detail-img

केन्द्रीय सचिवालयको बैठकः निर्वाचनकेन्द्रित जिम्मेवारी बाँडफाँट

२२ पुस (२०८२)।, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालयकोे दोस्रो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसी पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आगामी  निर्वाचन केन्द्रित जिम्मेवारी बाँडफाँट लगायत विभिन्न महत्वपूर्ण विषयमा छलफल र आवश्यक निर्णय गरी सम्पन्न भएको छ । 
पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकमा अध्यक्ष ओलीले विकसित वैश्विक र आन्तरिक राजनीतिक घटनाक्रम, आगामी निर्वाचन लगायतका विषयमा सम्बोधन गर्नुभएको थियो । 
सम्बोधनका क्रममा अध्यक्ष ओलीले वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको भन्दै निर्वाचन सार्ने र प्रतिनिधि सभा पुनर्स्थापना हुन नदिने प्रयास भइरहेको बताउनुभएको थियो । अध्यक्ष ओलीले अदालतमा समेत दबाब सिर्जना गर्ने गतिविधि बढ्दै गएको र जसले लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिएको, नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको, वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको भनाइ राख्नुभएको उपमहासचिव लेखराज भट्टले बताउनुभयोे । 
बैठकले राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलहरूका बीचमा भएको सहमतिका आधारमा पार्टीका उम्मेदवारहरूको टुङ्गो लगाउने जिम्मेवारी अध्यक्षलाई दिएको छ । 
बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ भने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठनको निर्णय गरेको छ । 
 घोषणापत्र मस्यौदा कमिटी सदस्यहरूमा  रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल रहनुभएको छ ।
त्यसैगरी, निर्वाचन परिचालन कमिटीको सचिवमा विष्णुप्रसाद रिमाल सचिव रहने गरी सदस्यहरूमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र डा. भीष्म अधिकारी हुनुहन्छ ।  
सचिवालय बैठकले पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई निर्वाचनको काममा केन्द्रित रहने गरी परिचालन गर्ने निर्णय गरेको छ । 
बैठकले कोशी प्रदेशको संयोजकमा शेरधन राई, मधेस प्रदेश संयोजकमा  लीलानाथ श्रेष्ठ, बाग्मती प्रदेश संयोजकमा महेश बस्नेत, नवगठित राजधानी प्रदेशको संयोजकमा डा.राजन भट्टराई, गण्डकी प्रदेशको संयोजकमा खगराज अधिकारी, लुम्बिनी  प्रदेशको संयोजकमा पद्मा अर्याल, कर्णाली प्रदेशको संयोजकमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशको संयोजकमा गणेश ठगुन्नालाई तोकिएको छ । 
यसैगरी पार्टी संगठन विभागको जिम्मेवारी भानुभक्त ढकाल र प्रचारको संयोजकमा मीनबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ ।  बैठकले पार्टीको संशोधित विधानका आधारमा बागमती प्रदेश संगठन कमिटी, राजधानी प्रदेश संगठन कमिटी र सम्पर्क विशेष संगठन कमिटी गठन गरेको छ ।
यस्तै, पार्टीको दोस्रो विधान महाधिवेशन र पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनबाट संशोधित पार्टी विधानका आधारमा पार्टी नियमावलीको मस्यौदा गर्नका लागि भानुभक्त ढकाल संयोजक, रमेश बडाल र माधव ढुंगेल सदस्य रहनुभएको मस्यौदा कमिटी गठन गरिएको छ । 
बैठकले नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिकामा संशोधन गर्ने गरी     नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको नियमावलीमा अध्यक्ष, कार्यकारी निर्देशक र सदस्यहरू पार्टी केन्द्रीय कमिटीले चयन गर्ने व्यवस्था कायम गरी त्यसको अध्यक्षमा विष्णुप्रसाद रिमाललाई चयन गर्ने निर्णय गरेको छ । 
बैठकले दुईवटा प्रस्ताव पारित गरेको छ–
 क) भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हमला र राष्ट्रपति निकोलस मडुरोको अपहरणलाई अन्तर्राष्ट्रिय कानुनको विपरीत हस्तक्षेप भएको भन्दै  उक्त घटनाबारे  प्रस्ताव पारित गरी हमलाको निन्दा गरेको उपमहासचिव लेखराज भट्टले बताउनुभयो ।  
प्रस्तावमा साना वा ठूला राष्ट्रको सुरक्षा तथा सार्वभौमसत्ता बराबरी हुन्छ र विश्व संयुक्त राष्ट्रसंघको बडापत्रका आधारमा चल्नुपर्ने र भेनेजुएलामाथि भएको व्यवहार न्यायिक दृष्टिले कदापि स्वीकार्य हुन नसक्ने उल्लेख गर्दै सबै राष्ट्रको सार्वभौमिकता,स्वतन्त्रता र अखण्डताको सम्मान गर्न समेत आग्रह गरिएको हो ।
ख) बैठकले जनकपुर र वीरगञ्जमा भएका सामाजिक सद्भाव खल्बल्याउने खालका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आपसमा विद्वेष भड्काउने  गतिविधि नगर्न र सामाजिक सद्रभाव कायम राख्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ  ।