्छन् ?
    सामाजिक सञ्जालका मात्रै विषय हुन् यिनीहरू । बैठकमा त मैले आलोचना मागिराख्या हुन्छु । मेरो दिनचर्यादेखि मेरो किचेन ओपन हुन्छ । मेरो बेड ओपन हुन्छ । मान्छेले देख्या छ त सबै कुरा । त्यसो भएर कुनै कुरा लुक्या छैन । साथीहरूले रातभरि भेटिराख्या हुन्छन्, दिनभरि भेटिराख्या हुन्छन् । बिहान भेटिराख्या हुन्छन्, बेलुका भेटिराख्या हुन्छन्, रातभरि भेटिराख्या हुन्छन् घरमा ।
  • तपाईंसँग लामो यात्रा गर्नुभएका नेताहरूबाटै यस्ता कुराहरू आएका छन् । यो महाधिवेशन लागेको हो कि, साँच्चिकै उहाँहरूले आफ्नो कुरा भनिरहनु भएको हो ? अथवा समस्या सिर्जना गर्न खोज्या हो ? यसलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ अध्यक्षज्यू ?
    कार्यशैलीमा सुधार हुनुपर्छ भन्ने कुरा आएको छ । विचार गलत बोक्यौँ, गलत विचार लियौँ, ठीक विचार भएनन् भन्ने छैन । कुनै आचरणमा कमी आयो, नैतिकतामा कमजोरी छ, आदर्शपूर्ण व्यवहार आचरण छैन, यस्ता कुनै आरोपहरू आएका छैनन् । अब विरोधीहरूले लगाउने त अब नेपालको सातौं धनी भनेर भन्ने जस्ता हावादारी कुराहरू अथवा आग्रह, आवेश, उत्तेजनाका ‘केपी ओलीको घर बनाउने फोटो के रे त्यो नक्सा घरको नक्सा कसले स्केच गर्यो ? कसले तयार गर्यो ? त्यो इन्जिनियरलाई चाहिँ घृणा गर्नुपर्छ, त्यसलाई बदनाम गर्नुपर्छ, त्यसको चरित्रहत्या गर्नुपर्छ, त्यसलाई कारबाही गर्नुपर्छ’ भन्ने जस्ता मन्त्रीहरूका उत्तेजनाहरू, ती आगजनीवाला उत्तेजनाहरू हुन् । तोडफोड, लुटपाट गर्ने खालका उत्तेजनाहरू हुन् । ती उत्तेजनाको कुरा बेग्लै हो । नत्र भने, यस्ता कुनै आरोपहरू यथार्थ आरोपहरू केही छैनन् । काम गर्दैन, सक्रिय छैन भन्ने आरोप पनि छैन । निर्णय क्षमता छैन भन्ने आरोप पनि छैन । उचित समयमा निर्णय लिन सक्दैन भन्ने आरोप पनि छैन । नीति निर्माणमा प्रभावकारी भूमिका निभाउन सक्दैन भन्ने पनि आरोप छैन । राजनीतिमा चाहिने इमान, निष्ठा, त्यो भएन भन्ने पनि आउँदैनन् ।
    अब आएर कार्यशैलीमा सुधार हुनुपर्यो ।  केमा सुधार हुनुपर्यो ? म सोध्छु । सोध्ने गरेको छु । मलाई आलोचना गर्नुहोस्, यथार्थ आलोचना, तथ्यमा आधारित आलोचना गर्नुहोस्, मैले माग गर्छु साथीहरूसँग । मैले सोद्धाखेरि केही पनि आउँदैन । बाहिर म देख्छु सामाजिक सञ्जालहरूमा यताउता कार्यशैलीमा सुधार हुनुपर्यो । कहाँनेरि के कार्यशैली ? कार्यशैली भनेकै नबुझेर कार्यशैली भन्या हो कि ? बुझेर कार्यशैलीमा सुधार हुनुपर्यो भन्या हो ? के शैलीमा के सुधार हुनुपर्यो त ? यस सन्दर्भमा अमूर्त कुराहरू छन् । अर्थात आलोचना छैन । दुनियाँमा शायद म एउटा नेतृत्वमा बसेको व्यक्ति यति आलोचना गर्न सक्ने, आलोचनाको ठाउँ नै फेला नपरेको व्यक्ति त्यो भाग्यमानी व्यक्ति म एउटा पर्छु होला । कमसेकम खैनी खायो भन्ने आरोप पनि छैन । चुरोट खायो भन्ने आरोप पनि छैन ।  जाँड रक्सी खान्छ भन्ने आरोप पनि छैन । अरू कुनै केही कुरामा लोभ गर्यो भन्ने आरोप पनि छैन । कतै केही आरोप छैन त ! यत्रो लामो समयको राजनीतिक जीवनमा यो एउटा धेरै ठूलो उपलब्धि हो भन्ने ठान्छु म । शौखिन भयो, ऐश आरामको जिन्दगी बितायो भन्ने पनि छैन । म बिहान खाजा खाने गर्दिनँ, दिउँसो खाजा खाने गर्दिनँ । दुई छाक खाना खान्छु । त्यो दुई छाक खाना कस्तो हुन्छ ? एक्लै बसेर प्रायः म खान भ्याउँदिन, अरुसँगै बसेर खाने हो । त्यो पनि मान्छेले देख्या हुन्छ । दुई छाकभन्दा पनि म प्रायः एक छाक खाना खान्छु । बेलुका साँझको खाना खान भ्याइन्न पनि, १२, १ बज्छ, बढी व्यस्त हुन्छु । त्यसले खानाभन्दा बरु अलिकति फलफूल खायो, केही खायो, सक्कियो या एक फाँको चिउरा खायो, पानी खायो सुत्यो । त्यसरी नै मैले चलाएको हुन्छु ।
    अहिलेसम्म मैले संगत गरेका मान्छेहरूमा मलाई यसरी गाली गर्यो, यसरी हप्कायो, यसरी कडा शब्द बोल्यो, यस्तो अपशब्द बोल्यो, यस्तो कुनै आरोप जिन्दगीमा हुनै सक्दैन । मैले कुनै आलोचना गर्नुपर्दा पनि नरम शब्दमा र अत्यन्तै संयमित ढङ्गले सुझावको हिसाबले यसो नगर यसो गर्दा राम्रो हुन्छ भन्ने मात्रै भन्ने हो । अब जहाँसम्म मान्छे असन्तुष्ट छन् भन्ने कुरा छ, ‘यू कान्ट फ्रिज एभ्रिवन’ भन्छ । तपाईं हरेकलाई खुशी पार्न सक्नुहुन्न । हरेक खुशी त आफ्नो स्वार्थ पूरा भयो भने मात्रै हुन्छ होला । ‘सन्तुष्टम परमम् सुखम’ भनेर कति मान्छेले ‘सन्तुष्टी नै परम सुख हो’ भनेर सन्तोष मानेर हिँड्छन् ? अहिले असन्तुष्टि प्रधान समय छ । अघि प्रदीप ज्ञवालीजीसँग कुरा गर्दै थियौँ हामी । अनि मैले भनेँ–मान्छेलाई त दोष लाउन मिलेन, त्यसकारण आकाशमाथिका ग्रह नक्षत्रलाई दोष लगाऊँ । यो असन्तुष्टि प्रधान बनाइदिने, सबैलाई असन्तुष्ट बनाइदिने, सबैलाई नाखुश बनाइदिने ग्रहदशा हाम्रो आकाशमाथि छ । ती ग्रहदशाहरूको यस्तो योग परेको छ, जसले गर्दा यहाँ मान्छेलाई मान्छेका घर देखे पनि आगो लगाइदिउँ, लगाइदिउँ हुने, राम्रा पसल देखेपछि लुटौँ, लुटौँ हुने, राम्रा सिसा भएका घर देख्यो भने ढुङ्गा हानेर फोर्दिउँ फोर्दिउँ लाग्ने, कसैले राम्रो गर्यो भने त्यो राम्रोलाई नराम्रो भनौँ भनौँ, गाली गरौँ गरौँ लाग्ने, कसैले खेतमा पानी लाउने कुलो बनाएको देख्यो भने त्यसलाई भत्काइदिउँ भत्काइदिउँ लाग्ने ! यो खालको प्रवृत्ति हुने, यो ग्रहदशाकै खेल हो कि ? हाम्रै आकाशमाथि चाहिँ यस्ता ग्रहदशा ? फेरि अरूतिर नआउने, हाम्रैमा किन आउने ? अलि टेढामेढै भएका हुन् कि के हो ग्रहदशा ? भनेर हामीले अलिकति ठट्टा गरेका थियौँ । त्यस्तै मानिसहरूमा असन्तुष्टि प्रधान, जेमा पनि असन्तुष्टि व्यक्त गर्न मन लाग्ने, कसैको अलिकति विरोध गरिहाल्नुपर्नेे, प्रशंसा गर्न नसकिने ।
  • त्यो प्रतिकात्मक ग्रहदशालाई शान्त पार्ने के उपाय छ त अध्यक्षज्यू ?
    त्यही त महाधिवेशन गर्दैछौं हामी । हाम्रो महाधिवेश नै त्यही हो । यी सबै प्रकारका ग्रहदशाहरूलाई ठीक ठाउँमा हिँडाउने ।
  • एक पटक नवौं र दशौं महाधिवेशनतिर फर्कौं । तपाईं अध्यक्षको प्रतिस्पर्धी हुनुहुन्थ्यो, विजयी हुनुभयो । तर शारीरिक रूपमा हातमा एउटा सेतो टालो बाँधेर हिँड्नुपर्ने अवस्था थियो । प्रतिस्पर्धा गर्नुभएका माधव नेपाल आज नेकपा (एमाले)मा हुनुहुन्न । दशौं महाधिवेशनमा सौराहालाई नै सम्झेर हेर्दा भीम रावललाई उपाध्यक्षमा प्रस्ताव गर्नुभएको थियो । तर, तपाईंसँग प्रतिस्पर्धा गर्नुभयो । उहाँ पनि अहिले पार्टीमा हुनुहुन्न । ११औँ महाधिवेशनमा पनि त्यही श्रृङ्खला फेरि दोहोरिने हो कि भन्ने एक खालको त्रास एमाले कार्यकर्ताहरूमा छ । यसलाई कसरी लिनु भएको छ ?
    हातमा मात्रै होइन नि । स्वास्थ्यको कुरा गदार्, म त मेनिन्जाइटिस भएर भर्खर विदेशबाट फर्केको थिएँ । अर्को कुरा मैले अस्ति चार पाँच दिन अगाडि ईश्वरजी लगायत केही नेताहरूसँग भेटेको थिएँ । मेरो त मिलेर जाऊँ भन्ने छँदैछ तर मैले मिलेर जान दबाब दिनु पनि हुँदैन । यसकारण कि लड्ने त उहाँहरूको हक हो । कुनै पनि पोस्टमा लड्न पाइन्छ । अब यो हाम्रो आन्दोलनभित्र आएको रोगको बारेमा तपाईंले उठाएको प्रश्नको बारेमा कुरा चल्दा उहाँहरू ईश्वर पोखरेल लगायतले ‘पार्टी फुटाइन्न, पार्टीभित्रै बसिन्छ, जुन ठाउँमा भए पनि बसिन्छ’ भन्नुभएको छ, म त्यो कुरालाई विश्वास गर्छु । केपी ओली सर्वसम्मत, सर्वस्वीकार्य छैन भन्नका लागि उम्मेदवारी दिने हो । जित्ने सम्भावना छैन भन्ने सबैलाई थाहा छ जो साथीहरू अहिले उम्मेदवार हुन खोज्दै हुनुहुन्छ । जित्ने सम्भावना छैन । त्यो त एकदमै छर्लङ्गै थाहा छ नि । अहिले होइन, पहिल्यैदेखि थाहा छ । फेरि पनि उम्मेदवारै हुनका लागि किन यत्रो कसिनुभा’छ त ? त्यसो भएर उम्मेदवारै भएर छोड्नका लागि यति तिक्तता बढ्ने गरी यो मिडियामा अभिव्यक्तिहरू किन दिनुहुन्छ त उहाँहरू ? अब उहाँहरूको सम्बन्धमा धेरै टिप्पणी गर्न चाहन्नँ । यसकारण कि उहाँहरू उम्मेदवार उठ्छु भन्दै हुनुहुन्छ भने उम्मेदवार उठ्न दिनु वाञ्छनीय हुन्छ । मेरो फेरि पनि आग्रह हुन्छ– यो परिस्थितिमा, यस अवस्थामा यी यथार्थहरूमा जुन यथार्थ हाम्रो अगाडि छन्, उम्मेदवार भइरहनु वाञ्छनीय छैन ।  
    (नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग महाधिवेशन प्रचार समितिका लागि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले लिएको अन्तर्वार्ता)