-संसद पुनर्स्थापना गरेर मात्र वर्तमान राजनीतिक सङ्कट हल गर्न सकिन्छ
१५ पुस (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक तरिकाले विघटन गरिएको संसद तत्काल पुनर्स्थापना हुनुपर्ने बताउनुभएको छ ।
मदन–आश्रित स्मृति प्रतिष्ठानले मङ्गलबार काठमाडौँमा गरेको ‘एमालेको ११औं राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । सरकार बनाउने, कसलाई हटाउने, कसलाई राख्ने भन्ने थलो संसद भएकाले यसलाई असंवैधनिक व्यक्तिले विघटन गरेर संविधानलाई सङ्कटमा पारेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले संसद पुनर्स्थापनाको मुद्धा सर्वोच्च अदालतमा भएको तर यसको फैसला चाँडै हुनु आवश्यक रहेको धारणा राख्दै अध्यक्ष ओलीले ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– संसद पुनर्स्थापना गरेर मात्र वर्तमान राजनीतिक सङ्कट हल गर्न सकिन्छ ।
लोकतन्त्रलाई कसैले पराजित गर्न नसक्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– लोकतन्त्र अजेय छ, अपराजय छ । यसलाई कसैले पराजित गर्न सक्दैन । यसलाई कसैले जित्न सक्दैन । लोकतन्त्रले नै जित्छ ।
पार्टीको ११औं राष्ट्रिय महाधिवेशनबाट धेरै कुराहरूको जवाफ दिइएको बताउँदै उहाँले त्यसैगरी निर्वाचनबाट राष्ट्रिय फैसला दिनेछौं भन्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको पद बाँडफाँटको सहमतिप्रति व्यंग्य गर्दै अध्यक्ष ओलीले भन्नुभयो– चुनाव फागुन २१, बैशाख या अर्को मङ्सिर कहिले हुने हो, हामी चुनाव पर्खिरहेको छौं, मान्छेहरूले प्रधानमन्त्री बनाइसके !
भदौ २३, २४ को घटनापछि जो भेट्यो उसैलाई प्रधानमन्त्री पद बाँडिएको स्मरण गराउँदै अध्यक्ष ओलीले प्रश्न गर्नुभयो– अस्ती सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो यो ?
उहाँले निर्वाचनमा एमालेलाई परास्त गर्न केही मानिस मोर्चाबन्दीमा लागे पनि उनीहरूको मोर्चाबन्दीलाई जङ्गलमा बाघको सिकार गर्न ‘कुखुरा, बाख्रा र स्याल’ले बनाएको मोर्चाको संज्ञा दिनुभयो ।
निर्वाचन अघि प्रधानमन्त्री पद विभिन्न व्यक्तिहरूले बाँडे पनि निर्वाचनपछि एमाले, कांग्रेसले नै त्यो पद पाउने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले भन्नुभयो– एमाले, कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ?
कांग्रेस र एमालेले निर्वाचनमा सिट बाँडेर सहकार्यका साथ अघि बढ्नुपर्छः उपाध्यक्ष बादल
कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेपाल अहिले भूराजनीतिको शिकार भएको बताउनुभयो ।
निर्वाचित सरकारमा दुईतिहाइको समर्थन रहँदा रहँदै सरकार अपदस्थ गरिएको र सदन विघटन गरिएको भन्दै उहाँले त्यो अधिकार कसैलाई पनि नभएको धारणा राख्नुभयो ।
त्यस्तै षड्यन्त्र अन्तर्गत नै २०५० सालमा मदन–आश्रितको हत्या भएको भन्दै त्यसको तीन दशकपछि भदौ २३ र २४ को घटना गराइएको भनाइ उहाँले राख्नुभयो ।
उपाध्यक्ष बादलले भदौ २३ र २४ को घटना प्रतिक्रान्ति भएको र यसले देशमा असाधारण सङ्कट थपेको बताउनुभयो ।
‘नेपाल कुनै पनि देशको गुलाम भएन’, उपाध्यक्ष थापाले भन्नुभयो– आज प्रश्न उठेको छ नेपाल कतै युक्रेन र सिक्किम त हुने होइन ? यसमा सोच्न जरुरी छ ।
निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्यका साथ अघि बढ्न सक्ने धारणा राख्दै उहाँले मुलुकलाई सङ्कटबाट निकास दिन कांग्रेस–एमालेले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाइ गर्न नहुनेमा जोड दिनुुभयो ।
‘कांग्रेस र एमाले, दुवै शक्तिको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनर्स्थापना गर्नसक्छौँ । त्यसकारण यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौँ भने हामीले लोकतन्त्रलाई फेरि पुनर्स्थापना गर्न सक्छौं’ उपाध्यक्ष बादलले भन्नुभयो– हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई हामी टिकाउन सक्छौँ ।
उपाध्यक्ष थापाले संसद पुनर्स्थापना गरेर वा निर्वाचनमा गएर कांग्रेस–एमालेले प्रतिगमनकारीहरूलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्ने तर्क गर्नुभयो ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीको निष्पक्ष निर्वाचनका लागि अझै शान्तिपूर्ण र भयरहित वातावरण बन्न नसकेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा र काठमाडौं महानगरपालिकाकी उपमेयर तथा नेकपा (एमाले)की नवनिर्वाचित केन्द्रीय सदस्य सुनिता डङ्गोलले पनि आ–आफ्ना धारणा राख्नुभएको थियो ।