detail-img

पर्यटन प्रबर्द्धनका सम्भावना र चुनौती विषयमा पर्यटकीय स्थलमा कार्यशाला 

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय पर्यटन प्रबर्द्धन तथा नागरिक उड्डयन विभागद्वारा विभिन्न पर्यटकीय स्थानहरूमा ‘पर्यटन व्यवसाय आजको सन्दर्भ’ शीर्षकमा कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । 
विभागको २०७९ असार १४ गते नेकपा (एमाले)का स्थायी  सदस्य तथा पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागका प्रमुख भीम प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न बैठकको निर्णय बमोजिम कार्यशाला आयोजना गरिएको हो । 
नेकपा (एमाले) मुलुकको जिम्मेवार राजनैतिक पार्टी भएको हुँदा पर्यटन व्यवसायका समस्या, चुनौती र सम्भावनाहरूका विषयमा निरन्तररूपमा प्राज्ञिक छलफल, कार्यशाला गोष्ठी तथा सेमीनार आयोजना गरी व्यवसायीहरूका वास्तविक समस्याको बारेमा उजागर गर्दै पर्यटन व्यवसायलाई मर्यादित, अनुशासित र व्यवस्थित बनाई व्यापक रोजगारीको सिर्जना गर्न प्रयत्न गर्ने प्रण गरिएको छ ।
पर्यटन विकास, प्रवर्द्धन तथा विस्तारको लागि आवश्यक पर्ने नीति निर्माण गरी सोही अनुरूप संघीय, प्रदेश र स्थानीय तहका ऐन, नियम र कार्यविधिहरू निर्माण गर्न सहयोग पुर्याउने उद्देश्यले नेपालको मुख्य पर्यटकीय स्थानहरूमा व्यवसायीहरूका विचार लिनको लागि गोष्ठीको आयोजना गरिएको हो । 
गण्डकी प्रदेशको पोखरा, लुम्विनी प्रदेशको बुटवल, वाग्मती प्रदेशको काठमाडौं र चितवन तथा प्रदेश–१ को ईटहरीमा गोष्ठी सम्पन्न गरिएको विभागका सचिव घनेन्द्र श्रेष्ठले वताउनुभयो ।  
गोष्ठीमा नेकपा (एमाले) पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागका प्रमुख  भीमप्रसाद आचार्य, उपप्रमुख भीमबहादुर केसी, सचिव घनेन्द्र श्रेष्ठ तथा विभागका सदस्यहरूको सहभागितामा विभागका सदस्य सञ्जिव गौतम र डा. आलोक प्रसाईंले नेकपा (एमाले) को पर्यटन नीतिका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको सचिव श्रेष्ठले वताउनुभयो । 
गोष्ठीमा सहभागिता जनाउनु हुने पर्यटन व्यवसायीहरूले दिनुभएका महत्वपूर्ण सुझावहरूलाई पार्टीको पर्यटन नीतिका रूपमा विकास गर्न आवश्यक कार्य गरिने र सो नीतिलाई राज्यको पर्यटन नीतिका रूपमा विकास गर्न प्रयास गर्ने समेत प्रण गरिएको छ ।
नेपालको पर्यटन व्यवसायको वर्तमान अवस्था, पर्यटन गन्तव्य स्थानको पहिचान तथा सम्भावित गन्तव्य स्थानहरूको अध्ययन अनुसन्धान गरी ठोस नीति निर्माणमा सहयोगी भूमिका निर्वाह गर्न पहल गर्ने साथै पर्यटनका विभिन्न क्षेत्रहरूको अध्ययन गर्न सदस्यहरूलाई उत्प्रेरित गरी पर्यटन क्षेत्रका चुनौतीहरू समाधानका उपायहरू खोजविन गर्न बैठकले निर्देशित गरे बमोजिम कार्यशाला गोष्ठीको आयोजना गरिएको
हो ।