detail-img

लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछः महासचिव पोखरेल

१ माघ (२०८२), दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने बताउनुभएको छ । 
प्रेस चौतारी नेपाल, दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता गर्ने निर्णय कानुनी राज्यको मर्मविपरीत भएको भन्दै सरकारलाई उक्त निर्णय तत्काल सच्याउन आग्रह गर्नुभयो ।
उहाँले भदौ २३ र २४ गते भएका घटनाहरूलाई सामान्य आन्दोलनको रूपमा व्याख्या गर्न नमिल्ने बताउँदै त्यसको अन्तर्य अहिलेका निर्णयहरूले नै पुष्टि गरिरहेको बताउनुभयो । “प्रहरी र अदालतजस्ता संवैधानिक निकायमाथि आक्रमण हुनु सामान्य विषय होइन”, महासचिव पोखरेलले भन्नुभयो– यस्ता गतिविधिलाई ढाकछोप गर्ने निर्णयले हिंसा र अराजकतालाई प्रोत्साहन गर्छ ।
‘नयाँ शक्ति’ को नाममा कानुनी राज्यलाई चुनौती दिन नहुने उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समेत सिद्धान्तको आधारमा यस्तो निर्णयको विरोध गर्न सक्नुपर्ने धारणा उहाँले राख्नुभयो । प्रहरीको मनोबल गिराउने कार्यले देशमा शान्ति–सुरक्षा कायम हुन नसक्ने बताउँदै महासचिव पोखरेलले सरकारका गतिविधि सुरक्षा निकायको मनोबल बढाउनेतर्फ केन्द्रित नभएको बताउनुभयो । 
दलहरू बलियो भए मात्र लोकतन्त्र बलियो हुने धारणा राख्दै उहाँले नेपाली कांग्रेसलाई समयमै सचेत भएर आन्तरिक एकता मजबुत बनाउन सुझाव दिनुभयो । संविधान र संसद् पुनर्स्थापनाको बहसमा एमालेको धारणा स्पष्ट रहेको उल्लेख गर्दै महासचिव पोखरेलले लोकतान्त्रिक मान्यतालाई सम्मान गर्दै निर्वाचनमार्फत् निकास खोज्न एमाले तयार रहेको बताउनुभयो ।
संविधान “घाइते” बनाइएको अवस्थामा संसद पुनःस्थापनाको बाटोमा जानु आजको आवश्यकता भएको भनाइ राख्दै चुनाव हुने अवस्था आए एमाले निर्वाचनबाट नभाग्ने र जनादेशबाट मुलुकलाई व्यवस्थित गर्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।
लोकप्रियतावाद लोकतन्त्रको विकल्प नभई अराजकतावादतर्फ धकेल्ने खतरा भएको उल्लेख गर्दै अहिले पुरानो र नयाँ पुस्ताबीच कृत्रिम द्वन्द्व सिर्जना गरी समाज र देशलाई विभाजन गर्ने प्रयास भइरहेको भनाइ उहाँले राख्नुभयो । 
“नेपाली समाज सधैँ पुस्तागत सहकार्यबाट अघि बढेको हो”, महासचिव पोखरेलले भन्नुभयो– विखण्डनले राष्ट्र कमजोर बनाउँछ, एकताले मात्रै समृद्धिको बाटो खोल्छ ।
उहाँले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि भइरहेका षड्यन्त्रविरुद्ध देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो । महासचिव पोखरेलले लोकतन्त्र, शान्ति–सुरक्षा र कानुनी राजमाथि गम्भीर चुनौती बढ्दै गएको भन्दै राज्यलाई संवेदनशील र जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
उहाँले नेपालको पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस टुक्रिनु दुःखद् भएको टिप्पणी गर्दै लोकतान्त्रिक आन्दोलनका लागि पनि यो राम्रो पक्ष नभएको बताउनुभयो । 
आमनिर्वाचनको सन्दर्भमा सरकार निर्वाचनको वातावरण बनाउन असफल भएको भन्दै महासचिव पोखरेलले माघ ६ गते उम्मेदवारी दर्ताको निर्वाचन कार्यतालिका रहे पनि शान्ति–सुरक्षाको प्रत्याभूति हुन नसकेको बताउनुभयो । 
प्रहरीका लुटिएका हतियार र भागेका कैदीबारे छानबिन गर्नुपर्ने, राजनीतिक दलहरू जनताबीच निर्वाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । 
अन्तर्राष्ट्रिय सन्दर्भ उल्लेख गर्दै महासचिव पोखरेलले विश्व व्यवस्थामा हलचल देखिएको र संयुक्त राष्ट्रसंघको संरचना कमजोर पार्ने प्रयासले नेपाल जस्तो संवेदनशील मुलुक सतर्क हुनुपर्ने बताउनुभयो । “आधुनिक विश्वको आधार अन्तर्राष्ट्रिय एकता हो तर आज विश्व व्यवस्था खलबलिएको छ”, उहाँले भन्नुभयो ।
पार्टी अद्यावधिक हुने प्रक्रियाबारे बोल्दै महासचिव पोखरेलले राजनीतिक दल पुराना–नयाँ नभई नीति र नेतृत्व अद्यावधिक गर्ने आधारमा नयाँ हुने बताउनुभयो । “रास्वपाभन्दा एमाले बढी अद्यावधिक नयाँ पार्टी हो”, उहाँले भन्नुभयो । पपुलिजमलाई अराजकतावादको संज्ञा दिँदै यसले लोकतन्त्रलाई खतरातर्फ धकेल्ने महासचिव पोखरेलको भनाइ छ । 
जिल्ला अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र आयोगका सदस्यहरूलाई सम्मान गरिएको थियो । जिल्ला उपाध्यक्ष विमल योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव निमुसंगम घर्तीले गर्नुभएको थियो ।