पार्टीका प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरूसँग महासचिव शंकर पोखरेलको भर्चुअल बैठक
८ पुस (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अब सिङ्गो पार्टीपङ्ती ११औं राष्ट्रिय महाधिवेशनबाट स्थापित नेतृत्व र विधान महाधिवेशनबाट पारित नीतिका आधारमा जनतामा जाने समय शुरू भएको बताउनुभएको छ ।
महासचिव पोखरेलले आज पार्टीका प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरूसँगको भर्चुअल बैठकमार्फत् नेताकार्यकर्ताहरूलाई महाधिवेशनको सन्देश लिएर जनतामा जान निर्देशन दिनुभयो ।
आन्दोलनमा जाँदा होस् वा निर्वाचनमा जाँदा पनि पार्टी जनतामा जाने कुरा महत्वपूर्ण विषय भएकोमा जोड दिँदै उहाँले जनतासँग घनिष्ट सम्बन्ध राख्नु अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
महासचिव पोखरेलले पार्टीको ११औं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको र नेतृत्व चयन गर्दा अत्यन्त उन्नतस्तरको आन्तरिक लोकतन्त्रको अभ्यास गरिएको बताउनुभयो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली अत्यन्त लोकप्रिय मतका साथ अध्यक्षमा तेस्रोपटक निर्वाचित हुनुभएको र यसबाट नेतृत्वमाथि उठाउने कोसिस गरिएको प्रश्नको समेत हल भएको उहाँले बताउनुभयो ।
अब पार्टीमा ध्रूबीकरण अन्त्य हुनुपर्छ भन्दै महासचिव पोखरेलले महाधिवेशन प्रतिनिधि चयन लगायतका सन्दर्भमा सानातिना मतभेद सिर्जना भएका छन् भने तिनको समेत अन्त्य गरी सिङ्गो पार्टी एकताबद्ध भएर आगामी चुनौतीको सामना गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका बारेमा प्रष्ट पार्दै उहाँले नेकपा (एमाले) आफ्नो अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा निर्वाचनमा जाने कुरा कल्पना पनि गर्न नसक्ने बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– सरकार एकातिर निर्वाचन भन्छ, अर्कोतिर जनतामा लोकप्रिय पार्टीका अध्यक्षलाई स्थानहद तोक्छ, यो सङ्गति मिल्दैन ।
उहाँले आजै पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सरकारका दुईमन्त्रीहरू (कानुन र सञ्चार)ले आफूसँग भेटवार्ता गर्नु भई अध्यक्ष केपी शर्मा ओलीलाई गरिएको स्थानहदका विषयमा केही दिनभित्रै सम्बोधन गर्छौ भन्नुभएको जानकारी गराउँदै पार्टीले यस विषयमा परिणाम देख्न चाहेको बताउनुभयो । महासचिव पोखरेलले पार्टी अध्यक्षविरूद्ध षडयन्त्रपूर्वक कुनै कदम चालियो भने सिङ्गो पार्टी प्रतिवादमा उत्रनुपर्ने हुँदा तयार भएर रहन पनि निर्देशन दिनुभयो ।
नेकपा (एमाले) निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनुपर्छ भन्ने मान्यता राख्ने र त्यो वातावरण बन्दा निर्वाचनबाट भाग्ने पार्टी होइन भन्दै महासचिव पोखरेलले अहिले पनि शान्तिसुरक्षा बहाल नभइरहेको, लुटिएका हातहतियार फिर्ता नभएका र जेल तोडेर भागेका कैदीबन्दी नफर्केका हुँदा सुरक्षा चुनौती कायम रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– नेकपा (एमाले) सधै लोकतन्त्र र निर्वाचनको पक्षमा रहेको छ । निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा होस् भन्ने पार्टीको मान्यता हो ।
महासचिव पोखरेलले संविधानलाई कुल्चेर बनेको वर्तमान सरकार र असंवैधानिक ढङ्गले गरिएको प्रतिनिधि सभा विघटनप्रति पार्टीको असहमति रहेको दोहोर्याउँदै संसद विघटनको विषय अदालतमा सुनुवाइको अवस्थामा रहेको र प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ भन्ने कुरामा पार्टीको विश्वास र अपेक्षा रहेको बताउनुभयो ।
उहाँले सरकार निर्वाचन गराउने तयारीमा रहेको देखिँदैन तर पनि निर्वाचनको वातावरण बने निर्वाचनमा जानुपर्ने हुँदा त्यसको तयारी गर्न मातहतका कमिटीहरूलाई निर्देशन दिनुभयो ।
अहिले राजनीतिक परिस्थिति केही शान्त देखिए पनि चुनौतीपूर्ण अवस्था टरेको छैन भन्दै महासचिव पोखरेलले आपराधिक तत्व उत्साहित हुने र जनता भयभित हुने अहिलेको अवस्थालाई बदल्नुपर्ने धारणा राख्नुभयो ।
यो अवस्थामा राज्यले मात्र सुरक्षा दिएर नपुग्ने हुँदा जिल्ला, पालिका र वडासम्मै स्वयंसेवक फोर्स गठन गरी राज्यका सुरक्षा अङ्गसँग मिलेर जनतालाई सुरक्षा दिनुपर्ने आवश्यकता रहेको भन्दै महासचिव पोखरेलले त्यसका लागि निर्देशन दिनुभयो । उहाँले देशका प्रमुख राजनीतिक दलहरूबीच पनि सहकार्य र समझदारीको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
महासचिव पोखरेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने कुरा समाज बदल्ने कुरासँग जोडिएको बताउँदै पार्टी कामलाई नयाँजीवन प्रदान गर्न, संस्थागत प्रक्रियालाई मजबुत बनाउन, पार्टीलाई एकताबद्ध गर्न र पार्टीको नीतिलाई स्थापित गर्ने काममा लाग्न आग्रह गर्नुभयो ।
महासचिव पोखरेलले गत भदौ २३ र २४ गते राष्ट्रको अस्तित्व र अस्मितामाथि प्रहार र लोकतान्त्रिक व्यवस्थामाथि आघात पुर्याउने गरी भएको विध्वंशकारी घटनापछि छोटो समयमा भयको वातावरण चिर्ने र प्रतिगमनविरूद्ध आवाज उठाउने पहिलो पार्टी एमाले भएको स्मरण गर्दै त्यसको राम्रो उदाहरण महाधिवेशनको उद्घाटन समारोहमा रहेको उत्साहजनक उपस्थिति भएको बताउनुभयो ।
महाधिवेशन उद्घाटन समारोहको उपस्थितिले राजनीतिक दलहरूसँग जनता छैनन् भन्ने भाष्य चिर्ने काम पनि भएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले राजधानीमा रहनुभएका नेताकार्यकर्ताहरूलाई पनि कार्यक्षेत्रमा फर्कन आग्रह गर्नुभयो । उहाँले ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिएका कारण मातहतको नेतृत्व रिक्त हुन पुगेको अवस्था छ भने पनि सोही कारण पार्टी काम प्रभावित हुन नदिन ध्यानाकर्षण गर्नुभयो ।