detail-img

‘राष्ट्रियताको रक्षा र सामाजिक सुरक्षाको सङ्घर्ष जारी छ’

दमक (झापा) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा गठबन्धनविरुद्ध एमाले एक्लै प्रतिस्पर्धा गर्ने बताउनुभएको छ ।
गृहनगर दमकमा आज मजदूर संगठनको सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले जतिसुकै दलको गठबन्धन बने पनि जनताले एमालेबाहेक अरूलाई विश्वास नगर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘गठबन्धनमा नेतामात्र रहेका र जनता सहभागी नभएकाले उनीहरू पराजित हुन्छन् ।’
उहाँले राजनीतिक परिवर्तनको आन्दोलन पूरा भए पनि राष्ट्रियता रक्षाको सङ्घर्ष जारी रहेको बताउनुभयो ।
नेपाली मजदुर, किसान र सर्वहाराको नेतृत्व गर्छु भन्नेहरू दक्षिणपन्थी र पूँजीवादीको शरणमा पुगिसकेकाले मजदुरको अधिकार र सामाजिक सुरक्षाको आन्दोलन जारी राख्नुपर्ने बताउनुभयो । 
विश्वव्यापी रुपमा नै क्रान्ति र आन्दोलनको नेतृत्व मजदुरले गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपालमा पनि एमालेको नेतृत्वमा मजदुर अधिकार प्राप्ति र सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयनमा आएको बताउनुभयो ।
एमालेको सरकारका बेला मजदुर, किसान, भूमिहीनका लागि कानूनी रूपमै अधिकारको प्रत्याभूति गरिएको स्मरण गराउँदै उहाँले अहिलेको सरकार दलाल, कमिशन र पदलोलुपतामा सीमित रहेको बताउनुभयो ।

यसैगरी आजै इलामको चुलाचुलीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालले काँग्रेसका लागि काम गरिरहेको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– माधव, प्रचण्ड काँग्रेसले जे भन्यो त्यही गर्छन् ।’
‘मदन भण्डारी राजमार्ग मेरो सोचले बनाएको हो, चुलाचुलीमा  अहिले जुन ठाउँबाट लगिएको छ त्यहीँबाट जान्छ । एमालेले विकास बाहेक अरू देख्दैन ।’
इलामको चुलाचुलीमा विभिन्न पार्टी परित्याग गरी एकहजार १३५ जना नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई अध्यक्ष ओली र उपाध्यक्ष सुवास नेम्वाङले पार्टीमा स्वागत गर्नुभयो ।

यस्तै झापाको गौरादहमा कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले पहिलो पटक मतदान गर्ने अवसरको पर्खाइमा रहेका युवालाई पहिलो मतदान सूर्यमा गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले सूर्यमा हालेको मत मात्र सदुपयोग हुने बताउनुभयो ।
सम्पूर्ण अभिभावकले पहिलो पटक मतदान गर्दै गरेका आफ्ना छोराछोरीलाई सूर्यमा मतदान गर्न सिकाउन आग्रह गर्नुभयो । उहाँले युवालाई मतदान केन्द्रको सुरक्षा गर्नका लागि रणनीति र योजना बनाउन निर्देशन दिनुभयो ।