detail-img

‘वर्तमान सरकार नेपाली जनताको लागि अभिशाप’

विराटनगर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान पाँचदलीय गठबन्धनको सरकार नेपाली जनताको लागि अभिशाप भएको बताउनुभएको छ । 
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले यो सरकार लामो समयसम्म रहँदा देशलाई श्रीलंकाको बाटोतर्फ लैजाने चिन्ता प्रकट गर्नुभयो । 
‘यो सरकार स्वार्थका लागि मात्र बनेको हो, यो सरकार बन्दै गर्दा मुलुकको आर्थिक अवस्था वचतमा रहेको तर अहिले खर्बौ ऋणमा पुगेको छ ।’ 
उहाँले भन्नुभयो, ‘महंगी दोब्बरभन्दा बढी बृद्धि भएको छ । पूँजीगत खर्च लज्जास्पद छ । जसले गर्दा मुलुकको अर्थतन्त्र धराशायी बन्दै गएको छ । बजेट निर्माणका क्रममा जे जस्ता हर्कत भएका कुराहरू बाहिर आए, त्यो एकप्रकारको राष्ट्रघात हो । यसले माफियातन्त्रलाई अझ भनौं दलाल नोकरशाही पुँजीवादलाई प्रश्रय गरेको देखिन्छ ।’ 
दुनियाँमा कहीँ पनि गठबन्धनले समृद्धि ल्याएको छैन भन्दै उहाँले विकासको लागि नीतिगत नेतृत्व चाहिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘नीतिगत नेतृत्व गर्नसक्ने तागत एमालेसँग मात्रै छ । कांग्रेसले त नीतिगत नेतृत्व नै गुमाइसकेको छ, गठबन्धन त स्वार्थका लागि मात्र बनेको हो ।’ 
‘वर्तमान सरकारका हरेक गतिविधि नेपाली जनताको लागि अभिशाप बनेका छन्, यसलाई जतिसक्दो चाँडो हटाउनुपर्छ । निर्वाचनको मिति घोषणा भएको छ, निर्वाचनबाटै जनताले छिनोफानो गर्छन्,’महासचिव पोखरेलले भन्नुभयो ।
महासचिव पोखरेलले चुनावको मिति घोषणा भएपछि संसदको भूमिका निष्कृय हुने भए पनि सङ्कटको बेला काम लाग्छ भनेर जोगाएर राखेको बताउनुभयो । 
प्रधानन्यायाधीश विरुद्धको महाअभियोग राम्रो नियतले नलगाइएको भन्दै उहाँले यसको छिनोफानोमा सत्तापक्षको व्यवहार चरम लापरवाहीपूर्ण रहेको बताउनुभयो । 
‘फैसलाहरू स्वार्थमा आधारित, लेनदेनमा आधारित भयो भन्ने अर्थमा प्रधानन्यायाधीश माथि महाअभियोग लगाइयो । त्यो त सौदाबाजी हो । त्यसमा त दुई पक्ष हुन्छ ।’ महासचिव पोखरेलले भन्नुभयो,‘ त्यस अर्थमा दोषी एउटा मात्र हुँदैन । प्रधानमन्त्री निर्दाेष हुने प्रधान न्यायाधीश मात्र दोषी हुने हुँदैन । एउटालाई दोषी देखाएर अर्को पानीमाथिको ओभानो बन्ने गठबन्धनका नेताहरूको प्रयास गलत हो ।’