detail-img

विज्ञान तथा प्रविधि विभागद्वारा बार्षिक कार्ययोजना तयार

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय विज्ञान तथा प्रविधि विभागले आफ्नो बार्षिक कार्ययोजना तयार गरेको छ । साथै, विभागका सदस्यहरूको कार्य विभाजन गरेको छ । 
विभागका प्रमुख पार्टीका केन्द्रीय सदस्य टंक कार्कीको अध्यक्षतामा २०७९ साउन २९ गते बसेको बैठकले बार्षिक कार्ययोजना पारित गरेको हो । 
विभागले पार्टीका महासचिव शंकर पोखरेललाई आज सो कार्ययोजना प्रस्तुत गरेको छ । 
विभागले विज्ञान तथा प्रविधिसम्बन्धी राष्ट्रिय नीति बनाउने निर्णय गर्दै त्यसका लागि आगामी भदौ महिनामा राष्ट्रियस्तरको कार्यक्रम गर्ने भएको छ । विभागका सचिव सञ्जिव रोकाहाका अनुसार, उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरूलाई सहभागी गराई उनीहरूका सुझाव लिइने छ । 
विभागले युवा वैज्ञानिक सम्मेलन पनि गर्ने भएको छ । विभागका प्रत्येक सदस्यले संयोजन गर्ने गरी एकबर्षभित्र २१ वटा कार्यक्रम गर्ने कार्ययोजना छ । 
मुलुकको विकास र समृद्धिमा पाँच क्षेत्रबाट योगदान पुर्याउन सकिने र ति क्षेत्रहरूमा विज्ञान र प्रविधिको अधिकतम हुनुपर्ने कुरामा विभागले जोड दिएको छ । विभागले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र व्यापार क्षेत्रबाट समृद्धिमा योगदान पुग्ने हुँदा ति क्षेत्रमा विज्ञान र प्रविधिको अधिकतम प्रयोग हुनुपर्ने ठहर गरेको छ । 
विज्ञान र प्रविधिका विषयमा विभागले एउटा अन्तराष्ट्रिय सम्मेलन गर्ने कार्ययोजनामा राखेको छ । 
पार्टीमा विज्ञान र प्रविधिको अधिकतम प्रयोग गराउन सातै प्रदेशका पार्टी कमिटीसँग अन्तर्क्रिया गर्ने योजना बनाएको छ । त्यस्तै, देशभरका पाँचवटा सरकारी विद्यालयमा विज्ञान र प्रविधिमा आएको पछिल्लो टेक्नोलोजीका बारेमा प्रस्तुती कार्यक्रम गर्ने योजना बनाएको छ । 
बैठकले निर्वाचनमा विज्ञान र प्रविधिको प्रयोग गरी गर्न सकिने निर्वाचन लक्ष्यित कामका बारेमा पनि योजना बनाएको सचिव रोकाहाले जानकारी दिनुभयो ।