detail-img

पार्टीको आयव्यय विवरण निर्वाचन आयोगमा पेस

३० पुस (२०८२), काठमाडौं । नेकपा (एमाले)ले आर्थिक वर्ष २०८१/८२ को वार्षिक आयव्यय विवरण आज निर्वाचन आयोगमा बुझाएको छ । साथै, उक्त विवरण पार्टीले आफ्नो वेबसाईट www.cpnuml.org  मार्फत् सार्वजनिक गरेको छ । 
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई तोकेको समयसीमाभित्रै पार्टीले आफ्नो आयव्यय विवरणको लेखा परीक्षण गराई, आन्तरिक राजस्व कार्यालयबाट करचुक्ता प्रमाणपत्र प्राप्त गरी लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाएको हो । पार्टीका तर्फबाट महासचिव शंकर  पोखरेलले निर्वाचन आयोगलाई लेखापरीक्षण प्रतिवेदन पठाउनुका साथै वेबसाइटमार्फत् सार्वजनिक गरिएको  जानकारी गराउनुभएको छ । 
लेखापरीक्षण प्रतिवेदन अनुसार पार्टीको आर्थिक वर्ष २०८१/८२ को आम्दानी १६ करोड ४८ लाख २७ हजार ५८२ रुपियाँ ७७ पैसा रहेको छ । गतवर्षको तुलनामा पार्टीको आम्दानी यो वर्ष एक करोड ६९ लाख २१ हजार ७७३ रुपियाँ ३८ पैसाले बृद्धि भएको छ । गतवर्षको पार्टीको आम्दानी १४ करोड ७९ लाख पाँच हजार ८०९ रुपियाँ ३९ पैसा रहेको थियो ।
पार्टीको आम्दानीको मुख्य स्रोत पार्टीका सदस्यहरूको सदस्यता शुल्क र लेबी रहेको छ । यसवर्ष सदस्यता शुल्कवापत ९ करोड ३३ लाख ५३ हजार ८७७ रुपियाँ २५ पैसा जम्मा भएको छ भने लेबीवापत ६ करोड ३३ लाख ६९ हजार ८३२ रुपियाँ ४० पैसा रहेको छ । पार्टीको गत आर्थिक वर्ष २०८०÷८१ को तुलनामा यस वर्ष खर्च घटेको छ । यसवर्ष खर्च रकम पाँच करोड ९७ लाख ५३ हजार ९९९ रुपियाँ ५१ पैसा रहेको छ भने अघिल्लो आर्थिक वर्ष यो रकम सात करोड ५० लाख ३८ हजार ३०० रुपियाँ ६९ पैसा रहेको थियो । 
पार्टीको आर्थिक गतिविधि आधुनिक लेखा प्रणाली बमोजिम सञ्चालन गरिएको र हरेक वर्ष लेखापरीक्षण गराई व्यवस्थित र पारदर्शी गर्ने गरिएको नेकपा (एमाले)का केन्द्रीय लेखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पार्टीको बचत रकममध्ये २१ करोड रुपियाँ मुद्धति खातामा जम्मा गरिएको छ । गतवर्ष १० करोड रुपियाँ रािखएकोमा यस वर्ष बढाएर २१ करोड पुर्याइएको छ । पार्टीको मुद्धति निक्षेपसहितको बैंक व्यालेन्स ४० करोड ७२ लाख १७ हजार ३१२ रुपियाँ ६८ पैसा रहेको छ ।