detail-img

समसामयिक विश्व राजनीति र प्रभावका विषयमा छलफल

काठमाडौं । नेकपा (एमाले) परराष्ट्र मामिला विभागको आज बसेको बैठकमा समसामयिक विश्व राजनीति र त्यसको प्रभावका विषयमा छलफल भएको छ । 
विभागका प्रमुख पार्टीका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईको अध्यक्षतामा बसेको बैठकमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको हालै भएको ताइवान भ्रमणका सन्दर्भमा अमेरिका–चीनबीचको सम्बन्ध र रूस–युक्रेन युद्ध र विश्व व्यवस्थाका बारेमा विभाका सदस्यहरूले प्रस्तुति गर्नुभएको थियो । 
अमेरिकी सभामुखको ताइवान भ्रमणको विषयमा विभागका सदस्य गोपाल खनाल र केशव सुवेदीले प्रस्तुति गर्नुभएको थियो भने रूस–युक्रेन युद्ध र विश्व व्यवस्थाका विषयमा विभागका सदस्य मातृका पौडेलले प्रस्तुति गर्नुभयो । दुबै विषयका प्रस्तुतिमाथि विभागका प्रमुख डा. भट्टराई,उपप्रमुख कृष्ण केसी लगायतले टिप्पणी गर्नुभएको थियो । 
नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्र रहेको र पञ्चशीलको नीति अँगालेको नेपालजस्तो देशले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर छिमेकदेखि शक्ति राष्ट्रसँग सन्तुलनको सम्बन्ध बनाउनुपर्छ भन्ने छलफलको निष्कर्ष रहेको थियो । 
नेपालले सधै एक चीन नीति अंगीकार गर्दै आएकोमा त्यसका विरूद्ध हुने गतिविधिलाई स्वीकार्न नसकिने र कुनै पनि द्विपक्षीय र बहुपक्षीय द्वन्द्वको समाधान शान्तिपूर्ण ढंगबाट गर्नुपर्छ भन्ने निष्कर्ष छलफलको रहेको विभागका सदस्य गोपाल खनालले जानकारी गराउनुभयो । समसामयिक विश्व घटनाक्रमका विषयमा यस्तो छलफल मासिक रूपमा नियमित गर्ने विभागको कार्ययोजना रहेको छ ।