detail-img

लोसपाका नेता तथा प्रदेश सांसद गिरी र काँग्रेस महासमिति सदस्य वस्ताकोटी एमालेमा 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य तथा मधेश प्रदेशसभाका सांसद प्रल्हाद गिरी नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 
पार्टी कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा गिरीसहित सात जना र स्याङ्जा जिल्लाबाट नेपाली काँग्रेसका महासमिति सदस्य ज्ञानेश्वर वस्ताकोटीसहित नेपाली काँग्रेसका २० जना क्रियाशील सदस्य एमालेमा प्रवेश गरेका छन् । 
पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायत नेताहरूले नवप्रवेशीहरूलाई स्वागत गर्नुभयो ।

मधेशका सुपरिचित नेता गिरीसँगै पार्टी प्रवेश गर्नेहरूमा अरुण यादव, असिम गिरी हुसेन, भुपेन्द्र साह, दीपक यादव, सुजित गिरी र कुलाल साह हुनुहुन्छ ।

त्यस्तै, स्याङ्जाको चापाकोट निवासी काँग्रेसका महासमिति सदस्य वस्ताकोटीको नेतृत्वमा एमालेमा प्रवेश गर्नेहरूमा तीर्थराज अधिकारी, जीता राना मगर, कृष्ण पोखरेल, सन्तोष अधिकारी, गणेश अधिकारी, दिलकुमारी थापा, श्रीकुमारी मल्ल, कमल राना, भानु पोखरेल, विवेक राना, प्रकाश ताम्राकार, सुदर्शन अधिकारी, राधाकृष्ण वस्ताकोटी, विनोद भट्टराई, सन्तोष पोखरेल, केशव वस्ताकोटी, प्रतीक गैरे लगायत हुनुहुन्छ । 
त्यसैगरी नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला कमिटी सदस्य सूर्य भट्टराई पनि एमालेमा प्रवेश गर्नुभएको छ । 
उहाँहरूलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशी साथीहरूलाई तत्काल जिम्मेवारी दिई सक्रिय बनाउन सम्बन्धित पार्टी कमिटीलाई निर्देशन दिनुुभयो । 
अध्यक्ष ओलीले स्वार्थबाहेक कुनै गन्तव्य नभएका गठबन्धनमा रहेका दलहरूले देशलाई बर्बादीको दिशामा लगिरहेकाले देशलाई जोगाउन आगामी निर्वाचनमा पार्टीले अत्यधिक बहुमतका साथ विजय हासिल गर्नुपर्ने वताउनुभयो । 
स्थानीय निर्वाचनमा काँग्रेसले राज्यसत्ताको दुरूपयोग गरेको र छिमेकी मारेर निर्वाचनमा विजय प्राप्त गरेको प्रसंग जोड्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा काँग्रेस लगायत गठबन्धनमा रहेका दलहरूले डर, त्रास, धम्कीको भाषामा मत लुट्ने प्रयास गर्ने हुँदा त्यस विरूद्ध उत्रने गरी तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– ‘नेकपा (एमाले) लाई भोट लुटेर जित्नु छैन, लुटेको भोट चाहिँदैन, जनताको विश्वासको भोट मात्र चाहिएको छ । कसैले मताधिकार लुट्न खोज्छन् भने एमालेका कार्यकर्ताले टुलुटुलु हेरेर बस्न सक्दैनन् । त्यस्तालाई नियन्त्रणमा लिएर जवाफ दिनुपर्छ । त्यसका लागि तयारी गर्नूस् ।’
‘हामी लडेको किन ? जनताले मताधिकार पाउनुपर्छ भनेर होइन ? तर काँग्रेस आफूलाई लोकतान्त्रिक भन्छ, काम अलोकतान्त्रिक गर्छ । राणा, राजा, काँग्रेस, माओवादी जो सुकैले गरे पनि लोकतन्त्रको मजाक उडाउने काम एमालेलाई मान्य हुँदैन ।’
नागरिकता विधेयकमा रहेका त्रुटीहरूका बारेमा संसदले पुनर्विचार गरोस्, छलफल गरोस् भनी राष्ट्रपतिले संसदमा फिर्ता पठाएपछि संसदमा प्रवेश नपाउँदै गठबन्धनका दलहरूले जस्ताको तस्तै फेरि पठाउने भनी बाहिरै निर्णय गरेको प्रसंग जोड्दै अध्यक्ष ओलीले ‘गठबन्धनवालाहरूको खोपडीमा अहंकार, दम्भ र घमण्ड मात्र रहेको र बहुमत छ भन्ने नाममा नेपाली जनतालाई हेप्ने काम गरेको’ वताउनुभयो ।  
अध्यक्ष ओलीले भन्नुभयो– ‘देशको सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनताको रक्षाको शब्द पनि उच्चारण गर्न नसक्ने गठबन्धनवालाहरूबाट देशलाई, लोकतन्त्रलाई हार्न दिनुहुँदैन ।’
आज एमालेमा प्रवेश गर्नुभएका नेता प्रल्हाद गिरीले आगामी निर्वाचनमा सूर्य ध्वजावाहक उम्मेदवारलाई विजयी बनाई पर्सा जिल्लालाई लालकिल्ला बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
आफ्नो राजनीतिक जीवन कम्युनिष्ट आन्दोलनबाटै भएको र आफैले बनाएको घरमा आज फर्कंदा गौरव लागेको गिरीले वताउनुभयो ।  उहाँले पार्टी प्रवेश गर्दा आफूले कुनै स्वार्थ नराखेको वताउँदै राजनीतिक जीवनका केही बर्ष कम्युनिष्ट आन्दोलनबाट बाहिर रहे पनि अब मर्ने बेलामा हँसिया हतौडाको झण्डा ओढेरै मर्ने छु भन्नुभयो । 
त्यसैगरी स्याङ्जाको चापाकोट नगरपालिका निवासी नेपाली काँग्रेसका महासमिति सदस्य ज्ञानेश्वर वस्ताकोटीले स्थानीय निर्वाचनमा राज्यको साधनस्रोत दुरूपयोग गरेर आफूलाई हराइएको अनुभव सुनाउनुभयो । 
उहाँले काँग्रेसमा बीपीको समाजवाद कितावमा सीमित भएको र काँग्रेसका सभापतिदेखि वडा समितिसम्मका कार्यकर्तामा धनवाद, बाहुबल र व्यक्तिगत स्वार्थ हावी भएको वताउनुभयो । 
उहाँले आगामी निर्वाचनमा आफूहरूले स्याङ्जामा एमालेलाई निश्चित रूपमा विजयी गराउने वताउँदै पार्टीमा जिम्मेवारी दिएर कजाउन पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो ।  अर्का नवप्रवेशी तिर्थराज अधिकारीले सामाजिक सुरक्षा भत्तालाई आगामी दिनमा सहभागितामा आधारित गराउनुपर्ने सुझाव दिनुभयो । 
पार्टी प्रवेश कार्यक्रममा पार्टीका उपमहासचिव विष्णु रिमाल, सचिव तथा स्याङ्जाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद पदमा अर्याल, स्थायी कमिटी सदस्य डा. राजन भट्टराई लगायत नेताहरूको उपस्थिति रहेको थियो । 

काँग्रेसका क्रियाशील सदस्य खत्रीलाई पार्टीमा स्वागत

यसैगरी आजै दाङको वंगलाचुली गाउँपालिका स्वामीघाट निवासी नेपाली काँग्रेसका क्रियाशील सदस्य डम्मरबहादुर खत्री र रुपलाल खत्री पनि एमालेमा प्रवेश गर्नुभएको छ । 
उहाँहरूलाई पार्टीका महासचिव शंकर पोखरेलले पार्टी कार्यालय, च्यासलमा खादा लगाई पार्टीमा स्वागत गर्नुभयो । 
गत स्थानीय निर्वाचनमा वंगलाचुली गाउँपालिकामा नेपाली काँगेसबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएका डम्मर खत्री झिनो मतले पराजित हुनुभएको थियो ।