detail-img

सन् २०२६ लोकतन्त्र र संविधान पुनरोत्थानको बर्ष बन्नुपर्छः अध्यक्ष ओली 

सन् २०२६ लोकतन्त्र र संविधान पुनरोत्थानको बर्ष बन्नुपर्छः अध्यक्ष ओली 

१८ पुस (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको बर्ष बन्नुपर्ने बताउनुभएको छ । सन् २०२५ मा भत्किएको लोकतन्त्र र खण्डित गरिएको, मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने उहाँले बताउनुभयो । 
नयाँबर्ष सन् २०२६ का अवसरमा बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले सन् २०२५ नेपाल र नेपालीका लागि दुःखद बर्ष भएको बताउनुभयो । 
नेपालमा लोकतन्त्र विस्थापनको ठूलो सिलसिला गम्भीर ढङ्गले शुरू गरिएको भन्नुहुँदै नेपाली जनताको सचेतनताका कारण प्रतिगमनकारीहरूले त्यो प्रयासलाई चाहेको ठाउँमा पुर्याउन भने नसकेको उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयोे– जननिर्वाचित सरकार ढल्नु भनेको देशमा लोकतन्त्र र संविधान ढल्नु हो, जनताको सार्वभौमसत्ता थिचिनु, मिचिनु र ढालिनु हो ।
वर्तमान सरकार असंवैधानिक भएको र संसद अनधिकृत व्यक्तिको सिफारिशमा विघटन गरिएको भन्नुहुँदै यो प्रधानमन्त्री परिवर्तनको कुरा मात्र नभई लोकतान्त्रिक प्रणाली र प्रक्रियामाथिको प्रहार भएको उहाँले प्रष्ट पार्नुभयो ।  
प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकिएको भए पनि अहिलेसम्म निर्वाचनको वातावरण नबनेको र सरकारले वातावरण बनाउने दिशामा काम गरिरहेको छैन भन्नुहुँदै अध्यक्ष ओलीले निर्वाचनका नाममा लोकतान्त्रिक प्रक्रिया दुरूपयोग गरेर लोकतन्त्र मास्ने प्रयास हुनसक्ने खतरा औल्याउनुभयो । 
उहाँले भन्नुभयो– नेताहरूविरूद्ध झुठा मुद्दा लगाउने, अशान्त वातावरण सिर्जना गर्ने, लुटिएका हतियार फिर्ता नहुने, जेलब्रेक गर्नेहरूलाई अगुवा बनाएर अगाडि बढ्न खोजियो, निर्वाचनमा बुथ कब्जा गर्न खोजियो र निर्भयपूर्वक मतदान भएन भने निर्वाचन लोकतन्त्र कमजोर बनाउने ‘ड्रामा’ मात्र हुने छ ।
निर्वाचनमा जन अभिमत स्वेच्छाले प्रकट हुन पाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले शान्तिपूर्ण वातावरणमा स्वच्छ निर्वाचन जहिले हुन्छ, नेकपा (एमाले) निर्वाचनमा सहभागी हुने र विजय हासिल गर्ने बताउनुभयो ।  
निर्वाचन भइहाले त्यसका लागि तयार रहन निर्देशन दिँदै अध्यक्ष ओलीले भन्नुभयो– आफ्नो सामर्थ्यलाई नतिजा निकाल्ने गरी लाग्नुपर्छ । निर्वाचनका लागि सबै तरिकाले तयार रहनूस् । 
तर, अहिले देशलाई निकास दिने सबभन्दा सही बाटो ‘विघटन भएको प्रतिनिधि सभा पुनर्स्थापना’ हो भन्नुहुँदै अध्यक्ष ओलीले संसद पुनर्स्थापनापछि संसदबाट समाधान खोजिनुपर्ने पार्टीको धारणा रहेको बताउनुभयो ।  
विगतमा संसद विघटनका मुद्दामा सर्वोच्चले दुई महिनामा फैसला दिने गरेको स्मरण गर्दै यो कसैको निजी विषय नभई राष्ट्रको विषय भएकाले समयमै फैसला आउनु आवश्यक रहेको उहाँले बताउनुभयो । 
गत भदौ २३ र २४ गतेका घटना स्मरण गर्दै अध्यक्ष ओलीले सन् २०२५ मा नेपालमा मानवजातीकै विरूद्ध नृशंस र दानवीय व्यवहार भएको बताउनुभयो । नेपालीपन, नेपाली मनसँग कहिँ पनि नमिल्ने घटना भएको र यो नेपालका लागि सबभन्दा धेरै असहज रहेको उहाँले बताउनुभयो ।  
अहिले पनि आतङ्क र भय सिर्जना गर्ने, नेताहरूमाथि प्रतिशोध र पूर्वाग्रह साध्ने, चरित्र हत्या गर्ने सिलसिला चलिरहेको बताउँदै अध्यक्ष ओलीले प्रतिशोधको राजनीति लोकतन्त्र विरोधी र लोकतन्त्रलाई सिध्याउने कुरा भएको बताउनुभयो । 
लोकतन्त्रलाई ट्रयाकमा ल्याउने जिम्मेवारी नेकपा (एमाले)मा आएको र पार्टीले त्यो काम गरिरहेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले अन्य राजनीतिक दलहरूलाई  पनि लोकतन्त्रको पक्षमा आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो । 
देशमा सिर्जना गरिएको भय, आतङ्कलाई कम गर्न र शान्ति सुव्यवस्थाको अवस्था सिर्जना गर्न एमालेले शुरूदेखि नै प्रयास÷ पहल थालेको र त्रासदीपूर्ण अवस्थाबाट नेपाली समाज सामान्य अवस्थामा फर्कन शुरू भएको अध्यक्ष ओलीले जानकारी गराउनुभयो ।  
उहाँले भन्नुभयो– सबै जिल्ला, पालिका र वडावडामा गरी हजारौंको सङ्ख्यामा जुलुस र सभा गरी जनताको मनोबल उठाउने काम गरियो । 
अध्यक्ष ओलीले पार्टीको ११औं महाधिवेशन पनि असाधारण जनपरिचालनका साथै सिङ्गो पार्टी परिचालन गरेर सम्पन्न गरिएको र महाधिवेशनबाट पार्टीमा ताजापनका साथै राष्ट्रिय राजनीतिमा एउटा असाधारण र सकारात्मक परिस्थिति निर्माणको सन्देश दिन सफल भएको बताउनुभयो । 
पार्टीमा कतै गुटगत भावना होइन, पार्टी भावना, एकताको भावना, राष्ट्रका लागि समर्पित भावनाका साथ पार्टी एकताबद्ध भएर अगाडि बढ्ने उहाँले बताउनुभयो  । 
आफूले सधै पार्टीलाई एकताबद्ध बनाउन कोसिस गरेको र विगतमा लगभग दुइतिहाइको अवस्थामा सुदृढ पार्टी बनाएको स्मरण गर्दै अब पनि पार्टीमा यथोचित मिलाएर लैजाने प्रयास आफूबाट हुने अध्यक्ष ओलीले बताउनुभयो । 
नयाँबर्षमा देशका अगाडि गम्भीर चुनौतीहरू रहेको औल्याउँदै  आफ्नो निर्णय आफै गर्ने सन्दर्भमा यतिबेला देश धेरै कमजोर अवस्थामा रहेको र देशको सार्वभौमसत्ता कमजोर बनाउन विभिन्नतिरका लगानी डरलाग्दोगरी प्रयोग भइरहेको उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– अहिले पनि असंवैधानिक काम भइरहेका छन् । विभिन्न प्रकारका तत्व जम्मा गरेर शक्ति निर्माण गर्न खोजिँदै छ । सर्वोच्चले थुनामा राखेर कारवाही गर्नु भनेका मान्छे जिल्ला र उच्च अदालतबाट छोड्ने काम भएको छ, छोड्ने वित्तिकै तमासा देखिँदै छ । 
२५० बर्षको अबधिमा नभएका विकासका काम विगत ३६ बर्षमा भएका र आधुनिकतासहितको विकासका साथै देश विकासशील राष्ट्रको लहरमा उक्लिँदै गरेको अवस्थामा ती असाधारण कामलाई ओझेलमा पारेर देशमा केही भएन भन्ने भाष्य खडा गरिएको र जनतालाई अल्मल्याउने प्रयास भएको बताउँदै अध्यक्ष ओलीले यस भ्रमबाट जनतालाई मुक्त गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । 
उहाँले नेपाल विकासका दृष्टिले धेरै अगाडि बढेको अवस्थामा २०२५ मा असाधारण क्षति पुर्याइएको र अब २५ बर्ष प्रयास गर्दा बल्ल हिजोको ठाउँमा पुर्याउन सकिने गरी देशलाई पछाडि धकेलिएको बताउनुभयभो । 
अध्यक्ष ओलीले देश बनाउने अभियानमा जुट्न आग्रह गर्दै भन्नुभयो– फेरि फर्किएर आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ, समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य पूरा गर्न सकिन्छ । यो हुनसक्ने कुरा हो । 
देश बाहिर ठुलो सङ्ख्यामा नेपालीहरू रहेका र उनीहरूमा भ्रमको खेती गर्ने कोसिस हुनसक्ने र कुप्रचार, झुठा प्रचार हुन सक्ने भन्दै युवा जनशक्तिलाई भ्रममुक्त गर्नु प्रवासी नेपाली मञ्च (ओएनएफ)को  सबैभन्दा ठूलो अभिभारा भएको उहाँले बताउनुभयो ।  
अध्यक्ष ओलीले भन्नुभयो– प्रचार र अल्गोरिदमको प्रभावमा नपरी आफ्ना कुरा लैजानुपर्छ । प्रोमोटेड कुरालाई यथार्थ ठानेर प्रभावित हुनुहुँदैन । 
उहाँले नयाँबर्ष २०२६ ले सबै नेपालीमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।