detail-img

सरकारले निर्वाचनको  विश्वसनीय वातावरण बनाउन सकेनः उपाध्यक्ष पौडेल 

१५ पुस (२०८२), काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष बिष्णु पौडेलले सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाउन नसकेको बताउनुभएको छ । 
रिटर्नी फेडेरेसन नेपालको स्थापना दिवसको अवसरमा आज आयोजित  कार्यक्रममा उहाँले दलहरूको विकल्प दलहरू मात्र हुन सक्ने धारणा राख्दै दलहरूलाई निषेध गरेर निर्वाचन हुन नसक्ने  बताउनुभयो ।
‘देशमा राजनीतिक स्थायित्व, सुशासन र समृद्धिमा नेकपा (एमाले) को नीति र रिटर्नीको भूमिका’ विषयमा आयोजित नीति सम्वादमा उपाध्यक्ष पौडेलले विदेशबाट फर्केकाहरूको सीप र पुँजीलाई एकीकृत गरेर देश विकासमा लगाउनुपर्ने बताउनुभयो । 
उहाँले नवयुग ईन्भेस्टमेन्ट जस्ता कम्पनी खोलेर रिटर्नी फेडेरेसनले सातै प्रदेशमा उदाहरणीय काम गर्न आग्रह गर्नुभयो । उहाँले सही नीति र नेतृत्वले मात्र देश समृद्ध बन्ने बताउनुभयो ।  कार्यक्रममा उहाँले फेडेरेसनको वेबसाईटको शुभारम्भ पनि गर्नुभयो ।
फेडेरेसनका  निवर्तमान ईन्चार्ज डा. कृष्णबहादुर केसीले रिटर्नी ठोस कार्यक्रमसहित आउनुपर्ने धारणा राख्नु भयो । पार्टीको ११औं महाधिवेशनको सन्दर्भ जोड्दै उहाँले पार्टीपङ्ती हार र जीतको मानसिकताबाट माथि उठेर एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 
संगठनलाई महत्वपूर्ण योगदान पुर्याएको भन्दै डा.केसीलाई  फेडरेसनले सम्मान गरेको छ ।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य माधव ढुंगेलले छोटो समयमा  फेडेरेसनले पार्टीमा आफ्नो परिचय निर्माण गरेको बताउनुभयो । राजनीतिक स्थायित्व विना देश समृद्ध नहुने धारणा राख्दै उहाँले पाँच वर्षे स्थायी सरकारले मात्र विकास निर्माणको खाका कोर्न सक्ने भनाइ राख्नुभयो । 
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका निवर्तमान अध्यक्ष तथा र नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य संजय थापाले आफूलाई चित्त नबुझेको कुरा व्यक्त गर्ने ठाउँ सामाजिक सञ्जाललाई नबनाउन आग्रह गर्नुभयो ।