detail-img

नेसपाका उपाध्यक्ष, कपिलवस्तुका चिरपरिचित नेता चौधरी एमालेमा 

काठमाडौं । नेपाल समाजवादी पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर चौधरी कुर्मी नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 
पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा चौधरीलाई खादा र माला लगाई स्वागत गर्नुभयो । सो अवसरमा अध्यक्ष ओलीले चौधरीलाई आगामी दिनमा सफलताको कामना गर्नुभयो । 
कपिलवस्तु जिल्लाका पुराना र चिरपरिचित नेता चौधरी संविधान सभाका सदस्य, २०५६ सालमा नेकपा (एमाले) का कपिलवस्तुबाट निर्वाचित प्रतिनिधि सभाका सांसद हुनुहुन्छ । 
उहाँले आफ्नो राजनीतिक जीवनमा  कपिलवस्तुमा दुई कार्यकाल गाविस अध्यक्ष र दुई कार्यकाल प्रधानपञ्चका रूपमा काम गर्नुभएको थियो । 
पार्टी प्रवेश गर्दै नेता चौधरीले आफू नयाँ नभई मूल घरमा फर्केको वताउनुभयो । आफू कुनै स्वार्थ र माग लिएर पार्टीमा प्रवेश नगरेको, केही समय अन्यत्र रहे पनि आज गल्ती सच्याउने अवसर पाएको वताउनुभयो । 
उहाँले आगामी निर्वाचनमा कपिलवस्तु जिल्लालाई एमालेको लालकिल्ला बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँसँगै नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य धनेश्वरी चौधरी (रूपन्देही) र लुम्विनी प्रदेश सदस्य जीतबहादुर चौधरी पनि एमालेमा प्रवेश गर्नुभएको छ ।