१५ पुस (२०८२), काठमाडौं । नेकपा (एमाले)का सचिव डा. राजन भट्टराईले लोकतन्त्रको भविष्यमाथि खतरा उत्पन्न भएको बताउनुभएको छ ।
नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटीको आठौं पूर्ण बैठकमा सचिव भट्टराईले संविधानका धाराहरू मिचिएको र प्रतिकूलतातिर गइरहेको देशलाई अनुकूलतातर्फ ल्याउनुपर्ने अवस्था आएको बताउनुभयो ।
देशलाई सहज बाटोतर्फ लैजान अहिलेको अवस्थामा संसद पुनर्स्थापना नै उचित विकल्प भएको उहाँको भनाइ छ । जनताले त्याग र बलिदान गरेर बनाएको संविधान मास्न नदिन संसद पुनर्स्थापना गर्नुपर्ने धारणा डा.भट्टराईको छ ।
प्रधानमन्त्रीको नियुक्ति र संसद विघटन संविधानको धारा मिचेर गरिएको हुँदा संसद पुनर्स्थापना गरेर सर्वपक्षीय सरकार बनाएर जेनजीका जायज माग पूरा गर्न सकिने उहाँको धारणा छ ।
सर्वपक्षीय सरकारले संविधान संशोधन गर्न सक्ने र त्यसपछि निर्वाचनमा जान सकिने एमालेको ठहर रहेको सचिव भट्टराईले सुनाउनुभयो । यसो गर्न सके लोकतन्त्र र संविधान जोगिने उहाँको भनाइ छ ।
निर्वाचनका कार्यक्रमतर्फ पनि एमाले संलग्न भएको सन्दर्भ उल्लेख गर्दै सचिव भट्टराईले एमाले संसद पुनर्स्थापनाको आफ्नो मान्यतामा अडिग रहे पनि निर्वाचन बहिष्कार गर्न नहुने भएकाले सोहीअनुसार अघि बढेको स्पष्ट गर्नुभयो ।
एमालेले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको छ भने पुस २० गतेभित्र प्रत्यक्षतर्फका सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिइसकेको छ ।
नेकपा (एमाले) गत भदौ २३ र २४ गते भएको ध्वंश, अपराध, हत्याको विपक्षमा रहेको र वास्तविक जेनजीले उठाएका माग ठीक भएकाले उनीहरूको शान्तिपूर्ण आन्दोलनप्रति भने एमालेको समर्थन रहेको उहाँले प्रष्ट पार्नुभयो । जेनजी आन्दोलनमा भएको विध्वंशकारी गतिविधि गलत छ भनेर एमाले काठमाडौं महानगरपालिका कमिटीले खेलेको भूमिकाको डा.भट्टराईले प्रशंसा गर्नुभयोे ।
पार्टीको ११औं महाधिवेशनका बेला भक्तपुरको सल्लाघारीमा पनि एमालेले प्रतिगमतका विरुद्ध, संविधानको सुरक्षा र लोकतन्त्रका लागि एमाले प्रतिबद्ध छ भनेर सन्देश दिन सफल भएको उहाँले बताउनुभयो । देशमा मात्र होइन, अन्तर्राष्ट्रिय समुदायलाई पनि एमालेले सन्देश दिन सफल भएको उहाँको जिकिर छ ।
नेकपा (एमाले) काठमाडौं महानगर कमिटीका अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फुयाँल, विना श्रेष्ठ, रमेश बडाल, डा. अजयक्रान्त्रि शाक्य, रत्न गुरुङ, विन्दु श्रेष्ठ र सुनिता डंगोल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित नेताहरूलाई बधाई, सम्मान तथा शुभकामना व्यक्त गरिएको थियो ।