detail-img

‘झापाले देश निर्माणका लागि भूमिका निर्वाह गर्नुपर्ने’  

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग मात्र देश बनाउने स्पष्ट दृष्टिकोण रहेकाले आगामी निर्वाचनमा नारी शक्ति उठेर सबै खाले गठबन्धनलाई परास्त गर्नुपर्ने वताउनुभएको छ । 
अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘महिला दिदीबहिनीहरू विचारमा स्पष्ट हुनुहुन्छ, नेकपा (एमाले) मात्र स्पष्ट दृष्टिकोण बोकेको पार्टी हो ।’
झापा जिल्ला राजनीतिक चेतनाको भूमि, शहीदहरूको भूमि भएकाले यो जिल्ला नेकपा एमालेका लागि मक्का मदिना जस्तै भएको अध्यक्ष ओलीले बताउनुभयो ।
उहाँले राजनीतिक चेतना फैलाउन भूमिका निर्वाह गरेको झापा जिल्लाले देश निर्माणको लागि पनि भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
महिलाहरूले यो सन्देश लिएर मतदाताको बीचमा जानुपर्ने उहाँले बताउनुभयो । निरङ्कुश राजतन्त्र फाल्ने एमालेलाई गठबन्धनले केही पनि गर्न नसक्ने अध्यक्ष ओलीले बताउनुभयो । 
महिलाहरू दृढताका साथ पार्टीको एकताको पक्षमा उभिएका र अब पनि पार्टीको निर्णय र गन्तव्यको पक्षमा उभिनुपर्ने उहाँको भनाई थियो । 
पार्टीलाई जोगाएर यहाँसम्म ल्याउने, पार्टी बचाउने काम महिला दिदीबहिनी र युवाले गरेका हुन्, मैले जिल्ला जिल्लामा हेरेँ, केन्द्रदेखि तलसम्म हेरेँ, पुरुषहरू धेरै लरबराए, महिलाहरू बहुत कम मात्रै लरबराए, दृढताका साथ पार्टीको पक्षमा उभिए,’ अध्यक्ष ओलीले भन्नुभयो ।
सम्पूर्ण महिलालाई परिचालित गर्न र एमालेलाई जिताउने भूमिका अनेमसंघले निर्वाह गर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– ‘अहिलेको एक मात्र लक्ष्य मङ्सिर हुने निर्वाचनमा जित्ने हुनुपर्छ, झापा जिल्लाले देशभरिलाई दृष्टान्त दिने गरी भूमिका निर्वाह गर्नुपर्छ ।’

यसैगरी आजै झापाको विर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको बताउनुभयो । 
उहाँले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताउनुभयो ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनकै बेथिति उत्कर्षमा पुगेको बताउनुभयो । 
झापाको विर्तामोडमा भौतिक पूर्वाधार तयार भइसकेको इन्जिनियरिङ कलेज सञ्चालनका लागि आफूले जोडबल गरिरहेको र जतिसक्दो चाँडो सञ्चालनका लागि आफ्नो प्रयास जारी राख्ने उहाँले बताउनुभयो ।
विकास निर्माणमा इन्जिनियरहरूको योगदान अपरिहार्य रहेको र नेपालको विकासमा अझ गति दिन धेरै काम गर्नुपर्ने भएकाले त्यसका लागि सक्दो योगदान दिन इन्जिनियरहरूलाई ओलीले आग्रह गर्नुभयो ।