१३ पुस (२०८२), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठकले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।
पार्टीको ११औं राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बसेको पहिलो केन्द्रीय सचिवालय बैठकले समानुपातिक उम्मेदवारको सूची बुझाउने निर्णय गरेको हो । बैठकपछि उपमहासचिव लेखराज भट्टले भन्नुभयो– समानुपातिक सूची समयमै बुझाउने निर्णय भएको छ ।
बैठकमा अध्यक्ष ओलीले समानुपातिकतर्फका उम्मेदवारको सूची पेश गर्नुभएको थियो । जिल्ला तथा प्रदेशबाट भएको सिफारिसका आधारमा अध्यक्ष ओलीले सूची बनाउनुभएको उहाँले बताउनुभयो ।
‘जिल्ला र प्रदेशबाट सिफारिस भएको छ । त्यसमा अध्यक्षले नै गृहकार्य गरेर नामावली पेश गर्नुभएको थियो । केही सुझावसहित पारित गरिएको छ’, उपमहासचिव भट्टले भन्नुभयो ।
सचिवालय बैठकले पारित गरेको समानुपातिक उम्मेदवारको सूचीमा केही थपघट गर्न आवश्यक देखिए त्यसको जिम्मेवारी पनि अध्यक्ष ओलीलाई दिएको छ । उहाँले अन्तिम सूची बनाएपछि सोमबार आयोगमा बुझाउने उपमहासचिव भट्टले बताउनुभयो ।