detail-img

‘नागरिकता विधेयकः गठबन्धनवालाहरू मसलको भाषा बोले’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमा कमी कमजोरी बाँकी नरहुन् भनेर राष्ट्रपतिले छलफल र पुनर्विचारको मौकाका रूपमा संसदमा फिर्ता पठाए पनि गठबन्धनमा रहेकाहरूले छलफल नगराई पुनः राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेर पाखुरे बल र मसलको भाषा बोलेको वताउनुभएको छ । 
अध्यक्ष ओलीले भन्नुभयो– ‘नागरिकता विधेयक संसदमा पुनः प्रवेश हुन पाएको छैन, छलफल नगराई पठउने भनेर निर्णय गरिसके, कस्तो संसदीय अभ्यास हो यो ? यस्ताले देश बनाउँछन् ? देशका लागि दुर्भाग्य हो ।’
‘यिनीहरूबाट देश बचाउनुपर्छ, नेपाली जनताले यस्तालाई सरकारमा राखिराख्नुहुँदैन, त्यसका लागि सबै एकताबद्ध भई आगामी निर्वाचनमा यिनीहरू सबैलाई पराजित गर्नुपर्छ,’ अध्यक्ष ओलीको भनाई थियो । 
नेकपा (एमाले) देश बनाउने अभियानमा रहेको र यसको सम्पूर्ण ध्येय ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने रहेको चर्चा गर्दै अध्यक्ष ओलीले देशभरका बामपन्थी, देशभक्त, परिवर्तन र रूपान्तरणको पक्षमा रहेका सबैलाई एमालेमा आउन पुनः आह्वान गर्नुभयो । 
जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी परिषद्का सदस्य हेमराज राई, सोही पार्टीका केन्द्रीय सदस्यहरू लगायत विभिन्न कमिटीका कार्यकर्तालाई पार्टीमा प्रवेश र स्वागत गर्न बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो – ‘काँग्रेसको पुच्छर बनेर बामपन्थी भइन्छ ?
यतिबेला देशव्यापी रूपमा नेकपा (एमाले) मा प्रवेशको लहर चलिरहेको र यो क्रम आगामी मंसीर ४ गते विहानसम्म चल्ने वताउँदै अध्यक्ष ओलीले देशलाई बर्बादीबाट जोगाउन सबै मिलेर अगाडि बढौं, एकताबद्ध भएर देश बनाऔं भन्नुभयो । 
आगामी निर्वाचनमा लुटको राज मच्चाइरहेका गठबन्धनवालाहरूलाई पराजित गर्नुपर्ने वताउँदै अध्यक्ष ओलीले भन्नुभयो–‘नेकपा (एमाले) ले जित्दा देशले जित्ने छ, राष्ट्रियता, लोकतन्त्र, सुशासन, शान्ति सुरक्षा सबै क्षेत्रले जित्ने छ ।’
काँग्रेस विचारशून्य र लुलो भयो
काँग्रेसको नीति भनेकै–गठबन्धन 
नेपाली काँग्रेसका बारेमा चर्चा गर्दै अध्यक्षले भन्नुभयो– ‘इतिहासबाटै अलोकतान्त्रिक काम गर्दै आएको काँग्रेस लोकतान्त्रिक रहेन । अहिले काँग्रेस प्रचण्डको कार्यकर्ता भएको छ । एमालेसँग विचार, आचरण, व्यवहार केहीमा पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा रहेन काँग्रेस । आफै त उभिनै नसक्ने गरी लुलो भयो काँग्रेस । मैले लुलो भयो काँग्रेस भनेको मेरो अस्पतालमा उपचार गर्दाको तस्वीर छापेर काँग्रेसलाई बलियो बनाउने काम गरेछन् ! काँग्रेसको प्रजातन्त्र सिद्धियो, विचारशून्य छ काँग्रेस, कहाँ जाने थाहा छैन । अब उसको गन्तव्य भनेको गठबन्धन हो । नीति भनेकै गठबन्धन हो । काँग्रेसका सबै नेताको चिन्ता भनेको जहान परिवार हो ।’  
शहीदहरूका शालिक छैनन्
जाँड खाएर मर्नेको शालिक !
माओवादीलाई जनताले राम्रैसँग चिनिसकेको र प्रचण्ड एण्ड कम्पनीले पार्टीको रूपै लिएको छैन भन्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘महान जनयुद्ध’बाट जनवाद ल्याउँछु भनेर हिडेको माओवादी अहिले एमालेलाई सिध्याउँछु भन्दै स्वाँ–स्वाँ र फ्वाँ–फ्वाँ गर्दै काँग्रेसका पछाडि लागिरहेको छ । जनयुद्धका नाममा १७ हजार मानिसको ज्यान गयो, कैयौं बेपत्ता छन्, कैयौंको बेहाल अवस्था छ, स्कूल– कलेजमा पढ्दै गरेका किशोरकिशोरी, युवा युुवतीलाई युद्धमा सहभागी गराउने माओवादीलाई अहिले तिनीहरूका बारेमा कहाँ छन्, के गर्दै छन्, कुनै मतलव छैन, कहीँ शहीदको शालिक बनेको छ ? तर, जाँड खाएर मरेको आफन्तको शालिक ! कहाँ छ अहिले माओवादी ?’ 
नेकपा (एमाले) सँग कुनै पनि राजनीतिक दलको तुलना हुन नसक्ने वताउँदै अध्यक्षले भन्नुभयो– ‘एमालेको गन्तव्य, यसको कार्यदिशा, नीति, नीति कार्यान्वयनको पक्ष, लक्ष्य निर्धारण कुनै पनि हिसावले अन्य पार्टीसँग तुलना हुन सक्दैन । देशको रक्षा, लोकतन्त्रको सुदृढीकरण, स्वाधीनताको सम्बद्र्धन, राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने, मुलुकमा शान्ति, अमनचयन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्दै निर्मूल गर्ने, समाजिक न्याय,समानता सहितको समृद्धि हासिल गर्ने, समग्रमा समृद्ध नेपाल सुखी नेपाली बनाउने हाम्रो उद्देश्य र गन्तव्य हो ।’
केपी ओलीसँग अर्बौं रूपियाँ !
पत्ता लगाइदिए सबै उसैलाई दिने थिएँ
आफूसँग रिजर्भ बैकमा अर्बौं रुपियाँ रहेको र आगामी निर्वाचनमा केपी ओलीले २० अर्ब रुपियाँ खर्च गर्छ भनेर बोल्न लगाएर जनतामा भ्रम फिजाउँने काम गरिरहेको चर्चा गर्दै अध्यक्ष ओलीले त्यो पैसा पत्ता लगाइदिए शतप्रतिशत रुपियाँ उसेको नाममा गर्दिने थिएँ भन्नुभयो । 
उहाँले कसैले भन्न लगाएर ज्याला लिएर काम गर्ने मान्छेले भ्रम फिजाउन त्यसो गरेकाले जनतालाई भ्रममुक्त पार्ने काम गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । 
‘नेकपा (एमाले) ले देश बनाई छाड्ने महान् उद्देश्य बोकेको र यस उद्देश्यलाई पूरा हुन नदिनका लागि अनेकथरिका तत्व जोडिएको जोडिइछन् गठबन्धनमा’ चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘यो गठबन्धन देशद्रोही गठबन्धन हो । एमसीसीलाई पत्र लेख्छ, नेपालीलाई ढाट्छ । यसले कदम कदममा देशद्रोही काम गरेको छ ।’
‘प्रतिक्रियावादीलाई एकमुष्ट पराजित गर्नुपर्छ’
एमालेले तय गरेको गन्तव्य पूरा गरी छाड्ने बाटोमा एमालेलाई अझ बलियो बनाउन पार्टीमा प्रवेश गर्नुभएका सबैलाई पुनः स्वागत भन्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘देशको राजनीति कता जाने भन्ने विषयमा आगामी निर्वाचन निर्णायक मोड हो, यस निर्वाचनमा हाम्रो यात्रा, गन्तव्य रोक्न गठबन्धनमा जोडिएका विभिन्न नाम (जसपा, लोसपा, नेकपा, नेसपा, पा नै पा) का दक्षिणपन्थी, प्रतिक्रियावादीलाई एकमुष्ट रूपमा पराजित गर्नुपर्छ ।’ 
अध्यक्ष ओलीले दश बर्षपछि एमालेमा फर्कनुभएको नेता हेमराज राई र अन्य नेता कार्यकर्ताहरूलाई पार्टीमा विना भेदभाव यथोचित जिम्मेवारी दिइने छ भन्नुभयो । उहाँले सबैलाई मन खोलेर ढुक्कसँग काम गर्न आग्रह गर्नुभयो । 
‘एमालेलाई सबल र सशक्त बनाउनु 
सबै सचेत नेपालीको कर्तव्य’
सोही अवसरमा नेकपा (एमाले) मा फर्कने, संलग्न रहने, प्रवेश गर्नेहरूको नेतृत्व गर्नुभएका नेता हेमराज राईले नेपाली समाजका वर्गीय लगायत सबै खाले अन्तरविरोधको समाधान गर्छ भन्ने विश्वास लिएको वताउनुभयो । 
एमालेले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अभियान नेपाल र नेपालीको हितमा केन्द्रित रहेको अभियान हो, नेपाली समाज विकासको स्पष्ट दृष्टिकोण र कार्यक्रम बोकेको यस पार्टीलाई सबल र सशक्त बनाउनु आज सबै सचेत नेपालीको कर्तव्य हुन आउँछ,’ चर्चा गर्दै नेता राईले भन्नुभयो– ‘यही कर्तव्य बोधका साथ अहिलेको नयाँ परिस्थितिमा हामीले यस पार्टीमा फर्कने, संलग्न रहने र यसलाई थप सबल र सशक्त बनाउने कार्यमा योगदान गर्ने राजनीतिक निर्णय गरेका छौं ।’ 
‘नेपाली राजनीति आज सिद्धान्तहीन र लक्ष्यविहीन गठबन्धनका कारण दिशाहीन बनिरहेको छ, यस्तो दिशाहीनताले न नेपाली समाजको समस्यालाई समाधान गर्न सक्छ न लोकतन्त्रलाई नै बलियो बनाउन सक्छ,’ चर्चा गर्दै नेता राईले भन्नुभयो–सिद्धान्तनिष्ठ राजनीतिक ध्रूवीकरण र एकताले नै देशको राजनीतिलाई स्वच्छता र स्थिरतातिर डोराउन सक्छ । यस पार्टीमा संलग्न भइरहेको यस घडिमा हामी सबै राजनीतिक दल र नेताहरूलाई सिद्धान्तनिष्ठ एकता र कार्यका लागि हार्दिक आह्वान गर्दछौं ।’