detail-img

‘निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी परिचालित हुनूस्’

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ हुने आम निर्वाचनमा पार्टीले वहुमत ल्याउने वताउनुभएको छ ।
सत्ता गठबन्धनमा रहेका दलहरू एक्ला–एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने हिम्मत त राख्दैनन् नै, पाँचदलीय गठबन्धनले नपुगेर आठ÷दश दलको गठबन्धन बनाउने कसरतमा रहेको उहाँले वताउनुभयो । 
तीनदिनका लागि आज गृहजिल्ला झापा आउनुभएका अध्यक्ष ओलीले कचनकवल गाउँपालिकास्थित बनियानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जस्तोसुकै साँठगाँठ र गठबन्धन गरे पनि मंसिर ४ को चुनावमा एमाले एक्लैले बहुमत ल्याउने छ भन्नुुभयो । 
‘कमजोरहरु गठबन्धन गर्दैछन । एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएकाहरु साँठगाँठ गर्दैछन् । अपवित्र साँठगाँठको नाम हो–गठबन्धन । अहिले गठबन्धनमा ८–१० वटा पुर्याउने भन्दैछन्,’ अध्यक्ष ओलीले भन्नुभयो– ‘अरु पनि मान्छे खोजे हुन्छ । त्यो गठबन्धनमा कति वटा पार्टी पुगे हामीलाई मतलब छैन । उनीहरूको गठबन्धनमा सामेल हुने कतिपय पार्टीहरुसँग आज हाम्रो पार्टीमा प्रवेश गरेका जति पनि मान्छे छैनन् ।’


अध्यक्ष ओलीले आगामी आम निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी परिचालित हुन कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । ‘तपाईंहरू उच्च मनोबलका साथ जनताको घर–घर जानुहोस् । जनताको घर–घरमा गएर एमाले सरकारले गरेका कामहरूबारे जानकारी गराउनुहोस्,’ अध्यक्ष ओलीले भन्नुभयो– ‘एमालेको लक्ष्य कम्तीमा बहुमत ल्याउने हो ।’

झापाको कचनकवलमा राप्रपा र नेपाली काँग्रेस परित्याग गरी एकहजार पाँचसय भन्दा बढी एमालेमा प्रवेश गरेका छन् । 
अध्यक्ष ओलीले पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्नुभयो । राप्रपाका नेता शेर आलमसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।