-नेकपा (एमाले) जनताको प्रतिनिधिका रूपमा उभिएको छ र यसले जनताको अधिकार स्थापित गरेर छाड्नेछ
-आज देशमा थिति र विधिको शासन छैन, जसको लाठी उसको भैँसी जस्तो शासन चलेको छ, महान्यायाधिवक्ताको कार्यालय इतिहासमै कलङ्कित र लज्जित भएको छ
-कोही–कोही केपी ओलीसँग चुनाव लड्छु भनेर तामझाम गरेर हामीले नचिन्ने नोट लिएर निर्वाचन क्षेत्रमा पुगेका छन्
१ माघ (२०८२), काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतामाथिको आक्रमण अहिले पनि जारी रहेको उल्लेख गर्दै न्याय र लोकतान्त्रिक अधिकारका लागि सङ्घर्ष आवश्यक रहेको बताउनुभयो ।
आज काठमाडौंमा आयोजित ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा प्रकाशित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको लोकार्पण कार्यक्रममा अध्यक्ष ओलीले जनताले आक्रमणको विरोध गर्दै आफ्नो अधिकार प्राप्त गर्ने बताउनुभयो ।
‘आज नेकपा (एमाले) जनताको प्रतिनिधिका रूपमा उभिएको छ र यसले जनताको अधिकार स्थापित गरेर छाड्नेछ,’ उहाँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले प्रतिक्रियावादीहरूले नेपालमा नेपालीको सरकार हुन नदिने उद्देश्य राखेको बताउँदै एमालेको सङ्घर्षको मुख्य उद्देश्य नेपाली जनताको सरकार स्थापना गर्नु रहेको प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो– नेपालीको सरकार हुनुपर्छ भन्नेको मनोबल टुटाउन व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका तथा उद्यम क्षेत्रमा आगो लगाउने काम भएको छ ।
वर्तमान सरकारले जनताको सम्पत्ति लुट्नेहरूलाई संरक्षण गरेको र रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता लिने प्रयासमा सरकारले सक्रिय भूमिका खेलेको अध्यक्ष ओलीले बताउनुभयो ।
‘आज थिति र विधिको शासन छैन, जसको लाठी उसको भैँसी जस्तो शासन चलेको छ, महान्यायाधिवक्ताको कार्यालय इतिहासमै कलङ्कित र लज्जित भएको छ,’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले रवि लामिछानेको संगठित अपराध मुद्दा फिर्ता लिन लागेका महान्यायाधिवक्तालाई प्रश्न गर्दै भन्नुभयो–जनताको ठगिएको पैसा कसले तिर्छ ? महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ?
उहाँले एमाले जालसाजीको बाटो होइन, सत्य र न्यायको बाटो हिँड्ने पार्टी भएको र दमनको प्रतिवाद गर्दै सफलता प्राप्त गर्नेमा पार्टी अडिग रहेको भनाइ राख्नुभयो ।
‘टर्च बालेर खोज्दा पनि एमाले भेटिने छैन भनेर केही मानिस हिँडेका थिए, तर एमाले अजय किल्ला बनेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।
एमालेमाथि हमला पटक–पटक भइरहेको स्मरण गराउँदै पार्टीले जब विकास र राष्ट्रिय महत्वका कार्यक्रम अघि बढाउँछ, त्यही बेलामा एमालेमाथि आक्रमण हुने गरेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले मुलुकलाई अस्थिर बनाउने योजना अनुसार आफू नेतृत्वको सरकार अपदस्त गर्ने काम भएको बताउनुभयो ।
उहाँले केही व्यक्तिहरू आफूविरुद्ध चुनाव लड्ने भन्दै तामझामका साथ निर्वाचन क्षेत्रमा पुगेको प्रसङ्ग उल्लेख गर्दै त्यसमा प्रयोग भएको पैसाको स्रोतप्रति प्रश्न उठाउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– कोही–कोही केपी ओलीसँग चुनाव लड्छु भनेर तामझाम गरेर हामीले नचिन्ने नोट लिएर निर्वाचन क्षेत्रमा पुगेका छन् ।
नेकपा (एमाले) प्रतिक्रियावादीको दया, माया र कृपाले यहाँसम्म नपुगेको स्पष्ट पार्दै पार्टी सङ्घर्षकै बलमा स्थापित भएको उहाँले बताउनुभयो । ‘हामी प्रतिक्रियावादीको दया, माया र कृपाले यहाँ पुगेका होइनौँ,’ उहाँले भन्नुभयो– नेपाल हार्दैन, नेपाललाई हार्न दिइँदैन किनकि यहाँ नेकपा (एमाले) छ ।
अराजक गतिविधि गर्नेहरूप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भन्नुभयो– लुसिफरहरूले धेरै धाक नलगाए हुन्छ, जलाउनेहरूले ती जलाएका संरचनाहरू फेरि बनाउनु पर्दैन ?
इतिहास लामो हुने भएकाले कसैको हातबाट इतिहास नाप्ने प्रयास नगर्न चेतावनी दिँदै उहाँले युवापुस्तालाई गम्भीर सन्देश दिनुभयो । ‘तिम्रै हातबाट इतिहास नाप्न नखोज, इतिहास लामो छ,’ अध्यक्ष ओलीले भन्नुभयो– युवाहरूले डिग्री गरेर मात्र हुँदैन, देश पढ, देश बुझ ।
उहाँले आफूहरू व्यक्तिगत स्वार्थका लागि नभई देशका निम्ति लडिरहेको स्पष्ट पार्दै परिवर्तन नभएको होइन, परिवर्तन भएको छ भन्ने कुरामा जोड दिनुभयो ।
नेपाली समाज विस्तारै विकृत हुँदै गएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सुधारका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाली मन भड्काउने र अराजकता फैलाउने तत्त्वहरूलाई नियन्त्रण गर्नुपर्नेमा उहाँको जोड थियो ।
उहाँले कांग्रेसमा देखिएको विभाजनप्रति चिन्ता व्यक्त गर्दै कांग्रेलाई अदृश्य शक्तिले विभाजनको प्रयास गरेको बताउनुभयो । यस्तै प्रयास एमाले विभाजनको बेलामा पनि भएको अध्यक्ष ओलीले स्पष्ट पार्नुभयो ।
२०४० साल माघ १ गते सिन्धुपाल्चोकको पिस्करमा तत्कालीन पञ्चायती शासकले गोली हानी माघे सक्रान्ति मेला हेर्दै गरेका स्थानीयलाई मारिएको घटनाको पनि स्मरण गराउनुभयो ।